fbpx

‘थ्री डाँन’ सांसदको राजनैतिक यात्रा विराम

धरान निवासी किरण राई (४४) पहिलो संविधानसभा सदस्य हुन् । २०६४ को संविधानसभा निर्वाचनमा धरानका पूर्वमेयर प्रदीपकुमार मोन्याङगवोलाई नेकपा माओवादीबाट प्रत्यक्ष निर्वाचनमा पराजित गरेर संविधानसभा सदस्य बन्न उनी सफल भएका थिए ।

सितेरियो कराँतेका ‘थ्री डाँन’ उपाधि प्राप्त खेलाडी किरण पहिलो संविधानसभा असफल भएपछि नेकपा माओवादीबाट मोहन वैद्य किरण हुँदै पछि नेकपा माओबादी विप्लव समूहमा आवद्ध हुन पुगे ।

देशमा जनवादी राज्यसत्ता स्थापना गरेर पूर्ण समाजबाद ल्याउने सपना बोकेर सक्रीय राजनैतिक गतिविधिमा लागेका युवा किरण राई हाल चाँही पूर्णरुपमा राजनीतिबाट निष्क्रीय छन् ।

भूमिगत सशसत्र जनयुद्ध, संघर्ष पूर्णखुला राजनीति, संविधानसभा सदस्य र सांसददेखि अनुभवी कुशल खेलाडीको अनुभव सँगालेका किरणले अबको बाटो सशस्त्र युद्धभन्दा पनि समसामयिक उत्पादनसँग जोडिएर रुपान्तरणमा लाग्नु उचित हुने निष्कर्ष निकालेका छन् ।

यसैले हाल उनी राजीतिबाट टाढा रहेर कृषिकर्मको बिस्तारमा जुटिरहेका छन् । किन आफनो राजनीतिबाट पर हटेर कृषी कर्ममा लाग्नु पर्यो भन्दा भनेर उनी आफ्नो राजनैतिक यात्राको सार यसरी सुनाउँछन्

जनआन्दोलनले राजनीतिमा आर्कषित

भारतीय पल्टनमा भर्ती भएका बुवा धर्मध्वज राईका पुत्र किरणको थातथलो पूर्वको पहाडी जिल्ला भोजपुर हो । तत्कालीन वोया गाउँपञ्चायतमा उनको प्रारम्भिक शिक्षा सके । माध्यमिक शिक्षा पढ्न सदरमुकाम भोजपुर पुगे । विद्योद्धय माविबाट एसएलसी सके । त्यो बेला पहिलो जनआन्दोलनको समय थियो ।

प्रगतीशिल विचारले ओतप्रेत उनलाई आन्दोलनको रापतापले छाड्न सकेन । आन्दोलनमा उनले पनि सक्रीय सहभागीता जनाए । बहुदल घोषणा भएपछि उनी अनेरास्वियू छैठौँ (मोटो मसाल) को मावि ईकाई कमिटी अध्यक्ष बने । त्यसपछि लगत्तै जिल्ला समिति सदस्य बने ।

विद्यार्थी नेतादेखि सांसदसम्मको यात्रा

स्कूले शिक्षा सकेपछि किरण उच्च शिक्षा पढ्न धरान झरे । महेन्द्र क्याम्पसमा भर्ना भए । राजनीतिको नशाले उनलाई छोइसकेको थियो । यसैले उनी ईकाई कमिटीको अध्यक्ष बनिहाले । त्यसपछि दोस्रो जिल्ला सम्मेलन अध्यक्ष बने ।

२०५३ मा उनको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा परिणत भैसकेको थियो । उनी संगठनमा सक्रीय रुपले लागे । त्यत्तिखेरसम्म किरण कराँतेका गुरु भैसकेका थिए । उनले व्लाकबेल्ट हुदै थ्री डाँन सम्मको उपाधि प्राप्त गरे ।

जीविको पार्जनका लागि उनी स्कूलमा कराते प्रशिक्षण दिन जान्थे । सँगसँगै पार्टीको राजनीतिमा पनि उनी सक्रीय थिए । ३ भदौ २०५४ मा उनलाई सदन स्कूल गेटबाट पक्रउ गरियो । उनी ४० महिना जेलमा बसे । २०५७ मा छुटे । पुनः भूमिगत नेकपा माओवादी पार्टीमा सक्रीय भएर लागे ।

२०५७ मा उनी जनमुक्ति सेनाको भोजपुर, खोटाङ स्वायड कमाण्डर बनाईए । उनले जनमुक्ति सेनाको बिग्रेडियर्स कमाण्डरसम्मको जिम्मेवारी सम्हाले । पूर्वमा भएका विभिन्न ३ दर्जन बढी भिडन्तको सामना उनले गरे ।

पार्टीमा भुमिगत भएकै बेला उनको छोरो जन्मिएको थियो । तर, जन्मिएको १० दिनमा सेनाले आमासँगै नियन्त्रणमा लिएर लग्यो । आमालाई दुई वर्ष जेल हालियो । उनका छोरा पनि आमासँगे जेलमा हुर्किए ।

उनले छोरालाई हिँड्न थालेपछि मात्र भेट्न पाए । २०६८ कार्तिक २३ मा उनकी पत्नी गीता थेबे राईको सवारी दुर्घटनामा मृत्यु भयो । बाटो क्रस गर्ने बेलामा मोटरसाइकलले ठक्कर दिँदा उनलाई ब्रेन हेमरेज भयो ।

अस्पतालले जोगाउन सकेन र उनी बिदूर बन्न पुगे । धन्न बाटो क्रस गर्ने क्रममा आमासँगै घाइते भएका उनका ८ वर्षीय छोरा किसन भने घाइते भएपनि बाँच्न सफल भएका थिए ।

पार्टी शान्ति प्रक्रियामा आएपछि उनी वाईसिएल कोशी ईन्र्चाज र खेलकूद विभागको प्रमुख बनाईए । खुला राजनीतिमा पनि जुझारु कार्यकर्ता आवश्यक भएकोले उनलाई क्यान्टोनमेन्टमा लगिएन ।

खुला राजनीतिको सक्रीय प्रभाव देखिएपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी पार्टीले उनलाई सुनसरी क्षेत्र नम्बर १ बाट प्रत्यक्षको उम्मेदवार बनायो । उनले तात्कालिन एमालेका उम्मेदवार पुर्व मेयर प्रदीप मेन्याङगबोलाई पराजित गरेर संविधानसभा सदस्य बने ।

उनको चौतर्फी वाहवाहीको चर्चा चुलियो । तर, पहिलो संविधानसभाको असफलतासँगै पार्टीमा लाईन संघर्ष चर्कियो । उनले मोहन वैद्यले नेतृत्व गरेको हार्ड लाईन समाते । संविधानसभाले संविधान बनाउन नसकेपछि अब अर्को निर्वाचनको अर्थ छैन पुनः शसस्त्र क्रान्तिमा जानुपर्छ भन्ने वैद्यको लाइन थियो ।

२०६८ असारमा काठमाण्डौको बौद्धमा भएको भेलाबाट माओवादी औपचारिक रुपमा फुटेर डयास माओवादी जन्मियो । उनी वैद्य अध्यक्ष, सिपी गजुरेल उपाध्यक्ष, महासचिव बादल र बिप्लव सचिव भएको केन्द्रीय पदाधिकारीमा छानिए । तर, पछि वैद्य र विप्लवमा पनि विचार मिलेन ।

महासचिव बादलको नेतृत्वमा एउटा ठूलो पंक्ति माओवादीमा फर्कियो । तर, उनी विप्लवसँगै बसे । फर्केनन । नेकपाको पहिलो महाधिवेशनपछि कोशी व्यूरो इन्र्चाजको जिम्मेवारी लिएर खटिए । अर्ध भूमिगत गतिविधिमा सक्रीय भए ।

हिंसात्मक गतिविधिको आरोपमा निरन्तर पक्राउ

२०७४ चैतमा उनी हिंसात्मक गतिविधिमा सहभागी भएको आरोपमा धनकुटाको हिले बजारबाट समातिए । सार्वजनिक मुद्दा लगाइएको थियो । २५ औँ दिनमा उनी धरौटीमा छाडिए । तर, पुन पक्राउ गरेर उनलाई उदयपुर लगियो ।

गाईघाटमा बम बिस्फोट गराएको आरोप थियो । २८औं दिनमा उनी अदालतबाट १० हजार धरौटीमा छाडिए । तर, पुनः फक्राउ गरेर उनलाई मोरङको उर्लाबारी ल्याएर राखियो । उच्च अदालत विराटनगरले बन्दि प्रत्यक्षीकरण रिटमा थुनामुक्त गर्न आदेश गरेपछि उनी छाडिए तर फेरि पक्राउ गरेर सुनसरीको धरान लगेर सार्वजनिक मुद्दा लगाइयो ।

उच्च अदालते बन्दि प्रत्यक्षीकरण रिटमा फेरि छाड्न आदेश गर्यो । उनी सादा तारेखमा छाडिए तर फेरि पक्राउ गरेर उनलाई झापा चन्द्रगढी लगेर सार्वजनिक मुद्दा लगाएर राखियो । २५ दिनपछि धरौटीमा छाडिए । तर, फेरि पक्राउ गरेर इलाम लगेर राखियो । त्यहाँ पनि सार्वजनिक लगाएर दुई हप्ता राखियो । गैरकानूनी थुनामा राखेको भन्दै परेको रिटमा सर्वोच्चले बन्दी झिकाउन आदेश गरेपछि उनी ५ हजार धरौटीमा छाडिए ।

निरन्तरको जेल यात्राले उनि गलिसकेका थिए । यातनाले गर्दा स्वास्थ्य बिग्रँदै गएको थियो । यसैले उनी धरान १५ बाँझोगरामा रहेको आफ्नै घरमा आराम गरेर दिन बिताइरहेका थिए । राजनीतिबाट टाढा रहेर कृषि र खेलकर्ममा फर्कने तैयारी गर्दै थिए ।

तर, फेरि शहरमा अपराध बढेपछि पुराना दागीहरूलाई समातेर काम देखाएझैँ प्रहरीले विप्लव समूहले हिंसा भड्काएको भन्दै देशव्यापी सर्कुलर अनुसार २०७५ असार २८ मा उनलाई जर्वजस्ती चन्दा असुली आतङ्क आरोपमा पक्राउ गरियो । तर, पुनः उच्च अदालतले तारेखमा छाड्न आदेश गर्यो र उनी छाडिए । त्यहाँदेखी चाँही उनी पक्राउ परेका छैनन् ।

पक्राउ परेपछि पार्टीबाट कार्वाही

उनी पक्राउ परे लगत्तै पार्टीले उनलाई कार्वाही गरेर जिम्मेवारीमुक्त गरेको सर्कुलर पनि गरिसकेकोले उनी हाल कुनै पनि पार्टीमा आवद्ध छैनन् । र, भविष्यमा कुनै सशस्त्र आन्दोलनमा लाग्ने उनमा रुचि पनि छैन । छोरा किसनले कक्षा ९ को अन्तिम परिक्षा दिँदैछन् ।

उनी छोरालाई राम्रो शिक्षादिक्षा दिएर एक प्रविधिले दक्ष नागरिक बनाउन चाहन्छन् । तर, अझै उनलाई दुवैतर्फबाट शंकाको दृष्टिले हेर्न छाडिएको छैन । आफूले राजनैतिक संघर्षको यात्रा पूर्णरुपमा बिराम लगाएको र विप्लव समूहसँग कुनै कनेक्सन नभएको किरण बताउँछन् ।

उनी आफुलाई पटक–पटक विद्रोही पार्टीको कार्यकर्ता ठानेर दुःख नदिन प्रहरी प्रशासनसँग अनुरोध पनि गर्दछन् । किरण भन्छन्, ‘म कुनै राजनैतिक गतिबिधिमा सक्रीय छैन । यसैले कसैले मलाई कुनै शंका गर्नै पर्दैन । म पूर्णरुपले समाजिक अभियानमा छु ।’

अबको यात्रा कृषिकर्म र खेलसँग

सितेरियो कराँतेमा ‘थ्री डँन’मान प्राप्त खेलाडीदेखि विद्रोही सेनाको कमाण्डर हुँदै पूर्वसांसदसम्मको अनुभव सँगालिसकेका किरणको अबको यात्रा खेल र कृषि कर्म हो । त्यसकालागि उनले फर्म स्थापना गरेर माछा पशुपालन सुरु गरिसकेका छन् ।

जीवनको उर्जा समय राजनीतिको संघर्षमा बिताएका उनी अब भने फरक ढंगबाट अगाडि बढ्न चाहन्छन् । यसैले उनी आफूले खेलबाट हासिल गरेको सीपलाई स्वास्थ्यसँग जोडेर युवाहरूलाई सशक्तिकरण गर्न चाहन्छन् ।

समाजसेवासँग जोडिएर नमुना बनेर देखाउन होड लिएका छन् । जिविकोपार्जनका लागि कृषि कर्ममा होमिएर उत्पादनसँग जोडिने उनको दीर्घकालीन योजना छ । यसका लागि उनले धरानमा कृषि फर्म पनि सुरु गरिसकेका छन् ।

प्रगतिशिल स्कूलिङले दिक्षित भएका उनी युवाहरूलाई अबको यात्रा हिंसात्मक हैन उत्पादन र सेवासँग जोडिएर समाजिक रुपान्तरणको अभियानमा लाग्न सुझाव दिन्छन् । भुक्तभोगी व्यक्तित्व किरण भन्छन्, ‘प्राप्त भएको उपलिब्धमा चित्त बुझाएर सबै युवाहरू उत्पादन र सामाजिक रुपान्तरणको अभियानमा लाग्नुपर्छ वहकाउमा आएर बरालिनु हुँदैन ।’

Loading...