fbpx

भिषण हुरीका कारण बारामा २५ जनाको मृत्यु , ४ सय बढी घाइते


विराटनगर, चैत्र १७ ।

आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै बाराको यो घटनाका विषयमा जानकारी गराएका छन् ।

ओलीका अनुसार अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएका छन् । अहिले पनि उद्दार कार्य जारी छ । ओलीले भनेका छन् ‘हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।  ओलीले ‘ बारा र पर्सा जिल्लाको केही स्थानमा आइतबार सॉझ आएको डरलाग्दो ऑधि र हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएको छ।’ ट्वीट गरेका हुन् ।

‘यस आकस्मिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु’  ओलीले भनेका छन् । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ ।
ओलीले भोली विहान अर्थात सोमबार विहानबाट उद्धार र राहतकालागि हेलिकष्टर तयार अवस्थामा राखिएको बताए । मौसमले साथ दिए अहिले नै काठमाण्डौँ एयरबेसमा नाइट भिजन हेलिकप्टरलाई पठाउने जनाएका छन् । उनले सुरक्षाकर्मीका साथै पार्टी कार्यकर्तालाई पनि उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन् ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।

हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।

घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ ।

Koshi Online

FREE
VIEW