fbpx

बिखण्डन हुँदै गोल्छा घरानाको संयुक्त परिवार, मूल घर पनि अंशबण्डा हुँदै

विराटनगर, फागुन २२

नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गजनाइजेसनलाई संयुक्त सफल परिवारको उदाहरण मानिन्छ । परिवार एक भएर अगाडि बढेमा धेरैभन्दा धेरै प्रगति हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा पनि गोल्छा परिवारलाई ठानिन्छ ।

तर, संयुक्त परिवारको बसोवास, परम्परा र संस्कृति मात्र नभएर लगानीको समेत संयुक्त सहकार्यको उदाहरण बनेको गोल्छा समूह आजकल अलग–अलग भैसकेको छ । उनका ३५ भन्दा बढी उद्योगहरू नाति खलकहरूसम्म आइपुग्दा अंश लागिसकेका छन् । अहिले नाति खलकहरूले आ–आफनो अंशमा परेका उद्योग व्यापारहरू सम्हाल्ने गर्दछन् । रामलाल गोल्छा जिवित हुन्जेल उनीहरूले संयुक्त रूपमा पारिश्रमिक मात्र लिएर उद्योग व्यापार सञ्चालन गर्ने गरेका थिए ।

विस १९९२ तिर सानो पूँजी लिएर भारतबाट आएका रामलाल गोल्छाले सुरू गरेको व्यापार व्यवसाय कर्मवीर उद्योगी व्यापारी स्वर्गीय रामलाल गोल्छाले स्थापना गरेको नेपालको पहिलो र प्रतिष्ठित औधोगिक व्यापारी घराना गोल्छा समूहबाट सदस्यहरू अलग–अलग भएपनि विराटनगरमा रहेको मूलघरमासमेत संयुक्त परिवार छैन ।

बस्नका लागि गोल्छा हाउस परिसरमा रहेको तीन बिगाहा क्षेत्रको कम्पाउण्डमा रहेको मुख्य घरमा स्वर्गीय महेन्द्र गोल्छा, दिनेश गोल्छा र सुरेन्द्र गोल्छाको परिवार बस्दै आएका छन् । राजकुमार गोल्छा पछाडि बनेको अलग्गै घरमा बस्छन् । महेन्द्र गोल्छाको परिवारका लागि धमाधम नयाँ घर बनिरहेको छ ।

सडक बिस्तारले पुरानो घर खुम्च्यायो, आगलागीले सचिवालयको स्वरुप बदल्यो

विराटनगरमा रहेको गोल्छा हाउसमा रहेको सबैभन्दा पुरानो घर र सचिवालयको पुरानो आजकल स्वरुप फेरिएको छ । संस्थापक रामलाल गोल्छाले सबैभन्दा पहिले बनाएको एकतले टिनको छानो भएको पक्का घर सडक बिस्तार गर्ने क्रममा खुम्चिएको छ ।

सकेसम्म उक्त घरको स्वरुप बिग्रन नदिन कोसिस भएपनि भत्काएर नयाँ बनाउनु परेकोले स्वरुपमा परिवर्तन आएको छ । तर, उक्त घरमा भएको रातो टिनको छाना भने दुरुस्तै राखिएको छ । कथनअनुसार सबै मासे पनि र बंण्डा गरेपनि उक्त पुरानो घर आफ्नो निशानी भएकोले नमास्न स्वर्गीय रामलाल गोल्छाले परिवारका सदस्यहरूलाई निर्देशन गरेका थिए रे ।

तर, अंशबण्डा भएपछि उक्त घर कस्को भागमा पर्छ र संरक्षण हुन्छ, हुँदैन यकिनसँग भन्न सकिन्न । यस्तै हाउस परिसरमै रहेको अगाडी अलग्गै रहेको सचिवालयमा चार वर्षअगाडी विद्युत्त सर्ट हुँदा आगो लागेको थियो । पुर्नमरम्मत गर्दा स्वरुपमा केही परिवर्तन आएको छ ।

पछाडिपटि रहेको नयाँ घर

विराटनगरमा रहेको गोल्छा हाउस ३ बिगाहा जमिन परिसरमा छ । यहाँभित्र बगैंचासहित मूलघर र अन्य सहायक घरहरू छन् । संस्थापक रामलाल गोल्छाले बनाएको मूलघरलाई संरक्षण गरेर राखिएको छ । सँगै रहेको तीन तले महलमा हंसराजका छोराहरू दिनेश गोल्छा र उनकी भाउजू राजलक्ष्मी गोल्छा बस्दैछन् ।

हंसराजका अर्का छोरा राजकुमार र हुलासचन्दका छोरा सुरेन्द्र गोल्छा परिसरभित्र पछि बनाएको अलग्गै घरमा बस्छन् । राजलक्ष्मीका लागि पनि पछाडि अलग्गै महल बन्दैछ तर तैयार भइ नसकेकोले उनी सरिसकेकी छैनन् ।

तीन बिगाहा क्षेत्रफलमा भएको गोल्छा हाउसको कम्पाउण्ड वाल भएको उक्त घर जग्गा पनि अंशबण्डा हुने क्रममा छ । यसैले क–कसको भागमा कति–कति भागमा पर्छ त्यो यकिन भैसकेको छैन । रामलालका नाति तथा हुलासचन्द्रका गोल्छाका छोरा सुरेन्द्र गोल्छा भन्छन्, ‘अंशबण्डा टुंगि सकेको छैन यसैले मूलघर कसकोमा पर्छ त्यो चाँही भन्न सकिँदैन ।’

विराटनगरमा रहेको तीन बिगाहा क्षेत्रफलमा फैलिएको गोल्छा हाउस परिसरमा टेनिस कोर्ड, व्याटमिन्टन कोर्ड, जीमखाना, स्विमिंग पुल, बगैंचालगायतका सबै सुबिधाहरू छन् । अलग–अलग परिवारका भएपनि सदस्यहरू सामूहिक रुपमा खेल खेल्ने र आदानप्रदानमा रमाउने गर्दछन् ।

गोल्छा परिवारले विराटनगरमा रहेक वर्ष होलीमा अलबेली बरातलाई स्वागत गर्ने कार्यक्रम पनि गर्ने गरेको छ । त्यो बेला गण्यमाण्डहरूलाई बोलाए मिष्ठान्न भोजन गराएर होलीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

रामलालले बनाएको सानो घरको कथा

विराटनगरका रैथाने जेष्ठ नागरिक विश्वराज पाण्डेका अनुसार भारतको राजस्थानबाट आएका रामलाल गोल्छाले सुनसरीको कप्तानगञ्जतिर पटुवा (जुट) को व्यापार थालेका थिए । त्यो बेला उनी गाउँ गाउँमा घुमेर जुट संकलन गर्थे । पछि उनी जुटको व्यापारकै लागि विस १९९२ विराटनगर आए ।

विराटनगरमा उनी विश्वराजकै घरमा डेरा लिएर बसे । रामलालका जेठा छोरा हंसराज विश्वराजकै घरमा जन्मिए । उनको जुटको व्यापार फस्टाउँदै गयो । यसैले उनले कोइरीहरूसँग हाल गोल्छा हाउस परिसरमा रहेका ३ बिगाहा जमिन किने । र, त्यहाँ सानो टिनको छानो र माटोको बेरा भएको घर बनाएर बस्न थाले ।

सँगै उनले एकतले इँटाको गाह्रो भएको घर पनि बनाउन थाले । २००५ सालमा उनी काठको टिनको घरबाट सानो पक्काको घरमा सरे । जेठा छोरा हंसराजको त्यही साल सोही घरबाट बिहे गरेर बुहारी भित्र्याए । कर्मवीरको उपाधि पाएका रामलाल गोल्छाले भारत हुँदै तेस्रो मुलुकसँग पनि व्यापार बिस्तार गरेका थिए । र, नेपालमा पहिलो जुट उद्योगको स्थापना पनि गराए ।

रामलालले पहिलो कम्पनी हंसराज हनुमान मल (अहिले हंसराज एन्ड हुलासचन्द) कम्पनी स्थापना गरको थिए । उक्त कम्पनीले विराटनगरबाट सन् १९३१ मा व्यापार थालेको थियो । पोखरेलका अनुसार त्यो बेला दोस्रो विश्वयुद्धको समय थियो जुटको व्यापार समुन्द्रपारसम्म हुन थाल्यो ।

फोटो : विराटनगरमा रहेको गोल्छा हाउसको ठूलो घर, कार्यालय

गोल्छा र रिजाल परिवारले औधी पैसा कमाए । र, रामलालले सन् १९५५ सालमा पहिलेको माटोको घर भएको ठाउँमा भव्य महल बनाए । ठूलो घर बनाएर छोरा नातिसँगै उनी सरेपनि आफ्नो पुरानो टिनको घर भने उनले मासेनन् ।

जस्तोतस्तै संरक्षण गरेर राखे । विराटनगरवासीका अनुसार सानो घरमा सरेपछि नै रामलालको जुटको व्यापार औधी फस्टाएको थियो । पहिले जुट संकलन गरेर थोकमा बिक्री गर्ने रामलालले असाम एक्सप्रेसबाट जुट सोझै भारत निर्यात गर्न थालेका थिए । पछि विश्वयुद्धको प्रभावले गर्दा तेस्रो मुलुकमा पनि नेपाली जुटको माग बढ्यो र उनले तेस्रो मुलुक जुट निर्यात गरेर औधी पैसा कमाएका थिए ।

त्यही पैसाले पछि उनले र उनका छोराहरूले उद्योगमा लगानी गरेका थिए । हिन्दू जैन धर्ममा विश्वास गर्ने रामलालले त्यो घरलाई लक्षणको मानेका थिए ।

जस अपजसले गर्दा नाति पुस्तामा मनमुटाव

गोल्छा समूहका हालसम्म एक सयभन्दा बढी कम्पनीहरू छन । रामलाल गोल्छा जिवित हुन्जेल उनीहरूको परिवार संयुक्त थियो । सामूहिक खाना खाने र अग्रजको निर्णय मान्ने परम्परा थियो । रामलालको मृत्युपछि परिवार पनि बिस्तार भएर काठमाण्डौ र विराटनगरतिर वसोबास गर्न थाल्यो । र, पनाति खलकसम्म आइपुग्दा संयुक्त परिवार क्रमशः विभाजनमा पुग्यो ।

सगोलमै व्यापार गरिरहेको गोल्छा परिवारमा रामलालका नाति पुस्ताबीच जस अपजस, धेरै कमाउने र थोरै कमाउने अवसर र विभेद आदि अनेक कारणले मतभेद बढ्न थाल्यो । परिवारमा बढेको अपजसपछि संयुक्त परिवारबाट अंशबन्डाको अधिकारसम्म पुग्यो । अहिले संस्थापक रामलालको जगमा दुई छोरा हंशराज र हुलासचन्दले चुल्याएको व्यवसायिक साम्राज्य नौ छोरा र छोरीमा भाग लागेको छ ।

हंशराजका पाँच र हुलासचन्दका चार छोरा छन् । रामलालको छोरीतर्फकी नातिनी ज्वाइँ ज्ञानचन्द दुगडलाई पनि सम्पत्ति भागबन्डमा परेको छ । गोल्छा घरानाका सदस्यहरूका अनुसार अंशबण्डा हुनुभन्दा पहिले व्यवस्थापनको जिम्मा लिने परिवारको सदस्यलाई तलब दिने, आम्दानी र ऋण परिवारको हुने स्थिति बाँधिएको थियो ।

नाफा–घाटामा असन्तुष्टि भए पनि संयुक्त छलफलबाट टुंगिन्थ्यो । तर, असन्तुष्टि बढ्दै गएपछि चाँही अन्नतः अंशबण्डा भएरै छाड्यो । हाल गोल्छा अर्गनाइजेशनका उद्योग र कम्पनीहरूको बण्डा भैसके पनि अझै थातथलो रहेको विराटनगरको तीन विगाहा क्षेत्रफलमा रहेको घर जग्गा र सचिवालय पनि अंश हुन बाँकी छ । सदस्यहरुका अनुसार त्यसको पनि प्रक्रिया अगाडी बढिसकेको छ र चाँडै कसको भागमा कति जमिन पर्छ भन्ने टुंगो लाग्ने छ ।

कसको भागमा के–के उद्योग कम्पनी

दिवाकर गोल्छा— हुलास स्टिल (सिमरा), नेपाल बोर्ड्स (सिमरा), अग्रणी अल्मुनियम (विराटनगर), भृकुटी कागज कारखाना (नवलपरासी), श्रीराम सुगर मिल (रौतहट), इस्टर्न सुगर मिल (सुनसरी) र हुलास वायर दिवाकरलाई हिमांशु र हितेश गोल्छाले सघाइरहेका छन् ।

शेखर गोल्छा — बजाजको आधिकारिक बिक्रेता कम्पनी एचएच बजाज, केटिएम बाइक, सर्बो, हिम इलेक्ट्रोनिक्स (सामसुङको आधिकारिक बिक्रेता तथा एसेम्बल्ड), औषधि उद्योग, हुलास इन्भेस्टमेन्ट आदि

चन्द्रकुमार गोल्छा— हुलास इन्जिनियरिङ र सिमेन्ट उद्योग । चन्द्रकुमारका छोरा भरत र शरद पोखरामा जिप फ्लाई र बन्जी चलाउँछन् ।

सुरेन्द्र गोल्छा— हुलास मोर्टस, हुलास, खाद्यन्न उद्योग । उनलाई छोरा धिरजले सघाउँछन् ।

सुरेन्द्र गोल्छा

सञ्जय गोल्छा — आईटी कम्पनी हेरिरहेका छन् ।

लोकमान्य गोल्छा — फोर्ड, डाइहात्सु गाडीको व्यापार हेर्छन् । छोरा आकाशले सघाउँछन् । उनी रासायनिक मललगायत विभिन्न वस्तुको आयात निर्यात व्यापारमा पनि संलग्न छन् । छोरा हेमन्तले हाउजिङ निर्माण कम्पनी र हुलास रेमिटेन्स उद्योगमा सघाउँछन् ।

दिनेश गोल्छा— ईस्टर्न सुगर मिल्स, पानी, हुलास मेटल । छोरा रवी र देवाशीषले सघाउँछन् । उनीहरूले इलेक्ट्रिक मोटरसाइकल बिल्डर्स हार्डवेयरलगायत विभिन्नि बिजनेस पनि गर्छन् ।

दिनेश गोल्छा

महेन्द्र गोल्छाकी पत्नी राज्यलक्ष्मी गोल्छा—विराटनगरमा रहेको यूरो किड्स स्कूल । महेन्द्रका चार छोरी र एक छोरा छन् । छोरा अझै व्यवसाय सम्हाल्ने भइसकेका छैनन् । एक जना छोरीले विदेशीसँग विवाह गरेकी छन् । उनका पति महेन्द्रले स्थापना गरेको हुलास वायर महेन्द्रको मृत्युपछि राजलक्ष्मी र उनकी छोरीले हेर्न थालेका थिए । तर, पछि उक्त उद्योग दीवाकरले आफ्नो भागमा पारे । अहिले हिमांशुले उक्त उद्योग हेर्छन् ।

राजकुमार गोल्छा— जुट उद्योग अरिहन्त मल्टिफाइवर (जुट उद्योग), रघुपती जुट मिल । उनलाई जेठी छोरी एकताले सघाउँछिन् । एकताआईटी विजनेशमा पनि हेर्छिन् । अक्सफोर्डमा पढेर पनि उनि नेपालमै केही गरौँ भनेर आएकी हुन् ।

नाति राजकुमार गोल्छा भन्छन्ः

पहिले गोल्छा समूहका सदस्यहरू सबैका आ–आफ्ना जिम्मामा पाएको काम हेथ्र्यौँ । हजुरबुबा रामलाल गोल्छाले सिँगो परिवारलाई एउटा संस्था बनाएर काम गरेको पारिश्रमिक पाउने र सम्पत्ति व्यक्तिको हैन संस्थाकै हुने नियम बनाउनु भएको थियो । यसैले जस्ले जति उद्योग व्यापारम नाफा गथ्र्यो उसले उति कमाउँथ्यो । तर, उद्योग व्यापारमा आएको उतार चढावले सामूहिकता विभाजित हुन बाध्य बनायो । तर, कर्म बिभाजित भएपनि घरानाको रितिथिती र मन भने विभाजित भएको छैन ।

नाति राजकुमार गोल्छा
रामलाल गोल्छा– आँखा अस्पताल मात्र सामूहिक

विराटनगरमा रहेको रामलाल गोल्छा आँखा अस्पताल मात्र अहिले गोल्छा अर्गजनाइजेसनका नामबाट चलिरहेको छ । यहाँ किड्नी सेन्टर पनि संचालनमा छ । नेपाल र भारतका बिरामीहरूको आँखा उपचारमा पण्डित मेघनाथ मार्गमा रहेको गोल्छा आँखा अस्पताल प्रसिद्ध छ ।

नाति सुरेन्द्र गोल्छा भन्छन्:

मूल घर अंश नलाउनु भनेर हजुरबाले भन्नु भएको छ जस्तो लाग्दैन । अंशबण्डा हुने तैयारीमा छ । कसको भागमा के पर्छ त्यो टुंगो लागिसकेको छैन । अंश लागेपनि हामीले हजुरबुवाको पुरानो घरको अस्तित्व चाँही मेटाउन चाहदैँनो । त्यो हाम्रो पुर्खाको निशानी हो ।

नाति दिनेश गोल्छा भन्छन्ः

सानो घर हजुरबाले बनाउनु भएको हो । मैले सुनेअनुसार बुबाको बिहे त्यही घरबाट भएको हो रे । त्यो घर अहिले गोल्छा अर्गनाइजेसनले नै संयुक्त रुपमा संरक्षण गर्दै आइरहेको छ । पछि अंशमा कस्को भागमा पर्छ र के हुन्छ अहिले नै त भन्न सकिँदैन । परिवार बढ्दै गएपछि ठाउँ पनि साँघुरो हुँदै जानु र अंश लाग्नु स्वभाविक हो । हजुरबुबाले त त्यो घर मात्र हैन सबै उद्योग, कम्पनी र सम्पत्ति सबैले मिलेर रक्षा गर्नु भन्नु भएको थियो, जुन सबैका बुवाआमाले भन्छन् ।

गोल्छा घरानाको ग्राफ

हजुरबुवा तथा संस्थापक — रामलाल गोल्छा (स्वर्गीय)
रामलाल गोल्छाका छोराहरू— हंसराज र हुलासचन्द
हंसराजका छोराहरू– लोकमान्य, दीवाकर, महेन्द्र, दिनेश र राजकुमार
हुलासचन्द्रका छोराहरू — चन्द्रकुमार, सुरेन्द्र, शेखर र सञ्जय
हंसराजका पनातिहरू— हेमन्त र अकाश ( लोकमान्यका छोरा) । हितेस र हिमांशु (दीवाकरका छोरा) । प्रेक्षा, युक्ति, पारस, कृतिका र न्यान्दा ( महेन्द्रका छोराछोरी) । रवि, देवाशिष, मेघा (दिनेशका छोराछोरी) । एकता , कोमल , आश्विनी (राजकुमारका छोरीहरू ।
हुलासचन्द्रका पनातिहरू — भरत, शरद, अभिज्ञान (चन्द्रकुमारका छोराहरू) । धिरज, अनुज्ञा, मुदित (सुरेन्द्रका छोराछोरी । अभिमन्यू र गरिमा (शेखरका छोराछोरी । हिमशिखा (सञ्जयकी छोरी ) ।

प्रतिक्रिया

Loading...