fbpx

अवहेलना मुद्दामा कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुखलाई जरिवाना

विराटनगर, चैत्र ५ ।

अदालतको अवहेलना मुद्दामा कम्पनी रजिस्ट्रार कार्यालय काठमाडौंका प्रमुख सहित पाँचजनालाई जरिवानाको फैसला भएको छ । जिल्ला अदालत मोरङले अवहेलना मुद्दामा कम्पनी रजिस्ट्रार कार्यालय काठमाडौंका प्रमुख भुवनहरि अर्याल, अधिकृत कृष्णप्रसाद पौडेल र कानुन अधिकृत टोपबहादुर बिष्ट, झापा गौरदहका सुरेश भण्डारीका शंकरप्रसाद सांग्रौलालाई जनही ५ हजारको जरिवना गर्न फैसला सुनाएको छ ।

मोरङ सुन्दर हरैचा नगरपालिकाका करणसिंह बस्नेतले शंकरप्रसाद संगौलालाई लेनदेन मुद्दा दायर गरेपछि जिल्ला अदालतका न्यायधिस कृष्णमुरारी शिवाकोटीको इजलासले संग्रौलाको एकल स्वामित्वमा रहेको कम्पनीको शेयर रोक्का राख्ने आदेश दिएको थियो । तर आदेश विपरित संग्रौलाको नाममा दर्ता भएको कञ्चनजंघा फार्म हाउसको सेयर बिक्री भएपछि अवलेहना ठहर भएको हो ।

अदालतले गत असोज १० गते रोक्का गर्न आदेश दिएपछि असोज १२ गते आदेश बमोजिम कम्पनी रजिस्टारको कार्यालयमा रोक्काको पत्र दर्ता भएको थियो । तर असोज १४ गते संग्रौलाको सेयर सुरेश भण्डारीको नाममा बिक्री भएको थियो । साउन १ गतेको निर्णय भन्दै बिक्री भएको सेयरमा कर्मचारीको मिलेमतो देखिएपछि अदालतले जरिवानाको फैसला सुनाएको हो ।

अदालतको आदेश विपरित बिक्रि भएपछि अवहेलना मुद्दामा प्रमुख सहित पाँच जनालाई जरिवानाको फैसला भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

अदालतको सेयर रोक्काको आदेश दिएपछि संग्रौलाबाट सेयर बिक्रीमा पनि फर्जी गरेको भेटिएको थियो । अदालतको आदेश उल्लंघन गर्दै शंकरप्रसाद संग्रौलाको एकल कम्पनीको शेयर १ करोडमा बिक्री भएको अदालतमा कागज पेस भएको थियो । तर भण्डारी र संगौला बिचको शेयर कारोवार नै फर्जी भएको अदालतले ठहर गरेको छ । भण्डारीको सानिमा बैंकमा खरिद गरिएको भनिएको एक करोड रुपैया नभएको उल्लेख छ ।

अदालतको फैसलामा भनिएको छ ‘प्रतिवादी शंकरप्रसाद संग्रौला र सुरेश भण्डारी बीच शेयर खरिद विक्री गर्ने निर्णय मिति २०७५ साउन १ गते भएको भनिएकोमा उक्त शेयर खरिद गर्ने व्यक्तिले शेयर विक्रीकर्ताको नाममा दिएको एकाउण्ट पेयी चेक भुक्तानी भएको छैन भन्ने सानिमा बैंकको माघ २२ गतेको प्राप्त पत्रको साथमा रहेको बैक स्टेटमेन्टमा सुरेश भण्डारीको खातामा एक करोड रुपैया कुनै पनि मितिमा भएको देखिदैन् ।

प्रतिवादीहरुले गरेको शेयर खरिद विक्रीको कारोबार वास्तविकतामा आधारित नभई संग्रौलाको नाममा रहेको कंचनजंघा फार्म हाउस एकल कम्पनी रहेको कम्पनी जुनसुकै मिति कायम गरी निर्णय गर्न सक्ने हु“दा प्रतिवादीहरुबाट मिति साउन १ गते भएको शेयर खरिद विक्री गर्ने निर्णय, अदालतको आदेशको अवज्ञा गर्ने उद्देश्यले गरेको देखियो ।

प्रतिक्रिया

Loading...