fbpx

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा ‘महामूर्ख’ घोषित्

विराटनगर, चैत ५
होलीपर्वको अवसरमा विराटनगरका मारवाडी समुदायले परम्परागत हास–परिहासको साङ कार्यक्रम मनाएका छन् । ख्याल ठट्टा र मनोरञ्जन गर्दै मनाइएको कार्यक्रमकाबीच उनीहरुले वर्ष २०७६ का लागि ‘महामूर्ख’को समेत घोषणा गरेका छन् ।

असत्यमाथि सत्यको जीतको खुशीलाई रंगअबिर, हास–परिहास तथा ख्याल ठट्टाका माध्यमले मनाइने पर्वको नाम हो, होली । विश्वभरिका हिन्दू समुदायले आ–आफ्नै संस्कृति र प्रचलनअनुसार यो पर्व मनाउने गर्छन् ।

रंग खेल्ने निश्चित दिन भएप्नि विराटनगरका मारवाडी समुदायले भने साताअघिबाट नै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै यो पर्व मनाउँछन् । यो समुदायले होली पर्वको अवसरमा अयोजना गर्ने विविध कार्यक्रममध्ये साङ एउटा महत्वपूर्ण कार्यक्रम हो ।

साङ बन्ने व्यक्तिले उटपट्याङ र बिचित्रको पोषाक पहिरिएर प्रर्दशन गर्छन् । हास–परिहासका लागि साङको रुपधारण गरेका व्यक्तिले अरुलाई मनोरञ्जन प्रदान गर्नु एक मात्र उद्देश्य रहेको हुन्छ । साङ बन्ने सबै पात्र पुरुष मात्र हुन्छन् र उनीहरूले नै जोकर, राक्षस, देउता र महिलाको दुरुस्तै रुप धारण गरेर हास–परिहास प्रर्दशन गर्छन् ।

होलीकै अवसरमा पछिल्लो केही वर्षयता सो समुदायले ‘महामूर्ख’को समेत घोषणा गर्दै आएको छ । सो अवसरमा मनोरञ्जनात्मक कार्यक्रमको अयाोजना गर्दै समाजका प्रतिष्ठित व्यक्तिलाई महामूर्खको उपाधि दिने गरिन्छ ।

यसपटक भने मोरङ व्यापार संघका अध्यक्ष तथा उद्योगी पवनकुमार सारडालाई वर्ष २०७५–७६ का लागि महामूर्ख घोषणा गरिएको छ । सोमबार राति स्थानीय जैन भवनमा आयोजित कार्यक्रमकाबीच उनलाई महामूर्ख घोषणा गरिएको थियो ।

यसअघि महामूर्खको उपाधि पाएका उद्योगी दिनबन्धु गोयलले नयाँ महामूर्खलाई टमाटर, करेला, काँक्रा, गाँजर र भान्टा उनीएको माला तथा उत्तेजक अभिनेत्री सन्नी लियोनीको फोटो अंकित ताज पहिराइदिएर उपाधि हस्तान्तरण गरे ।

महामूर्ख घोषणा सभामा शुभकामना दिँंदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले नेपालका सबै समुदायको संस्कृति विशिष्ठ र मौलिक रहेको बताए । उनले देशभरिका मौलिक संस्कृतिलाई संरक्षण गरिनुपर्ने विषयमा जोड दिए ।

होली पर्वको अवसरमा दशकौं अघिदेखि अचम्मको जन्ती निकाल्दै आएका विराटनगरका मारवाडी समुदायले यसवर्ष भने सडकको दुरावस्थाका कारण आफ्नो कार्यक्रमको स्वरुप परिवर्तन गर्दै स्टेजमा सीमित गरेका छन् ।

तामझाम र ब्यङ्गात्मक शैलीमा निकालिने अचम्मको जन्तीमा प्रत्येक वर्ष हजारौंको सहभागिता रहँदै आएको छ ।

प्रतिक्रिया

18 + two =

Loading...