fbpx

पाँचौं महिला साफबाट विराटनगरले पाएको पाँच उपलब्धि

विराटनगर, चैत ११
देशकै पहिलो औद्योगिक सहर विराटनगर पछिल्लो समय चर्चामा छ । १०४ वर्षे इतिहास बोकेको प्रदेश १ को अस्थायी राजधानी विराटनगर दक्षिण एसियाली राष्ट्रहरूको महिला साफ च्याम्पियनसिप प्रतियोगिता आयोजना गरेका कारण चर्चामा रहेको हो ।

गत फागुन २८ गते सुरु प्रतियोगिता चैत ८ गते समापन भयो । फाइनल खेलमा नेपाल र भारत प्रतिस्पर्धी थिए । चौथो पटक इतिहास रच्ने अवसर नेपाली महिला टोली सदुपयोग गर्न नसक्दा पाँचौं पटक भारतले उपाधि जित्यो । महिला टोलीले घरेलु मैदानमा ऐतिहासिक अवसर गुमाएपनि विराटनगरको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित भयो ।

निर्माणाधिन अवस्थामा रहको विराटनगरमा पहिलोपटक महिला साफ च्याम्पियनसिप आयोजना गर्दा असफल हुन्छ की भन्ने चिन्ता थियो आयोजक अखिल नेपाल फुटबल संघ एन्फालाई ।

विकासको गतिमा बामे सर्दै गरेको महानगरका अधिकांश सडक खनिएका थिए । मैदान पनि तयार थिएन । तर, निरन्तर दुई महिनाको मेहनतपछि मैदान र मैदानसम्म पुग्ने सडक तयार भयो । पहिलोपटक राजधानीबाहिर आयोजना गरेको प्रतियोगिताले विराटनगरसहित समग्र नेपालका लागि सकारात्म सन्देश दिएको छ ।

१. विराटनगरको चर्चा अन्तर्राष्ट्रियस्तरमा

फागुन २८ गतेदेखि चैत ८ गते (१०दिन) सञ्चालित प्रतियोगिताका कारण विराटनगरको चर्चा अन्तर्राष्ट्रियस्तरमा भयो । साफमा सहभागि भएका ६ देशका मिडियाहरू विराटनगर आएका थिए ।

महिला साफका कारण विराटनगरको पहिचान विश्वस्तरमा फैलिएको विराटनगरका मेयर भीम पराजुली बताउँछन् । ‘विराटनगर निर्माणको चरणमा छ,’ उनी भन्छन्, ‘यो अवस्थामा प्रतियोगिता आयोजना गर्नु सहज थिएन् तर दिनरात काम गरेर प्रतियोगिता सम्पन्न ग¥र्याैँ ।’

महिला साफले विराटनगरको अन्तर्राष्ट्रिय ख्यातीसँगसँगै आन्तरिक र बाह्य पर्यटनको विकासमा पनि मद्दत पुगेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राई बताउँछन् । ‘महिला साफबाट विराटनगरले पाएको उपलब्धि अमूल्य छ,’ उनी भन्छन्, ‘प्रतियोगिताले विराटनगरको जसरी प्रचार गरेको छ त्यसलाई मूल्यमा तुलना गर्न सकिन्न् ।’

२. अन्तर्राष्ट्रिय रंगशाला

विराटनगरले पाएको उपलब्धिमध्ये अन्तर्राष्ट्रिय रंगशाला पनि एक हो । विस २०१८ सालमा महेन्द्र गोल्डकप आयोजना गरिएको विराटनगरको शहीद रंगशालामा विभिन्न समयमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आयोजना भएको थियो । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता भने पहिलो पटक आयोजना गरिएको हो ।

२०७२ सालमा आएको भूकम्पका कारण काठमाडौंको दशरथ रंगशालामा क्षति पुग्यो । पूननिर्माणको चरणमा रहेको दशरथ रंगशाला तयार हुन समय लाग्ने भएपछि विराटनगरको शहीद रंगशालाले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।

श्रीलंकाले अन्तिम समयमा प्रतियोगिता गर्न नसक्ने बताएपछि नेपालमा आयोजना गरिएको पहिलो महिला साफ च्याम्पियनसिपले काठमाडौंबाहिर विराटनगरमा अन्तर्राष्ट्रिय रंगशाला पाएको छ ।

विराटनरका लागि नयाँ पहिचान रंगशालाले पनि दिएको छ । सामान्य अवस्थामा रहेको शहीद रंगशालाको मैदान अन्तर्राष्ट्रियस्तरको बनेको छ । प्लेयर्स बक्स, चेन्जिङ रुम, मिडिया सेन्टर जस्ता महत्वपूर्ण संरचनाहरू निर्माण भएको छ । साफले गर्दा निर्माण भएका संरचनालाई विराटनगरले संरक्षण गर्ने मेयर भीम पराजुली बताउँछन् ।

३. फुटबलको माहोल

विराटनगरमा अयोजित साफले नेपालमा महिला फुटबलका लागि नयाँ माहोल सिर्जना गरेको छ । समाजले अझै महिलालाई खेल क्षेत्रमा लागेको सहज रुपमा स्वीकार गर्न सकेको छैन् । तर, विराटनगरले देशभरमा महिलालाई खेल क्षेत्रमा लाग्ने माहोल सिर्जना गरेको एन्फा प्रवक्ता राई बताउँछन् ।

उनी भन्छन्, ‘महिलाले खेल्न हुँदैन भन्ने मानसिकता तोडिएको । महिलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र खेलाउन पर्नेरहेछ भन्ने सन्देश दिन सकियो ।’ महिला फुटबललाई मात्र होइन समग्र खेल क्षेत्रको विकासका लागि प्रतियोगिताले नैतिक दबाव सिर्जना गरेको छ ।

एन्फा आफैँले रौतहटमा महिला फुटबल एकेडेमी (टेक्नीकल सेन्टर) निर्माण गर्दैछ । साफ महिला फुटबलले प्रदेश १ मा पनि टेक्निकल सेन्टर सञ्चालनका लागि माहोल बनाएको एन्फा प्रवक्ता राई बताउँछन् । राष्ट्रिय टोलीमा प्रदेश १ का मात्र ८ जना खेलाडी छन् ।

४. विकेन्द्रिकरणको अभ्यास

संघीय संरचनाअनुसार अधिकार विकेन्द्रिकरणको अभ्यास गरिरहेको नेपालका लागि साफले काठमाडौंको केन्द्रिकृत सोचलाई परिवर्तन गर्न मद्दत पुगेको छ । साफमा प्रदेश १ को अस्थायी राजधानी विराटनगरको चर्चासँगै सम्भावनाको ढोका पनि खुला गरेको अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता किरण राई बताउँछन् ।

काठमाडौं केन्द्रित पूर्वाधारलाई प्रदेश तहमा विस्तार गर्न सके खेल क्षेको विकासमा मद्दत पुग्ने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा बताउँछन् । संघीय संरचनाअनुसार एन्फा अघि बढेको बताउँँदै शेर्पाले फुलबलको विकासका लागि प्रदेशहरूमा पनि माहोल सिर्जना भएको बताउँछन् ।

स्थानीय सरकारले पनि खेल क्षेत्रका लागि पर्याप्त बजेट बिनियोजन गरेका छन् । पाँचौं साफले खेल क्षेत्रको विकासका लागि विकेन्द्रिकरणको अभ्यासलाई मद्दत पुगेको छ ।

५. आन्तरिक तथा बाह्य पर्यटनको विकास

साफ च्याम्पियनसिपका कारण आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । विराटनगरबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा, इलाम, धनकुटा जस्ता पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा भएको छ । निर्माणको चरणमा रहेको विराटनगरले विकासमा गति लिँदै गरेको सन्देश पनि साफले दिएको छ ।

साफमा आएका विदेश दर्शक खेलाडीहरूलाई पर्यटकीय क्षेत्रहरू अवलोकन गराउन नपाएपनि विराटनगरबाट प्रदेश १ को पर्यटन क्षेत्रको विकासमा मद्दत पुगेको मेयर भीम पराजुली बताउँछन् । प्रतियोगिताका कारण विराटनगरमा विदेशी पाहुनाको चहलपहल बढेको थियो ।

अध्यक्ष भन्छन् : भौतिक संरचना संरक्षण होस्

साफ च्याम्पियनसिपका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारले ५० लाख रुपैयाँ खर्च गरेका थिए । महानगरको बजेट चेन्जिङ रुम र मैदान मर्मतमा खर्च गरिएको छ भने प्रदेश सरकारको बजेट चेन्जिङ रुममा प्रयोग भएको ऐसी फ्रीजसहितका सामाग्री जडान गरिएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा साफमा तयार गरिएको संरचना प्रयोगमा नआए बिग्रन्छ भन्नेमा चिन्तित छन् । ‘साफका कारण विराटनगरले धेरै संरचना पाएको छ,’ उनले भने, ‘चेन्जिङ रुममा माकुराको जालो नलागोस् ।’

शेर्पाले मैदानलाई पनि अन्तर्राष्ट्रियस्तरको मापदण्डमा राख्न निरन्तर मर्मत गर्न आवश्यक रहेको बताउँछन् । मैदानमा चासो नदिए गुणस्तर बिग्रने बताउँदै उनले स्थानीय सरकारले विषेश ध्यान दिनुपर्ने बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेपालमै पहिलो राजधानीबाहिर प्रतियोगिता आयोजना भएको शहीद रंगशाला संरक्षणमा ध्यान दिने बताए ।

प्रतिक्रिया

17 + six =

Loading...