fbpx

खुल्ला एसइई परीक्षा : पास गराउन ट्युसन सेन्टरको ठेक्का !

विराटनगर, चैत १७
परीक्षाअघि नै पश्नपत्र बाहिरिएपछि संघीय सरकारले प्रदेश २ को एसइई परीक्षा स्थगित गर्याे । परीक्षा स्थगित भएपछि शुक्रबारयता विद्यार्थीहरू आन्दोलित छ ।

एसइईका कारण प्रदेश २ मा विद्यार्थीहरू सडकमा उत्रिएपनि प्रदेश १ मा सहज रुपमा परीक्षा सञ्चालन भइरहेको छ । सहज रुपमा परीक्षा सञ्चालन भएको प्रदेश १ को केही स्थानमा भने विद्यार्थीलाई पास गराउन आर्थिक लेनदेन हुने गरेको छ । मोरङ सुनसरीमा सञ्चालित ट्युसन कोचिङ सेन्टरहरूले पास गराउने शर्तमा आर्थिक लेनदेन गरेका हुन् ।

अनौपचारिक शिक्षाअन्तर्गत खुल्ला शिक्षा कार्यक्रमबाट पास गराउने ग्यारेन्टीसहित मोरङ र सुनसरीका ट्युसन सेन्टरले प्रतिविद्यार्थी न्यूनतम २५ हजार रुपैया“ उठाएका छन् । मोरङमा खुल्ला एसइई परीक्षाको सेन्टर धनपालथान गाउपालिका– ६ दादरबेरियामा रहेको सरस्वति माध्यमिक विद्यालय हो ।

मोरङकै शिवशक्ति माध्यमिक विद्यालयले खुल्ला एसएलसी गराउँदै आएको छ । शिवशक्तीको परीक्षा केन्द्र सरस्वती माविमा ३ सय ६२ विद्यार्थीले एसइई लेखिरहेका छन् । परीक्षा दिनेमध्ये ३ सय ५ जना खुल्ला एसइई दिनेहरू छन् ।

युवा युवतीदेखि गृहणी महिलाले पास गराउने शर्तमा ट्युसन सेन्टरलाई न्यूनतम २५ हजार रुपैयाँका दरले बुझाएका हुन् ।

कसरी जोडिए विद्यार्थी शिवशक्तिमा ?

धरान, विराटनगर, पथरी, उर्लाबारीसहितका केही स्थानमा सञ्चालित ट्युसन सेन्टरले विद्यार्थीहरूलाई शिवशक्तिमार्फत खुल्ला एसइईमार्फत परीक्षा फारम भराएका छन् । एजेण्ट र दलालमार्फत शिवक्तिमा फारम भरेका परीक्षार्थी परीक्षा दिन मात्र आएका हुन् ।

ट्युसन सेन्टरले पास गराउने ग्यारेन्टीसहित शुल्क लिएका कारण सिट प्लानिङदेखि चिट सार्न सक्ने व्यवस्थापन आफैँ गर्छन् । केही वर्षयता खुल्ला एसइई गराउँदै आएको शिवशक्तिको परीक्षा केन्द्र सरस्वती माध्यमिक विद्यालय पर्छ ।

उत्तीर्ण हुने शर्तमा २५ हजार रुपैयाँ दिएका विद्यार्थीहरूलाई ट्युसन सेन्टरले गाडी रिर्जब गरेर स्कूलसम्म ल्याउने र घर पुर्याउने गरेको छ । ट्युसन सेन्टरले गाडी भाडा भने बेग्लै लिने गरेका छन् ।

सुनसरी र मोरङबाट नियमित चार वटा बस रिर्जब गरेर परीक्षार्थी ल्याइन्छ । धरानबाट परीक्षाभर सहभागि हुन प्रतिविद्यार्थी गाडी भाडा मात्र ३ हजार रुपैया“ उठाएका छन् ।

‘पास हुन्छ भनेर २५ हजार रुपैयाँ बुझाएको हो,’ ती विद्यार्थीले भने, ‘पास भएन भने पैसा फिर्ता लिने हो ।’ ती विद्यार्थीले परीक्षा हलभित्र चिट चोर्न पनि सहज भएको बताए ।

तर, विद्यालयका केन्द्राध्यक्ष भगवान यादव परीक्षा खुकुलो नभएको बताउँछन् । ‘हामी गेटमा नै चेक गर्छाै,’ उनले भने, ‘भित्र अली अली चिट चोर्छन् होला ।’ उनी परीक्षा टाइट पनि गर्न नसक्ने बताउँछन् ।

मोरङ र सुनसरीका ट्युसन सेन्टरले २५ हजारका दरले उठाएको आफूले पनि सुनेको बताए ।

निरीक्षक कारवाहीमा, परीक्षामा मोबाइल

सरस्वती मावी परीक्षा केन्द्र जारी परीक्षामा कारवाही पर्ने विद्यालयहरूमध्ये अग्रपंतिमा छ । सरस्वती मावी केन्द्रबाट दुई जना निरीक्षकलाई निष्कासित गरिएको छ । कक्षाकोठामा मोवाइल प्रयोग गरेको पाइएपछि एक जना विद्यार्थीको एउटा परीक्षा पनि रद्ध गरिएको छ ।

शुक्रवार बिहान तीनवटा मोबाइल पनि भेटिएको शिक्षा समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले जानकारी दिए । शुक्रवार परीक्षाअघि प्रहरीले सर्च गर्दा लुकाएर राखेको अवस्थामा तीनवटा मोवाइल नियन्त्रणमा लिइएको हो ।

बुढाथोकी सो स्कुलमा गडबढी हुने गरेको सूचना आफूले पाएको बताउँछन् । ‘केन्द्राध्यक्षलाई फोन गरेर परीक्षा मर्यादित बनाउन निर्देशन दिएको छु,’ उनले भने, ‘परीक्षाअघि स्कुल खानतलासी र गेटमा चेकजाँच हुन्छ ।’

Loading...