fbpx

रेल्वे यार्डमा गुणस्तरहीन सामग्री प्रयोग भएको खुलासा

?

विराटनगर, चैत्र १८ ।

भारत सरकारको लगानीमा विराटनगरमा निर्माणाधिन रेलयार्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको खुलासा भएको छ ।
शनिवार राति विराटनगर क्षेत्रमा परेको असिना पानीले विराटनगर क्षेत्रमा क्षतिको विवरण प्राप्त नभए पनि विराटनगर–१८ मा निर्माणाधिन रेल्वेयार्डमा भने क्षति पुगेको छ ।

 

असिना पानीका कारण रेल्वे ट्रयाकको मध्य भागमा निर्माण गरिएको नाला भत्किएको छ भने यार्डको कम्पाउण्ड पर्खालमा क्षति पुगेको छ । रेलयार्डको लिकको मध्यबाट फोहोर पानी बगाउन बनाइएको पूर्वतर्फको १ सय ८० मिटर नाला भत्किएको छ । सो ठाउँमा निर्माण गरिएको ६ सय २५ मिटर नालामध्ये १८० मिटर नाला भास्सिएर भत्किएको हो ।

निर्माण पक्षका ठेकेदारका प्रतिनिधिले शनिवार राति असाधारणरुपमा परेको असिना र पानीका कारण नाला भत्किएको र पर्खालमा समेत क्षति पुगेको दाबी गरेका छन् । ठेकेदारका प्रतिनिधि संजीव देवले नालाको छेउमा ठुलो संख्यामा असिना जम्मा भएका कारण लोड थाम्न नसकेर नाला भास्सिएको बताए ।

यस्तै ठुल्ठुला साइजका असिनाबाट कम्पाण्डको पर्खालमा चोट लागेका कारण पर्खालको प्लास्टर उक्किएको दावी गरे ।
सामान्य असिना पानीमैं नाला भत्किएको र पर्खालको प्लास्टरमा क्षति पुगेका कारण त्यहाँ भएको निर्माण कार्यको गुणस्तरको बिषयमा आंकलन गर्न सकिन्छ ।

नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो ।

भारतको बथनाहादेखि कटहरी सम्मको १८.५ किमी रेल्वे लिगमध्ये भारततर्फ साढे ५ किलोमिटर रहेको छ भने नेपालतर्फ १३ किलोमिटर रहेको छ । भारत सरकारले रेल्वे लिग स्टेशन विल्डिङ्ग, यात्रु प्रतिक्षालय, बुधनगरमा संयुक्त चेक प्वान्टसमेत निर्माण गरिदिने सम्झौतामा रहेको छ ।

रेल्वे लिक निर्माणको लागि भारत सरकारले भारतको रेल्वे कन्सट्रक्सन कम्पनी इर्कन इन्टरनेशनललाई ठेक्का दिएको छ । भारतको बथनाहादेखि नेपालतर्फको बुधनगर कटहरीसम्मको रेल्वे लिक निर्माणका लागि भारत सरकारले ठेकेदार कम्पनीलाई दुई सय ३८ करोड भारुमा ठेक्का दिएको जनाइएको छ ।

Koshi Online

FREE
VIEW