fbpx

साफ खेल्ने खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार

विराटनगर,चैत १० । पाँचौं महिला साफ च्याम्पियनसिपमा उपबिजेता बनेको नेपाली महिला टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले पुरस्कृत गर्ने भएको छ ।

शुक्रवार सम्पन्न फाइनल खेलमा भारतसँग पराजित नेपाली महिला टोलीलाई एन्फाले जनही १ लाखका दरले पुरस्कृत गर्ने भएको हो । शुक्रवार प्रदेश सरकार र विराटनगर महानगरपालिकाले पनि सहयोग गर्ने घोषणा गरेका थिए । प्रदेश सरकराले जनही १ लाख र महानगरपालिकाले जनही ५० हजार रुपैया दिने घोषणा गरेका हुन् ।

एन्फाले पनि पुरस्कृत गर्ने घोषणा गरेपछि नेपाली खेलाडीका २६ जना सदस्यले जनही २ लाख ५० हजार रुपैया पुरसर पाउनेछन् ।

विराटनगरमा एन्फाको १८ औं वार्षीक साधारणसभा आयोजना गरिएको थियो । सोही साधारण सभाबाट नेपाली टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अघिल्लो साधारणसभादेखि हालसम्म गरेका कार्यहरु तथा नेपाली फुटबल खेलको विकासका लागि भएका कामका बारेमा प्रस्तुत गरेका थिए । फुटबल विकासमा भएका कामहरुबाट सन्तुष्ट रहेको निस्कर्षसहित वार्षीक प्रगति प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको एन्फा प्रवक्ता राईले बताए ।

उनका अनुसार एन्फा कोषाध्यक्ष रवीन्द्र जोशीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ को वार्षीक कार्यक्रम अनुसार २३ करोड ७४ लाख ५० हजार रुपैयाँ परिमार्जनसहित स्वीकृत गरिएको जानकारी राईले दिए ।

महिला फुटबलको इतिहासमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिप धेरै चुनौतीका बीचमा सफलतापूर्वक रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई एन्फाले धन्यवाद दिएको छ ।

खोटाङ, नवलपुर र मनाङ जिल्लामा फुटबल संघ गठन गर्नका लागि माग भए अनुसार एक वर्षका लागि ति जिल्लालाई पर्यवेक्षकका रुपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय साधारणसभाले गरेको छ ।

एन्फा प्रवक्ता राईले पहिलो पटक आयोजना गरिएको महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता कुसलता पूर्वक रुपमा सम्पन्न गरेका कारण प्रदेश १ को अस्थायी राजधानी विराटनगरले चर्चा पाएको बताए ।

‘महिलाले खेल्न र बाहिर डुल्न हुँदैन भन्ने मानसिकता तोडिएको छ,’ उनले भने, ‘महिलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र खेलाउन पर्ने रहेछ भन्ने सन्देश दिन सकियो ।’ प्रतियोगिताका कारण आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको विश्वास एन्फाले लिएको उनले बताए ।

प्रतिक्रिया

2 × 1 =

Loading...