विराटनगर, चैत्र २
विराटनगरमा जारी पाँचौं संस्करणको महिला साफ च्याम्पियन्ससिपमा आज शनिबार आयोजक राष्ट्र नेपालले बंगलादेशविरुद्ध खेलिरहेको छ । विराटनगरको शहीद रंगशालामा भइरहेको उक्त खेलको पहिलो हाफसम्ममा नेपालले ३–० गोलको अग्रता बनाएको छ ।
नेपालले आत्मघाती गोलमार्फत् अग्रता बनाएको सुरुआती थियो । खेलको पाँचौं मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनले आत्मघाती गोल गरेपछि नेपालले सुरुआती अग्रता बनाएको थियो ।
यसैगरी खेलको २२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन् । उनको यो गोल जारी साफमा दोस्रो गोल हो भने नेपालका लागि २४ औं गोल हो । यसैगरी खेलको २७ औं मिनेटमा अञ्जलीकुमारी योञ्जनले नेपालका लागि तेस्रो गोल गरिन् । मञ्जलीले साबित्राको पासमा गोल गर्दै पहिलो हाफसम्ममा नेपाललाई ३–० को अग्रता दिलाइन् ।
पहिलो हाफको खेल सकिँदासम्म नेपालले बंगलादेशविरुद्ध निकै नै आक्रमक खेल पस्किरहेको छ । नेपालका लागि ‘साम्बा’ अर्थात् साबित्राले गोलका लागि अथक प्रयास गरिरहेकी छन् ।
एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुगेका दुवै टोलीको नजर समूह विजेता बन्नुमा छ । पहिलो खेलमा भुटानलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । गत माघ अन्तिममा सम्पन्न हिरो वुमन्स कपमा भारतलाई पराजित गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा छ ।