fbpx

रमिलाको शव खोज्न सप्तकोशीमा प्रहरीको यस्तो संघर्ष (फोटो फिचर)

विराटनगर,  फागुन २६ ।

गत फागुन १७ गते शुक्रवारदेखि बेपत्ता भएकी रमिला राईको शव सप्तकोशीमा फालेको रहस्य खुलेपछि प्रहरीको टोलीले दुई दिनयता सप्तकोशी नदीमा शव खोजी रहेको छ ।

हत्या आरोपमा पक्राउ परेका ४५ बर्षिय योगेन्द्र गुरुङले शव सप्तकोशीमा फालेको बयान दिएपछि शनिवारदेखि सप्तकोशी नदीमा केन्द्रित भएको इलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोली शव भेटेको छैन् ।

एकसाता अघि फालिएको सम्भावित शव खोज्ने क्रममा शनिवार एउटा र आइतबार एउटा शव भेट्यो । तर दुबै शव रमिलाको थिएन् । शनिवार सप्तरी सिमा क्षेत्र पूरुषको शव भेटिएको थियो भने आइतबार सुनसरी तर्फ अधबैसे महिलाको शव भेटिएको थियो । आइतबार भेटिएको शव रमिताको हुन सक्ने संका गरिएपनि पुष्टी भएन् ।

दुईदिन यता शव खोज्न प्रहरीले ज्यानको बाजी लगाएर सप्तकोशीमा मेहनत गरीरहेका छन् ।  मोरङ प्रहरी प्रमुख मनोज केसीले घटनाको अनुसन्धानकालागि पक्राउ परेका योगेन्द्र गुरुङले दिएको बयानका आधारमा सप्तकोशीमा प्रहरी टोलीले शव खोजीरहेको जानकारी दिए । उनले रमिलाको शव खोज्ने क्रममा दुईवटा अज्ञात व्यक्तीको शव भेटिएको बताए ।

बेलवारी नगरपालिका–४ की २६ बर्षिय रमिला राई गत फागुन १७ गतेदेखि बेपत्ता भएकी थिइन् । एकसाता लामो हत्या अनुसन्धानका क्रममा नेकपाका स्थानीय नेता समेत रहेका योगेन्द्र गुरुङलाई पक्राउ गरिएको हो ।

गुरुङलाई इलामबाट पक्राउ गरिएको हो । राईसँग प्रेम सम्बन्ध रहेका गुरुङले फागुन १७ गते राती हत्या गरी शव कोशी नदीमा फालेको प्रहरीले बताएको छ । गुरुङका बयानका आधारमा प्रहरीले कोशी नदी क्षेत्रमा शव खोजीरहेको हो । 

सिसिटिभीले खोल्यो हत्याको रहस्य

युवती हराएको भन्दै हल्ला फैलिएपछि १८ गते शनिवार रमिलाको माइतीघरमा पुगेर प्रहरीलाई हुलिया र हराएको निवेदन लेख्न गुरुङले नै लगाएका थिए । तर आफूमाथि अनुसन्धान केन्द्रीत हुन थालेको थाहापाएपछि गुरुङ भागेर इलाम पुगेका थिए ।

श्रीमानसँग सम्बन्ध बिच्छेद गरी बसेकी महिलासँग गुरुङको प्रेम सम्बन्ध थियो । महिला हराएको भन्दै रमिलाकी दिदीले सम्पर्क गर्दा गुरुङले फागुन १७ गते राति ११ बजे महिलालाई उनकै घरमा छाडिदिएको बताएका थिए । गुरुङले आफ्नो मान्छे हराएको भन्दै प्रहरीलाई खोजी गरिदिन आग्रह पनि गरेका थिए ।

तर ‘सिसी टिभी फुटेज’ हेरेपछि घटनाले बेग्लै मोड लियो । १७ गते राती ११ बजे घर आएको बताएका गुरुङको गाडी राती साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको देखियो । अनुसन्धानको सुई गुरुङ तिर सोझिएपछि उनी भागेर इलाम पुगेका थिए । इलामबाट पक्राउ परेका गुरुङले हत्या गरेको स्वीकार गरेका हुन् । नेकपा नेता गुरुङ एमाले बेलबारीका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया

Loading...