fbpx

सदाचारी मेयर चमेली, जो सार्वजनिक यातायातमै यात्रा गर्न रुचाउँछिन्

विराटनगर, चैत ११
जनप्रतिनिधिहरूबीच सेवा सुबिधा कम भएको भन्दै सर्वत्र गुनासो गरिरहेको र गाडी किन्ने होडबाजी चलिरहेको भएपनि संखुवासभाकी एक गाउँपालिका निमित्त प्रमुख भने सदाचारी देखापरेकी छन् ।

संखुवासभाको मकालु गाउँपालिकाकी कार्याबाहक प्रमुख चमेली याम्फू राई निजी गाडी चढ्न र बिलासी जीवनको मोह नराख्ने जनप्रतिनिधिका रूपमा देखापरेकी हुन् । कार्यवाहक प्रमुख चमेलीले जहिल्यै सार्वजनिक सवारी साधनमै यात्रा गर्ने गर्छिन् ।

हतार भएमा प्रशासकीय र सूचना अधिकृतहरूको मोटरसाईकलमा बसेर यात्रा गर्न पनि अप्ठेरो मान्दिनन् । सेवा गर्न जितेर गएका जनप्रतिनिधिहरूले सुबिधा भोगी बन्नुहुँदैन भन्ने उनको सोच छ ।

सबै प्रमुखहरूले महंगा महंगा गाडी खरिद गरेर प्रयोग गरिरहेको तर आफूहरूलाई नदिएको भन्दै उपप्रमुखहरूले गुनासो गरिरहेका छन् । तर, एक वर्षदेखि पालिका प्रमुख र उपप्रमुख दुवैको भूमिका बहन गरिरहेकी चमेली भन्छिन्, ‘मैले सार्वजनिक यात्रा गर्न पाएको छु यसैले म आफूलाई भाग्यमानी ठान्दछु ।’

मध्यम बर्गीय परिवारमा जन्मिएकी चमेली अविवाहित हुन् । उनले आफू र आमाबाबुलाई खान लाउन पुगिरहेको र कसैलाई पाल्नु पर्ने पनि नभएकोले भ्रष्टाचार गर्नुपर्ने र वा धेरै सुबिधा माग्नुपर्ने बाध्यता पनि नभएको बताइन् । धेरैले एउटा गाडी किनेर प्रयोग गर्दा केही हुँदैन भनेर आग्रह गरेपनि उनले गाडी किनेर शान देखाउनु भन्दा जनतासँगै हिँडेर घरघरमा पुग्नु उचित हुने ठानेकी छन् ।

३० पुस २०७४ मा मकालु गाउँपालिका प्रमुख खड्गबहादुर कटवालको जीप दुर्घटनामा मृत्यु भएको थियो । त्यसयता उपप्रमुख चेमेली राई नै पालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् ।

मकालु गाउँपालिका एक नम्बर प्रदेशको विकट मध्यपहाडी र हिमाली जिल्ला संखुवासभामा पर्छ । भर्खर मोटरबाटोको ट्रयाक मात्र पुगेकोले जेनतेन जीप र सार्वजनिक बसहरू चल्न थालेका छन् । उनी राजधानी विराटनगर आउँदा जाँदा पनि सार्वजनिक बस नै प्रयोग गर्छिन् ।

पालिका प्रमुखले नै गाडी किन्न आवश्यकता छैन भनेपछि कर्मचारीहरू आफनो निजी मोटरसाइकलमा आवतजावत गर्ने गरेका छन् । मकालु गाउँपालिका सूचना तथा सञ्चार अधिकृत कोषराज नेपालले भने, ‘प्रमुखज्यूले गाडी चढने चाहना राख्नु भएको छैन हामीले पनि गाडी चाहिन्छ भनेर हत्तेपनि हालेका छैनौँ ।’

प्रदान हुने सुबिधामा विभेद गरिनुहुन्न

कार्यावाहक प्रमुख चमेलीलाई प्रमुखहरूले चिल्ला गाडी कुदाएको तर उपप्रमुखहरू सिटी रिक्सामा हिँडनुपरेको चाँही पटक्कै चित्त बुझेको छैन । सेवा र सुबिधा सबैको समान हुनुपर्ने उनको बुझाई छ । २१ र २२ फागुनमा विराटनगरमा प्रदेश सरकारले आयोजना गरेको महिला भेलामा काबाप्रमुख चमेलीले भनिन्, ‘हेर्नोस प्रमुखहरू चिल्ला गाडीमा सरर हुइकिने अनि उपहरूले चाँही सिटी रिक्सामा हिँडनुपर्ने चलन चाँही विभेदकारी हो यस्तो हुनुहुँदैन सबैलाई समान होस् ।’

सुबिधाभोगी हैन सदाचारी बन्न जनप्रतिनिधिलाई आग्रह

२२ फागुनमा प्रदेश सरकारले आयोजना गरेको प्रदेशस्तरिय महिला भेलामा सहभागी हुन आएकी पालिका निमित्त प्रमुख चेमेलीले सबैले सुबिधा नपुगेको भनेर गुनासो गरिहँदा मुख्यमन्त्रीकै अगाडी उनले जनप्रतिनिधिहरूले धेरै सुबिधाभोगी हुन हुँदैन र सदाचारी बन्नुपर्छ भनेर आवाज उठाइन् ।

उनले भेलामा सबैका सामु आफूले भविश्यमा पनि गाडी किनेर प्रयोग नगर्ने बताउँदै जनप्रतिनिधिहरूले सेवा सुबिधा पुगेन भनेर गुनासो गर्नुभन्दा सदाचारी जीवन बाच्ने प्रत्यन गर्नु उचित हुने उनले सुझाएर प्रदेश सरकारको ध्यान खिचिन् ।

उनले एक वर्षसम्म गाउँपालिकामा कुनै पारिश्रमिक नलिइकन सेवा गरेको पनि जानकारी गराइन् । जनप्रतिनिधिहरूलाई सुबिधा पदको हैन कामको आधारमा दिइनुपर्ने चमेलीको सुझाव छ । उनले भेलामा मुख्यमन्त्री र मन्त्रीहरूको ध्यान आर्कषण गराउँदै भनिन्, ‘सामुदायिक शिक्षाको अवस्था साह्रै खस्केको छ, गुणस्तरीय बनाउन प्रदेश सरकारले लगानी बढाउनुपर्छ किनभने भौतिक विकासले मात्र पुग्दैन सामाजिक विकासबिना समाज शिक्षित हुँदैन ।’

प्रतिक्रिया

Loading...