fbpx

मोफसलमा नाटकको क्रेज हामीले बढाएका छौँ : कट्वाल दीपक (अन्तरवार्ता)

विराटनगर, फागुन २१
२०७० सालमा नैना उपन्यासमार्फत् नेपालकै कम उमेरको लेखकको रूपमा आफूलाई चिनाउन सफल कट्वाल दीपकले आफुलाई पूर्वका चर्चित नाट्यकर्मी तथा साहित्यकारका रुपमा चिनाएका छन् ।

‘च्यातिएको मोजा’ कथा संग्रह प्रकाशनको तयारीमा रहेका उनले ‘छिँडीभरिको आकाश’ र ‘मुनामदन’ नाटकको नाट्य लेखनसमेत गरेका हुन् । उनका दुवै नाटक पूर्वमा अहिलेसम्मकै सर्वाधिक हिट नाटकमा पर्छन् ।

विराटनगरस्थित महेन्द्र मोरङ कलेजमा पत्रकारिता पढ्दै गरेका उनी विराट आदर्श साहित्यिक मञ्चका सफल अध्यक्षसमेत हुन् । नाटक र साहित्यको माध्यमबाट पूर्वमै ख्याती कमाएका उनै कट्वाल दीपकसँग कोशी अनलाइनले गरेको छोटो कुराकारी यहाँहरूमाझ प्रस्तुत छ…

भर्खरै नाटक ‘मुनामदन’बाट सफलता पाउनु भएको छ, अहिले के मा ब्यस्त हुनुहुन्छ ?

लेखन यात्रामै ब्यस्त भएको छु । केही पाठक र अग्रजहरूले अर्को पुस्तक पढ्ने चाहना गरिरहनु भएको छ । दोस्रो कृति ‘च्यातिएको मोजा’ लेखनका साथै पढाइतिर ब्यस्त भएको छु ।

विराटनगरमा अगाडि मञ्चन गरिएका नाटकहरूमा दर्शकको उपस्थिति न्यून हुने गरेको थियो । ‘छिँडीभरिको आकाश’ र ‘मुनामदन’ २–२ पटक मञ्चन गरिसक्नु भएको छ, के विराटनगरमा नाटकको क्रेज बढेकै हो त ?

काम राम्रो गर्नुपर्छ सफलता आफैँ आउँछ भन्ने उदाहरण हो, हामीले गरेका कामहरू । दर्शकको क्रेज बढेको हो भन्दा पनि हामीले मोफसलमा दर्शकको क्रेज बढाएका हौँ भन्दा उत्तम होला । अरूले पनि नाटक गरेका छन् तर हामीले गरेका नाटकहरू दर्शकले रुचाउनु राम्रो काम गरेको उदाहरण हैन र ?

तपाईंले भन्न खोज्नु भएको तपाईंका नाटकहरू चर्चित हुन्छन् ?

मैले त्यस्तो भन्न खोजेको हैन । नाटक अरूका पनि चर्चित हुन्छन् तर हामीले अरूभन्दा फरक धारका नाटक रोजेका छौँ, जस्ले समाजलाई र आम दर्शकलाई केही कुरा सिकाओस् । हामीले अरूभन्दा राम्रो काम गरेका छौँ त्यहीँ भएर दर्शकको अपार माया पाएका छौँ ।

विराट आदर्श साहित्य मञ्चको अध्यक्ष पदमा हुनुहुन्छ, मञ्चलाई आगामी दिनमा कसरी अगाडि लैजानुहुन्छ ?

विराट आदर्श साहित्यिक मञ्च नितान्त कला, साहित्य र रङ्गमन्चप्रेमी युवाहरूको संस्था हो । हामीले मञ्चलाई पूर्वमा मात्र नभएर देशकै चर्चित संस्थाका रूपमा परिचित बनाउने योजनामा छौँ । चाँडै नै ‘मुनामदन’ नाटकलाई पोखरा, चितवन र धरानमा मञ्चकै आयोजनामा मञ्चन गर्दैछौ ।

मञ्चमा युवाहरूको आगमन पनि उत्तिकै बढिरहेको छ । आगामी कार्यक्रमका रुपमा मञ्चले ‘मञ्च एक प्रतिभा अनेक’, ‘स्रस्टा र सिर्जना’ अन्तरविद्यालय नाटक प्रतियोगिता जस्ता कार्यक्रमको आयोजना गर्ने योजनामा छौँ ।

साहित्य के हो जस्तो लाग्छ तपाईंलाई ?

सबैका आ–आफ्नै परिभाषा छन् । मलाईं चाँही जीवन भोगाइको एउटा अनुभूति हो जस्तो लाग्छ । साहित्य जसले समाजमा घटेका घटना र भोगाइको मार्ग दर्शन गर्दछ ।

छोटो उमेरमै सफलता पाउनु भयो । पढाइसँगै साहित्य र रङ्गमञ्चलाई रोज्नु भएको छ, कत्तिको समस्या आइपरेका छन ?

यसलाइ सफलता भन्न मिल्दैन । दर्शक र आदरणीय ब्यक्तिहरूको माया हो भन्दा अझ ठीक होला । अवश्य समस्या आउँछ, जुन काममा समस्या छ त्यो काम दीपकले गर्छ । पढाइसँगै रङ्गमञ्चमा सक्रिय छु । हाम्रो समाजले अझै रङ्गमञ्च बुझेको छैन र यो क्षेत्रनै समस्याको क्षेत्र हो । यसैबाट सहजरुपमा बाँच्छु भन्ने वातावरण बनिसकेको छैन अझै ।

साहित्य र रङ्गमञ्च मै जीवन बिताउनु हुन्छ त ?

अहिले यसै गर्छु भन्न सकिन्न । समयले हेरौँ कतातिर लैजान्छ । तर, कट्वाल दीपक र साहित्य एक अर्काका परिपूरक हुन् । यसलाई छोड्न पनि सक्दिँन । हुनसक्छ पेशा अर्को होला तर साहित्य र रङ्गगमञ्चमा काम चै जिन्दगीभर गरिरहन्छु ।

तपाईंको अर्को नाटक कहिले हेर्न पाउँछन् त दर्शकले ?

मैले गरेका नाटकहरूले दर्शकलाई केही सिकाओस् भन्ने चाहना हो मेरो । भन्न खोजेको केही सन्देश देओस् । कट्वाल दीपकले गरेका नाटकहरूले एउटा बेग्लै छाप छोडेका छन् र चर्चित पनि भएका छन, जुन अर्को नाटकले पनि कायम गरोस् भन्ने चाहाना हो । अहिले नै भनेर भन्न नसके पनि फेरि एउटा उत्कृष्ट नाटक लिएर दर्शकको माँझमा आउँछु ।

अन्त्यमा के भन्न चाहानुहुन्छ, तपाईंका शुभचिन्तकहरूलाई ?

‘मुनामदन’लाई एउटा सफलताको उचाइमा प¥याइदिनु भएकोमा सम्पूर्णलाई म धन्यवाद भन्न चाहन्छु । तपाईं हामी सबै मिलेर साहित्य र रङ्गमन्चको विकासमा जुटौ, कलाको सम्मान गरौँ र फेरि अर्को नाटकमा तपाईंहरूको साथ सहयोगको खाँचो छ उस्तै रूपमा सहयोग पाउँछु भन्ने आशा गरेको छु ।

Koshi Online

FREE
VIEW