विराटनगर, चैत्र २ ।
बेरोजगारहरू यूवालाई लक्षित गरि सरकारले घोषणा गरेको महत्वकाक्षी योजना अर्थात रोजगारी उपलब्ध गराउने भन्दै घोषणा गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शुक्रवारबाट सबै स्थानीय तहमा बेरोजगारहरूको निवेदन लिने काम सुरु गरिएको छ ।
रोजगारी खोज्दै हुनुुहुन्छ वा बेरोजगार भत्ता नै लिने सोचमा हुनुहुन्छ भने फारम भर्न ढिलो नगर्नु होला । अब वडा कार्यालयमा गएर फारम भर्न सकिने र योग्यता पुगेका बेरोजगारलाई त्यही सूचीका आधारमा रोजगारीको अवसर दिइने बताइएको छ ।
बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिनको काम नपाए अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने प्रावधान प्रधानमन्त्री रोजगार कार्यक्रममा गरिएको छ । छानिएका बेरोजगारहरुले बेरोजगार भत्ता बापत भने वर्षमा २५ हजार ८ सय ५० रुपैयाँ पाउने छन् ।
जसले वर्षदिनमा एक दिन पनि काम नगरेको पुष्टि भए त्यती रकम पाउने र जति दिन काम गरेको पुष्टि हुन्छ त्यो रकम बराबर भत्ता काटिने छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक प्रकाश दाहालले त्यसमाथि अन्य शर्तहरू पनि लागु हुने बताए । सोही अनुसार रोजगारीको अवसरभन्दा बाहिर रहेकाहरूको सूची तयार पार्न लागेको सरकारले त्यसका लागि शुक्रवारदेखि आवेदन लिने काम सुरु गरेको हो । ।
तपाई बेरोजगार हुुनुहुन्छ भने आफूसँग भएको सीप, योग्यता वा क्षमता उल्लेख गरी निवेदन दिनुहोस र तपाईलाई रोजगारी दिने काम सरकारले गर्छ । नभए भत्ता त छदै छ । यस्तो निवेदनहरू वडा तहबाट रोजगार संयोजकहरूले सङ्कलन गर्ने अनि स्थानीय तहको कार्यपालिकाले पारित गरेपछि केन्द्रीय प्रणालीमा सूचीकृत हुने बताइएको छ ।
अधिकाँस यूवा तथा महिला कृषिमा लागेका हुनाले अर्धबेरोजगारको सङ्ख्या धेरै रहेको छ । सूचीका आधारमा रोजगारीको व्यवस्था गरिने निर्देशक दाहालले बताए।
यस कार्यक्रममार्फत् पाँच वर्षमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने भन्ने लक्ष्य सरकारले राखेको छ । श्रमविज्ञ गणेश गुरुङले यही कार्यक्रमको कारण बैदेशिक रोजगारीमा जाने क्रम घट्ने जस्तो नलाग्ने बताउछन् ।
सूचीकृत भएका बेरोजगारहरूलाई तीनवटै तहका सरकारका सार्वजनिक निर्माण र अन्य आयोजनामा अनिवार्य रूपमा काम दिनुपर्ने र निजी, सहकारी र सामुदायिक क्षेत्रले पनि त्यस्तो सूचीबाट कामदार लिन सक्ने व्यवस्था रहेको अधिकारीहरूको भनाइ छ । नेपालको पछिल्लो आर्थिक सर्वेक्षणबमोजिम प्रत्येक वर्ष झन्डै पाँच लाख युवा कामको खोजीमा बजार प्रवेश गर्छन् ।
तीमध्ये दैनिक सरदर एक हजार युवा कामका लागि विदेश जाने गर्छन् । सर्वेक्षणका अनुसार देशमा पूर्ण बेरोजगारीको दर २.३ प्रतिशत मात्र छ । तर अर्धबेरोजगारीको दर भने ३० प्रतिशत छ ।
विविसी नेपालीको सहयोगमा