fbpx

आमाको काजकिरियामा आफैं बसेकी सांसद उषाकला राई भन्छिन्, ‘समाजलाई प्रगतिशिल बनाउन सफल भएँ।’

एक नम्बर प्रदेशको दुर्गम जिल्ला खोटाङकी उषाकला राई एक नम्बर प्रदशसभा सदस्य हुन् । विज्ञान, कानून, समाजशास्त्रदेखि संस्कृत विषयको समेत ज्ञाता उनी संस्कृत विश्वविद्यालयबाट ‘महिलाको वंश अधिकारसम्बन्धि अवधारणा र महाभारतकालिन परम्परा बीचको तुलनात्मक अध्यन’ बारे विद्यावारिधी गर्ने पहिलो महिला पनि हुन् ।

संविधानसभामा सांसद रहँदा महिला अधिकार ककसको नेतृत्व गरेकी उषाकलाले भर्खरै आमा लक्ष्मी राईको मृत्यू संस्कार आफैं कर्ता बनेर सम्पन्न गरिन् । परम्परासँग विद्रोह गरेर आमाको काजकिरियामा सम्पन्न गरेकी उनले आफ्नो मृत्यु संस्कारको अनुभव यसरी सुनाइन् :

यसैले आमाको किरियामा बसेकी हुँ

आफ्ना आमाबाबुको पिर्तकर्म (मृत्यु संस्कार) गर्न पाउनु सबै सन्तानको समान अधिकार हो । यसमा छोरा र छोरी भन्ने कुरै आउँदैन । बेद शास्त्रमा यस्तो कतै उल्लेख पनि छैन । फेरि म बुवाआमाको एक मात्र सन्तान हुँ । यसैले आमाको मृत्युकर्म गर्नु मेरो पूर्ण अधिकार थियो ।

वास्तवमा भन्नुपर्दा चैं परिवर्तन आफैबाट सम्भव हुँदोरहेछ । र, हामीले आँट पनि गर्नुपछ । र, सकारात्मक कुरामा सबैले साथ दिँदा रहेछन् । त्यसमा आफूले अलिकति आँट गर्नुपर्दोरहेछ ।

बैदिक कार्य गर्नु सन्तानको कर्तब्य, निष्ठा, धर्मको कुरा हो । बेदमा छोराले होस् या छोरीले होस् काज किरिया गर्न मिल्छ भनको छ । यसैले मेरी आमाको निधन भएपछि केश मुण्डन गरेर मेरो आत्मसन्तुष्टिका लागि, मेरी आमाको सम्मानका लागि आमाको चीर शान्तिका लागि मैले काज किरियामा बसेकी हुँ ।

मलाई अचम्म लाग्छ, अझै मानिसहरू छोरीले काजकिरिया गर्न हुँदैन भनिरहेका छन् । यत्रो मुलुकमा परिवर्तन भइसक्यो । हामीले संघीय लोकतन्त्र, गणतन्त्र प्राप्त गरिसक्यौं । जनताका लामो संघर्ष, त्याग, तपस्या, बलिदानका बाबजुद पनि यत्रो राजनीतिक रुपमा मुलुकमा परिवर्तन भयो । तर, यति सानो कुरामा हामी अड्किरहेका छौं । यी साना कुरामा नै हामी अड्किरेहका छौं । पहिलो शर्त भनेको विभेद र अन्याय अत्याचार अन्त्य गर्ने कुरा हो । यस्ता संकुचित रुढिबादी कुराहरू हामीले उखेर फाल्नुपर्छ ।

अर्को मैले समाजमा छोरीमाथि हुँदै आएको समाजिक सांस्कृतिक विभेदहरु सबै बुझेको भोगेको छु । जनजाति समुदाय पनि छोरी प्रति अझै पूर्ण उदार छैनन् । पित्तृसत्ताको प्रभाव चर्को दवाव कायमै छ । यसैले ती सबै विकृतीलाई चुनौती दिन म आमाको काजकिरिमा बसेकी हुँ । म जे पढियो, बुझियो त्यो जीवनमा लागू गर्नुपर्छ भन्ने मान्यता राख्छु ।

बाधा आए तर कसैसँग डगिन

प्रत्यक्ष बाधा नआएपनि अप्रत्यक्ष रुपमा धेरै बाधा आए । तर, म कसैसँग डगिन । जब मैले आमाको काजकिरिया आफैं गर्ने निर्णय गरे तब केही आफन्तहरूमा हलचल भएछ । उनीहरूले घुमाउरो पाराले किरियामा बस्न हुँदैन भन्ने सन्देश गरे । तर, मैले आफ्नो निर्णय परिवर्तन गरिँन । मलाई कपाल नखौरन पनि भनियो । तर, मैले पुुरुषले सधैँ कपाल काट्न खौरन हुने तर महिलाले आफ्नो वंशको अधिकारका लागि किन नहुने भन्दै अडान लिएर मुण्डन गरेरै बसेँ ।

एकदमै सकारात्मक । पहिलो कुरा त मेरो कामबाट मेरा बुबा धेरै खुशी हुनुभयो । त्यसपछि मेरा काका मेरो समाज धेरै नै खुशी भएको पाएँ । वास्तवमा भन्नुपर्दा चैं परिवर्तन आफैबाट सम्भव हुँदोरहेछ । र, हामीले आँट पनि गर्नुपछ । र, सकारात्मक कुरामा सबैले साथ दिँदा रहेछन् । त्यसमा आफूले अलिकति आँट गर्नुपर्दोरहेछ ।

हामी र हाम्रो समाजमा धेरैमा कु–संस्कारहरु छन् । त्यो कु–संस्कारहरुमा तुरुन्तै नराम्रा कुराहरुलाई छाड्ने र राम्रा कुराहरुलाई हामीले अवलम्बन गर्ने कुरामा हामीले अगाडि बढ्नु पर्छ । मैले मेरी आमाको देहान्त हुँदा मैले केश मुण्डन गरेर, सेतो बस्त्र धारण गरेर, १३ औं दिन बारेकी छु र म हाल ४५ औं दिन बार्नेक्रममा छु । र, सबैतर्फबाट मलाई सकारात्मक सहयोग प्राप्त गरेकी छु । मलाई सबैले साथ दिनुभयो । यसमा मिडियाको पनि उल्लेखनीय साथ रह्यो ।

मृत्यू संस्कार नगर्दा कम्युनिष्ट होइँदैन भन्ने गलत हो

आमा बुवाको वा आफन्तको मृत्यू सस्कारमा सहभागी हुँदा कम्युनिष्ट होइँदैन भन्ने सोच गलत हो । असल कम्युनिष्ट हुन त असल चरित्रको पो हुनुपर्छ त । भ्रष्टचारी व्यभिचारी पो हुनुहुँदैन त । शोषण दमन पो गर्नुहुँदैन त । आफना पितृलाई सम्मान प्रकट गर्दा के को कम्युनिष्ट विचार बिरोधी ? मैले आफूले बुझेको कुरा चैं के हो भने मेरो आमाको काज किरिया कसरी गर्ने भन्ने कुरा मेरो आफ्नो निर्णय हो र मेरो आफ्नो चिन्तनको कुरा हो । मलाई यस्तै लाग्यो । यो मेरो अधिकारको कुरा हो ।

आमा बुवाको वा आफन्तको मृत्यू सस्कारमा सहभागी हुँदा कम्युनिष्ट होइँदैन भन्ने सोच गलत हो । असल कम्युनिष्ट हुन त असल चरित्रको पो हुनुपर्छ त । भ्रष्टचारी व्यभिचारी पो हुनुहुँदैन त । शोषण दमन पो गर्नुहुँदैन त । आफना पितृलाई सम्मान प्रकट गर्दा के को कम्युनिष्ट विचार बिरोधी ?

कसैले आफ्नो आमाबाबुको किरिया एकैदिनमा सक्छन् भने मलाई यसमा टीकाटिप्पणी गर्नु छैन । उहाँहरुको खुशीको कुराको हो । मलाई मेरो आमाको किरया गर्न यसरी नै मन लाग्यो र गरेँ । यो मेरो आमाको शान्तिको लागि, आमाको स्वर्गबासको लागि र मेरो आत्माको सम्मानका लागि मैले यसो गरेकी हुँ ।

जहाँसम्म परम्परागत तरिकाले किन मृत्यु संस्कार गरेको यसलाई वैज्ञानिक तरिकाले गरेको भए हुँदैनथ्यो भन्ने तर्क पनि छ । तर, मलाई लाग्छ मृत्यु संस्कार आफैं विज्ञान हो । बैदिक काज किरिया कर्मलाई वैज्ञानिक विधि अपनाउन सकिन्न र भन्ने जुन कुरा छ त्यो गलत त होइन तर मान्छेको आत्मा र मान्छेको जीवन नै विज्ञान हो । त्यसकारण विज्ञान सँगसँगै मान्छेको भावनको कुरा पनि छ ।

मान्छेभित्र समवेदना, संवेग, माया, प्रेम, सद्भाव लगातयत हुन्छ । यो विज्ञानसँग नै सम्बन्धित विषय हो । यसैले आमाबाबुको काजकिरिया आफ्नो जाति धर्म, परम्पराअनुसार गर्नु गलत होइन । मैले बुझेको हाम्रो बेदग्रन्थहरू गलत हैनन्, वेद शास्त्रलाई गलत व्याख्या गरेर जाली नीति नियम बनाउने मनुस्मृति जस्तो मुनीहरू गलत हुन । उनीहरु दलाल थिए । यसैले महिला र दलितहरूलाई अछुत बनाए ।

ति गद्धारहरुकै कारण शास्त्रमा बिसंगती भित्रिएको हो । यसैले बैदिक कर्मगर्दा कम्युनिष्ट होइँदैन भन्ने भन्दा पनि धार्मिक समाजिक विभेदहरु हटाउन लागिपर्नुपर्छ । अझै कायमै रहेको छाउपडी र छुवाछुत निर्मूल पार्न सबै लागिपर्नुपर्छ ।

किरिया पुत्री बसेर समाजलाई प्रगतिशिल बनाउन सफल भएँ

मैले संस्कृतमा विद्यावारिधी गर्ने कारण पनि धर्मशास्त्रभित्रका छिद्रहरूलाई बुझेर विश्लेषण गरि महिलाको अधिकार स्थापित गराउनु हो । यसैले मैले त्यसलाई व्यवहारिक रुपमा कार्यन्वयन गराउन खोेजेको हुँ । जहाँसम्म मलाई लाग्छ मैले किरियामा बसेर समाजमा नजिर बसाएको छु । किराँती संस्कारभित्रका विकृतीहरुलाई हटाउन सफल भएको छ ।

मैले मृत्यु संस्कारमा गरिने रक्सी मासुको भोज पूरै बर्जित गराउन सफल भएँ । फलैंचा बनाएर त्यहाँ राँगाको रगत चढाउने परम्परालाई तोडेर आमाको नाममा दश लाखको अक्षय कोष स्थापना गराएँ । मलाई लागेको छ, मैले गरेको संघर्षले मेरो समुदायभित्र मात्र नभएर बाहिरका महिलाहरूको पनि आत्मबल बढाएको छ । अबदेखि छोरीहरू पनि सहज रुपमा आमाबाबुको संस्कार गर्न सक्छन् भन्ने मान्यता स्थापित भएको छ ।

पण्डित र बिजुवाहरूले चलाएका खराव चलनहरू हटाउन सकिन्छ भन्ने पनि प्रमाणित भएको छ । हामीले कुनै राँगा सुँगुर काटेनौं, रक्सी चढाएर भोजभतेर गरेनौं, पित्तृकालागि राँगा कुखुराको रगत चढाएनौं । पटक–पटक मिटिंग बसैर खराब चलनलाई त्याग्न लगायौं । मलाई मेरो श्रीमान् शेरबहादुर तामाङ र बुबाले पनि खुब साथ दिनुभयो । हामी अन्र्तजातिय विवाह गरेका श्रीमान्–श्रीमतीलाई कुलले समान दर्जा दिन बाध्य भयो । यसैले मेरो प्रयास सांस्कृतिक परिवर्तनका लागि ‘ब्रेक थू्र’ जस्तै भयो ।

महिलाहरूमा वंशको अधिकार स्थापित गराउन सघायो

जहाँसम्म किराती चेली भएर किन हिन्दूविधि जस्तै मृत्युसंस्कार गरेको भन्ने कुरा छ यसमा म प्रष्ट छु, मैले धर्म सस्कारमा चोट पुर्याएको छैन । मैले संस्कृतमा पिएचडी गर्न थालेपछि पनि धेरैले किराँतीकी छोरी भएर किराँत धर्मग्रन्थ, संस्कृति र सभ्यता छाडेर किन संस्कृतमा पिचएडी गर्नु पर्यो भनेर भनेका थिए । र, म कपाल खौरेर सेतो बस्त्र धारण गरेर किरियामा बस्दा कसैले त उषाकलाले प्रचारका लागि यो सबै प्रोपोगण्डा गर्दैछे पनि भने अरे ।

पहिले कुनै पनि धर्ममा लैगिक र जातिय विभेद थिएन । पछि मात्र प्रवेश पाएको हो । बैदिक कालमा आमाको नामबाट वंश चलेको थियो । महाभारतकालमा कुन्तिपुत्र भनिनुले पनि त्यो प्रमाणित हुन्छ । त्यो बेला जुन घरमा स्त्रीको बास हुन्छ त्यो घरमा ईश्वरको वास हुन्छ भन्ने मान्यता थियो । र, हाम्रो किराँत धर्ममा पनि यसको कुप्रभाव छिर्न सफल भयो । म त्यसलाई हटाउनका लागि पहिला गहन अध्यन गर्न चाहन्थेँ ।

मेरो पिएचडीको सोधको उद्देश्य महिलाहरूको गुमेको वंशको अधिकारलाई फर्काउन सहयोग पुर्याओस् भन्ने हो । र, मैले आमाको किरया बसेर त्यही उद्देश्यलाई पूरा गराउने प्रयास मात्र गरेकी हुँ । र, जहाँसम्म लाग्छ म आफनो समाजमा महिलाको बंशको अधिकार स्थापित गराउन सफल भएको छु । अबदेखि सबैले यसको अनुशरण गरुन् । किनभने समाजमा सबैखाले बिभेद अन्त्य गराउन सकारात्मक विभेदमा आधारित भएर लागिपर्नुपर्छ ।

आपसी अस्तित्व सबैले स्वीकार्नुपर्छ । धर्ममा भएका बिकृती अन्त्य गराउनुपर्छ । महिला र पुरुषको सहभागिता समान गराउन व्यवहारिकरुपले नै प्रमाणित गराएर लागिपर्नुपर्छ । स्थापित नजिरहरूलाई अनुशरण गर्न लगाउनुर्छ । अनि मात्र समाजमा सकारात्मक बिभेद स्थापित हुन्छ ।

प्रतिक्रिया

Loading...