fbpx

सुकुम्बासी बस्ती जस्तै काेशी अञ्चल अस्पताल

  • नामका लागि मात्रै आइसियू र एनआइसियू छन् तर भेन्टिलेटरसमेत चल्दैनन् ।
  • अस्पतालका ठूला १० वटा भवन छन् तर तीनवटा बाहेक अरू सबै जीर्ण छन् ।
  • अस्पतालमा सरसफाइ चुनौतीपूर्ण छ । फोहोरमैला व्यवस्थापन सधैँको चुनौती बनेको छ ।
  • अस्पतालमा एनेस्थेसिया चिकित्सकबिनै अप्रेशन हुन्छ । अप्रेशन कक्ष पनि पुरानो जीर्ण भवनमा छ । टेवल र उपकरणहरू पनि पुराना छन् ।

विराटनगर, फागुन ३०
उपचारमा लापारबाही भएको भन्दै कैयौँपटक तोडफोड र हुलहुज्ज्त झेलेको एक नम्बर प्रदेशको दोस्रो ठूलो कोशी अञ्चल अस्पतालको अवस्था अझै बेहाल झै रहेको छ । ५ बिगाहा ९ कठा क्षेत्रफलमा फैलिएको पुरानो अस्पतालको भौतिक संरचना सुकुम्बासी बस्तीको झैँ छ ।

अस्पताल परिसरमा विभिन्न स्वास्थ्य सेवाका विभाग र प्रशासनिक भवनसहित १० वटा अलग–अलग भवन छन् । तर, अर्थो, ओपिडी र एउटा मेडिकल भवनबाहेक सबै जीर्ण र अस्तव्यस्त छन् । जसले अस्पताल परिसर नै अस्तव्यस्त बनाएको छ ।

फरक–फरक समयमा दाताहरूको सहयोगले बनेका पुराना भवनहरू र आवासहरूले गर्दा कोशी अस्पताल, अस्पताल जस्तो हैन एउटा सकुम्बासी बस्ती झैँ लाग्छ । अस्पतालका सूचनाअधिकारी बिष्णुबहादुर बुढाथोकीका अनुसार प्रदेशकै रेफरल सेन्टरका रुपमा स्तारोन्नती गर्ने तैयारी भैरहेको छ । तर, पुरानै संरचानाबाट अस्पतालको भौतिक पूर्वाधारमा सुधार सम्भव नहुने कर्मचारीहरू बताउँछन् ।

सधैँ सरकारी उपेक्षामा

विराटनगरका निजी अस्पतालहरूले दिन दुई गुणा रात चौगुणा प्रगति गरिरहेको भएपनि क्षेत्रीय अस्पतालका रूपमा विकसित भैसकेको कोशी अञ्चल अस्पताल विराटनगर भने अझै सरकारी उपेक्षामा परिरहेको छ । काँग्रेस नेता शेखर कोइराला आफैँले सेवा गरेको यो अस्पताल सुधार्न कसम नखाने नेता र मन्त्री कोही बाँकी हुदैनन् । तर, एकीकृत योजना बनाएर अस्पतालको स्तारोन्नती भने आजसम्म कसैले गराउन थालेको छैन ।

सरकारले दिएको अनुदानको रकम र जेनतेन विकास समितिले गर्ने आम्दानीले बर्सौँदेखिको लथालिंग पाराबाटै कोशी अस्पताल सञ्चालन भैरहेको छ । विसं १९७१ मा स्थापना भएको झण्डै सवा सय वर्ष पुरानो कोशी अञ्चल अस्पतालमा उचित ढंगले समयमा सुधार हुन नसक्दा समस्याहरू बढ्दै गएकोले भौतिक पूर्वाधार र जनशक्ति अभावले गर्दा बिरामीसँगै चिकित्सकहरूले पनि सास्ती पाउँदै आएका छन् ।

पटक–पटक अस्पताल सुधार गर्न आफूहरूले प्रशासनलाई ज्ञापनपत्र बुझाएपनि अवस्था खासै सुधार हुन नसकेको अधिकारकर्मी उत्तम ढुंगेल बताउँछन् । उनका अनुसार कोशी अस्पतालमा नर्सदेखि प्राविधिकहरू सबै निजीमा प्राथमिकता दिने गरेका छन् । जसले गर्दा उपचारमा सधैँ समस्या आउने गरको छ ।

बेकामे कर्मचारीको ओइरो तर डाक्टरको जहिल्यै अभाव

अस्पतालमा राजनैतिक आडमा भर्ति गरिएका विकास समिति तर्फका बेकामे कर्मचारीहरूको ओइरो छ । सरसफाइ कर्मचारीको दरबन्दीमा पियन र सहायक स्वास्थ्यकर्मीहरूसमेत भर्ना गरिएका छन् । तर, अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक छैनन् ।

हाल सरकारी र विकास समितितर्फ गरेर ८० जना डाक्टर कार्यरत मात्र कार्यरत छन् । अस्पतालमा अझै २५ जना विशेषज्ञ डाक्टर अभाव छ । १३औँ तहका १९ जना विशेषज्ञ डाक्टहरूको दरबन्दिमा ६ वटा मात्रै पूर्ति छ । तर, अस्पताल विकास समितिअन्र्तगत २ सय ६५ जना कर्मचारीहरू कार्यरत छन् तर डाक्टर भने २५ जना मात्र छन् ।

दैनिक ओपिडीमा सात सयदेखि एक हजारसम्म र अन्तरङ्गमा ३ सय ५० बिरामीले उपचार गराउने यो अस्पतालमा सरकारले प्रदान गरेको निःशुल्क औषधि चाँही बिरामीहरूले पाउँदैनन् । निःशुल्क उपचार औषधि पहुँचवालाहरूले मात्र पाउने गरेका छन् ।

नीजिमा व्यस्त हुँदा उपचारको गुणस्तरमा शंका

निम्न आर्थिक अवस्था भएका बिरामीहरूले उपचार गराउन यो अस्पतालमा भएका डाक्टरहरू पनि प्रायः निजी अस्पताल र क्लिनिकहरूमा व्यस्त हुँदा उपचार सेवा भरपर्दो हुन नसकेको गुनासो हट्न सकेको छैन ।

अस्पतालमा दरबन्दि भएका डाक्टरहरू सवै ‘अन डयुटी’ हुँदैनन् । अस्पतालका ल्याब प्राविधिक सिनियर नर्स र चिकित्सक सबैले आ–आफ्ना नीजी संस्था संचालन गरेका छन् । यसैले पनि कोशी अञ्चल अस्पतालको उपचार सेवामा विश्वसनीयता बढ्न नसकेको पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।

उपकरण बनाउन कारखाना र प्राविधिक छैनन्

अस्पतालको बर्सौँ पुरानो संरचनामा खासै परिवर्तन हुन सकेको छैन । भएको सम्पत्ति पनि सही ढंगले उपयोग भैरहेको छैन । अस्पतालको भौतिक संरचनाहरू अतिक्रमण हुने र दुरुपयोग गर्ने क्रम बढिरहेको छ ।

सरकार फेरिएैपिच्छे फेरिने अस्पतालका मेसु र विकास समितिका पदाधिकारीहरूले गर्दा पनि अस्पतालले चाहेजस्तो सेवामा सुधार ल्याउन नसकेको अधिकारकर्मी पारुल क्षेत्री बताउँछन् । अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरणहरू अझै धेरै पुराना छन् । एक सयभन्दा बढी बेड भएको अस्पतालमा स्वास्थ्य उपकरण मर्मत गर्ने कारखाना र प्राविधिक आफ्नै हुनुपर्ने भएपनि कोशीमा छैन । यसैले बिग्रिएका उपकरण बनाउन बाहिर लानुपर्ने भएकोले महिनौंसम्म सेवा अवरुद्ध हुन्छ ।

नामका लागि मात्रै आइसियू र एनआइसियू , भेन्टिलेटर छ तर चल्दैनन

दुई दर्जनभन्दा बढी आइसियु शैया हुनुपर्ने कोशी अस्पतालमा जम्मा ६ शैया मात्र छ । यसैगरी दुई दर्जन जति एनआइसियू हुनुपर्नेमा जम्मा ६ वटा मात्रै छ । तर, कुनैमा पनि भेन्टिलेटर चल्दैनन् । ग्याँस प्लान्टको अभावले भेन्टिलेटर चल्न नसकेको अस्पतालका कर्मचारहीरू बताउँछन् । तर, जम्मा डेढ करोड जति खर्च गरेर ग्याँस प्लान बनाउन सकिने भएपनि निर्माण भएको छैन ।

भेन्टिलेटर नहुँदा बिरामीहरू महंगा निजी अस्पतालमा जान बाध्य छन् । कोशीभन्दा साना निजी अस्पतालहरूले आइसियू र एनआइसियूमा भेन्लिेटर सेवा दिइरहेका छन् । निजी अस्पताहरूसँगको मिलेमतोमै कोशीको आइसियू र एनआइसियूमा भेन्टिलेटर सूचारू नगराएको आरोप लाग्दै आएको छ ।

प्रदेशकै रेफरल अस्पताल बनाउने मन्त्रीको प्रतिवद्धता तर अझैसम्म एकीकृत योजना छैन

वर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कोशी अञ्चल अस्पताललाई पाँच सय शैयाको प्रादेशिक अस्पतालका रूपमा बिस्तार गर्ने प्रतिवद्धता जनाएका छन् । तर, अस्पतालको अवस्था चाँही अझै ठीट लाग्दो छ । अस्पतालमा २५ शैयाको इमरजेन्सी कक्ष भएपनि बिरामीको भीँडले गर्दा अझै पनि भित्तामा राखेर उपचार गराउनुपर्ने अवस्था छ ।

प्रदेश सरकारले कोशी अस्पताललाई मेडिकल अस्पतालका रुपमा स्तरोन्नी गराउने तैयारी थालेको थियो । चालु वर्षबाटै एमडीको कक्षा सुरु गराउने र सेवा र भौतिक संरचनामा सुधार गर्दै लाने प्रदेश सरकारको योजना थियो ।

तर, संघीय सरकारले अस्पतालाई आफू मातहत लिएपछि प्रदेश सरकारको योजना तुहिएको छ । हाल प्रदेश सरकार अलग्गै आफ्नो प्रदेशको विषयगत अस्पताल सञ्चालनमा ल्याउने तैयारीमा जुटेको छ ।

१९४७ मा तत्कालिन सदरमुकाम रंगेलीमा स्थापना भै २०१३ मा विराटनगरमा सरेको कोशी अञ्चल अस्पताल यही अवस्थामा रहिरहे अझै जनविश्वास गुमाउँदै जाने एन्टिकरप्सन मुभमेन्टका अध्यक्ष पारुल क्षेत्री बताउँछन् । क्षेत्री भन्छन्, ‘कोशी अस्पताललाई नमुना बनाउछु भनेर प्रतिवद्धता जनाउने मन्त्री र कसम खाने नेताहरू कोही बाँकी छैनन् तर अस्पतालको हाल सधैँ बेहाल छ ।’

सरकारी अस्पतालको सेवा निजीभन्दा गुणस्तरीय र भरपर्दो हुनुपर्नेमा त्यस्तो हुन नसक्दा अस्पतालमा बिरामी सेवाबाट पनि बन्चित भएका छन् । जसको फाइदा निजी महंगा अस्पताल र क्लिनिकहरूले उठाइरहेका छन् । प्रदेशभरिका गरिब बिरामीहरूको आशा र भरोसाको केन्द्र रहेको कोशी अस्पतालको उपचार सेवामा सुधार नहुँदा कार्यरत चिकित्सक र निजी अस्पतालहरू मालामाल भैरहेपनि सर्वसाधरण बिरामीहरू भने मारमा पर्ने गरेका छन् ।

जीर्ण भवनमा साँधुरो अप्रेसन कक्ष

कोशी अञ्चल अस्पताल विराटनगरमा फिजिसियन, अर्थो, डेन्टल, गाईनो, पेडियाट्रिकदेखि मेन्टल रोगसम्बन्धि बिरामीको उपचार हुँदै आएको छ । अस्पतालमा खोप, गर्भपतन, डाइलासिस, पाठेघर, पोषण, क्यान्सर, हाईड्रोसिल, एअचाइभीलगायतका स्वास्थय कार्यक्रमहरू पनि संचालनमा छन् । तर, अस्पतालको अप्रेसन कक्ष सुविधा सम्पन्न छैन । साँघुरो र एउटा मात्र अप्रेसन कक्ष हुँदा बिरामीहरू महिनौँ पालो पर्खन बाध्य हुन्छन् ।

समयमा अप्रेसन गर्न नपाउँदा चिकित्सकहरूलाई पनि बिरामीको पालो मिलाउन समस्या हुने गरेको छ । अप्रेसन थिएटरमा बेन्च टेबल र औजारहरू पुराना छन् । कक्ष पनि साँघुरो र जीर्ण भवनमा छ । अस्पतालमा अप्रेसन कक्ष सुधार नहुँदा पटक–पटक चिकित्सकहरूमाथि लापारबाहीको आरोप लाग्दै आएको छ भने बिरामीले ज्यान गुमाउँदै आएका छन् ।

सरसफाइको अवस्था सधैँ दयनीय

यो अस्पताल कस्तो छ भनेर बुझ्नका लागि यहाँ भएका शौचालय र विभागहरूको सरसफाइ सर्रर हेर्दा थाहा हन्छ । शौचालय प्रायः सधैँ भरिएर दुर्गन्धित हुन्छन् । वार्ड र परिसरको सरसफाइ पनि चित्तबुझ्दो हुँदैन । बिरामी र कुरुवाहरूले नाक थुनेर हिँडनुपर्ने अवस्था सधैँ रहिरहन्छ ।

सरसफाइका लागि अस्पतालमा ६० जना नियुक्त छन तर सबैले सफाइको काम गर्दैनन्, कोही पियनको काम गर्छन् भने कोही स्वास्थ्यकर्मीको सहायक छन् । साढे तीन सय बेड भएको अस्पतालमा लूगा धुन जम्मा तीन जना मात्र धोवी छन् ।

शव गृहको अवस्था अझै दयनीय, शव राख्ने फ्रिजसमेत छैन

दैनिक शव परिक्षण हुने यो अस्पतालमा एउटा व्यवस्थित मूर्दाघर पनि छैन । जसले गर्दा लिगल मेडिको सेवा पनि कठिनाइँ भैरहेको छ । गर्मीमा शवहरू गन्हाएर सकस भएपछि भर्खरै दाताको सहयोगमा मूर्दाघरमा एउटा एसी जडान गरेर थोरै व्यस्थित गराइएको छ ।

तर, अझै शव राख्ने फ्रिजको व्यवस्था छैन । यहाँ दैनिक रुपमा शवहरू पोष्टमार्टमका लागि आउने गरेका छन् । शव राख्ने फ्रिज नहँदा कित हतारमा आफन्तलाई जिम्मा लगाउनु पर्ने कित मुचुल्का बनाएर नष्ट गराउनुपर्ने बाध्यता छ ।

सरकार भन्छः ‘आधारभूत स्वास्थ्य सेवा सबै निःशुल्क ।’ तर, कोशीमा पुर्जा काटेको ५०, बेडको १ सय र टेस्टहरूको फरक–फरक शुल्क तिर्नुपर्छ
सरकारले संविधानमा आधारभूत स्वास्थ्य सेवा निशुल्क भनेको छ । तर, कोशी अस्पतालमा नाम दर्ता गराएर पुर्जा लिँदा ५० र प्रतिदिन शैयाको १ सय रुपैयाँ तिर्नुपर्छ । यसैगरी ल्याब, एक्सरे टेस्टको दर पनि अलग–अलग छ । कोशी अस्पतालले चालु वर्ष सरकारी अनुदानबाट १२ करोड १२ लाख ८८ हजार विकास समितिबाट प्रतिमहिना एक करोड जति गरी २० करोडको हाराहारीमा बजेट खर्च गर्दैछ ।

अस्पताल वरिपरी दर्जनौँ निजी अस्पताल, ल्याब र उपचार क्लिनिक

स्वास्थ्य सेवा निर्देशिकाअनुसार सरकारी अस्पताल भएको स्थानको एक किलोमिटर वरिपरि अर्को अस्पताल सञ्चालन गर्न पाइदैन । तर, कोशी अञ्चल अस्पताल वरिपरी एक दर्जन ठूला निजी अस्पताल, दर्जनौं उपचार क्लिनिक र ल्याबहरू छन् । सबै कोशीमा आउने बिरामीहरूलाई नै ख्याल गरेर खोलिएका हुन् । कोशी अस्पतालमा दलालहरूको पनि बिगबिगी हुने गरेको छ । उपचार सेवा नभएको र राम्रो उपचार हुँदैन भन्दै दलालहरूले निजि अस्पताल र क्लिनिकहरूमा बिरामी फसाउने गरेका छन् ।

अस्पतालमा बिरामीभन्दा सिकारु नर्स धेरै

कोशी अस्पतालको ईन्डोरमा बिरामीभन्दा सिकारू नर्सहरू धेरै हुनेगरेका छन् । अस्पताल विकास समितिले विभिन्न नर्सिङ कलेजका विद्यार्थीलाई इन्टर्ननका लागि अनुमति दिँदा यस्तो भएको हो । अस्पतामा डाक्टर देखिँदैनन् तर सेता लुगा लगाएका सिकारू नर्सहरूको भने बिगबिगी नै देखिन्छ । जसले उपचार गराउन भर्ना भएका बिरामीहरूलाई तनाव हुने गरेको छ ।

अस्पतालको सेवामा सुधार ल्याउन माग गर्दै पटक–पटक उपभोक्तावदी संस्था, बिरामी कुरुवा र स्थानीयले दवाव सिर्जना गर्दै आएपनि सरकारी निकाय भने ‘कानमा तेल हालेर बसेको’ झैँ भैरहेको सेवाग्राहीहरू बताउँछन् ।

प्रतिक्रिया

Loading...