fbpx

एसईई स्थगित भएपछि विद्यार्थी आन्दोलित, शिक्षामन्त्रीको पुत्ला दहन

जनकपुरधाम । संघिय सरकारले प्रदेश २ मा एसईई परीक्षा स्थगित गरेपछि आक्रोशित बनेका परीक्षार्थी आन्दोलनमा उत्रिएका छन् ।

लगातार प्रश्नपत्र आउट भएपछि आक्रोशित बनेका परीक्षार्थीहरुले प्रदेश २ का विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । परीक्षा अगावै बिज्ञान, सामाजिक र जनसंख्या विषयको प्रश्नपत्र आउट भएपछि सरकारले परीक्ष रद्ध गरेको थियो ।  लगातार प्रश्न पत्र आउट भएपछि आक्रोशित बनेका विद्यार्थी शुक्रवारदेखि नै आन्दोलनमा उत्रिएका हुन् । शनिवार पनि प्रदेश २ का विभिन्न स्थानमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।

विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । परीक्षा स्थगित भएपछि आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला दहन गरे । उनीहरुले शिक्षामन्त्री पोखरेलको राजिनामा माग्दै पुत्ला दहन गरेका हुन् ।

परीक्षार्थीहरुले धनुषामा राज्यमन्त्रीको गाडी तोडफोड गरेका छन् । परीक्षा स्थगित गरिएको बिरोधमा आन्दोलनरत परीक्षार्थीले प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरी तोडफोड गरेका हुन् । जनकपुरधामको पनि बिभिन्न चोकमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । चोकहरुमा टायर बालेर उनीहरुले प्रदर्शन गर्दै शिक्षा मन्त्रीबिरुद्ध नाराबाजी गरेका छन् ।

बारामा भने विद्यार्थी र प्रहरी बिच झडप भएको छ । आन्दोलनमा उत्रिएका विद्यार्थीहरु तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप पनि भएको छ । झडपमा एक प्रहरी जवान र केही विद्यार्थीहरु घाइते भएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको हो । परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी दानबहादुर थापाले बताए ।

प्रतिक्रिया

Loading...