fbpx

म अख्तियार प्रमुख भएँ भने धेरै भ्रष्टाचारीले देश छाड्छन् : प्रेमप्रसाद सञ्जेल (अन्तरवार्ता)

विराटनगर निवासी नेपाल सरकारका कर्मचारी प्रेमप्रसाद सञ्जेल यतिबेला चर्चामा छन् । श्रम तथा रोजगार कार्यालय बिराटनगरमा हाजिर भएको दुई महिनामा काज सरुवा भएपछि उनी चर्चामा आएका हुन् । आफ्नो अनियमित सरुवा भएको भन्दै उनले बदर गराउन पत्रकार सम्मेलन मात्रै गरेनन् निजामती सेवा ऐन नियमावलीविरुद्ध आफूलाई सरुवा गरेको भन्दै निरन्तर मन्त्रालयमा ताकेता पनि गरिरहेका छन् । र, न्याय नपाए उनले अदालत जाने चेतावनी पनि दिइसकेका छन् ।

श्रम कार्यालय विराटनगरमा निमित्त रहिसकेका कारखाना निरीक्षक मणिनाथसँग उनको झिनाझम्टि नै चल्यो । सञ्जेल आफूलाई भ्रष्टचार विरोधी कर्मचारी र नागरिक मात्र बताउँदैनन् निरन्तर अभियान पनि चलाइरहेका छन् । अनियमित सरुवा भएको भन्दै खटाएको ठाउँ नगएका उनी आजकल समाजिक सञ्जालमार्फत सेलिब्रेटी नै बनेका छन् । कसैको नजरमा सन्काहा र खुस्केट भनेर चिनिएका उनै उपसचिव सञ्जेलसँग कोशी अनलाइनले गरेको कुराकानी

काज सरुवा गरिएको ठाउँमा अझै किन नजानुभएको ?

निजामती सेवा ऐन दफा १८ को उपदफा खण्ड ख अनुसार मेरो सरुवा सरुवा गैरकानूनी छ । त्यसविरुद्ध मैले सरकारकै मेसिनरीमा उजुरी गरेको छु, त्यहाँबाट न्याय नपाए म अदालतमा जान्छु र अदालतबाट पनि हारे भनेमात्र म विचार गर्छु । तर, म अनियमित काज सरुवा गरेको ठाउँमा म कुनै हालतमा जान्न ।

राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको ठाउँमा खुरुक्क जानु कर्तव्य होइन र ? यसरी जोरजवर्स्ती जान्न भन्न पाईन्छ ?

बिल्कुलै हो । तर, खटाउने मान्छेले कानून विपरीत खटाउन पनि भएनन् नि ।

अर्को ठाउँमा गएर पनि आफ्नो ईमान्दारिता देखाउन पाईहाल्नुहुन्थ्यो नि, नियोजित प्रोपोगण्डा गरेर आफैँले जोरी खोज्नु भएको त हैन ?

तपाईंको कुरासँग शतप्रतिशत सहमत छु । तर, नियम कानून मान्छेलाई दुई वर्ष बस्नुपर्ने ठाउँमा ७० दिनमा सरुवा गर्नु गैरकानूनी कार्य हो । र, त्यसको विरुद्ध लड्नु मेरो कर्तव्य हो । अन्याय गर्नुभन्दा पनि सहनुभन्दा ठूलो अपराध हो त्यसैले म अन्यायविरुद्ध लडेको हुँ । सरकारको नीति नियम र निर्देशनको अवज्ञा गरेको कदापी हैन ।

तपाईंको मात्र हैन धेरैको आकस्मिक सरुवा हुने गरेको छ, तर विभागले काज सरुवा गरेपछि तपार्इं प्रमुख रहेको श्रम तथा रोजगार कार्यालयका कर्मचारी मणिनाथ गोपको चाँही किन मानमर्दन गर्नुभएको, के को रिस थियो ?

मैले कसैको मानमर्दन गर्ने प्रश्नै आउँदैन । र, मेरो सवाल भनेको कसैको व्यक्ति हैन, मैले त भ्रष्टचारविरुद्धको अभियान सञ्चालन गरेको हुँ । मणीनाथ गोप अर्थात् अरु कोही पनि कर्मचारीको म मानमर्दन गर्ने प्रवृत्ती, प्रक्रियामा म बिल्कुलै छैन ।

मेरो मान मर्दन भयो, प्रमुखले झुठो आरोप लगाए भनेर गोपले पनि पत्रकार सम्मेलन नै गरेर प्रतिवाद गरेका थिए । तपाईं के भन्नुहुन्छ ?

उहाँले भन्नुभयो होला, अहिले विचार अभिव्यक्तिको स्वतन्त्रताको छुट सबैलाई छ । आफ्नो विचार राख्न छुट छ । उहाँको बिचारप्रति मेरो बिमती पनि छैन । तर कुरा के भने उहाँको कार्यकालमा जीर्ण गाडी मर्मत भएको छैन तर सबै बजेट चाँही खर्च भएको छ । नम्बर दुई सबै ईन्धन बजेट खर्च भएपनि गाडी चाँही नगरपालिका बाहिर जाँदैन किनभने गाडी पुरानो चल्नै नसक्ने अवस्थाको छ । उहाँको कार्यकालमा दुई महिनाको समयमा ५७ हजारको हजारको बिल आउने अवस्था छ र बाँकी ८० हजारको आउने अवस्था छ भनेर चालकले भनेको छ । यिनीहरु कानूनमा आधारित तथ्यहरु हुन् र यि तथ्यहरुले कानूनमा आधारित छ कि छैन भनेर बोल्छ । म व्यक्तिगत रुपमा जान चाहन्न ।

कुन कर्मचारीले गाडी चढ्यो, राम्रो घरमा को बस्यो, सुकिलो मुकिलो भयो भन्दैमा उसलाई भ्रष्टचार गरिस् भनेर भन्न मिल्छ ? उसको आफ्नो सम्पत्ती उसले उपभोग गर्न नपाउने ?

बिल्कुलै, बिल्कुलै त्यस्तो मानिसहरुले जस्तै गोपकै शब्दमा भन्ने हो भने मेरो पजेरो चढ्ने हैसियत छ भनेर पत्रकार सम्मेलनमा भनेको पनि सुनियो किनभने सार्वजनिक ठाउँमा भनेको कुरा मैले पनि सुनेको छु । तर, त्यस्तो करोडौंको सम्पत्ति भएको धनाढ्यहरुले कारखाना निरीक्षक भएर जागिर खाएको अन्यत्र रेकर्ड छैन । र, सबैले पुस्तौनी सम्पत्ति करोडौं भएकाहरुले कारखाना निरीक्षक भन्ने जागिरमा यसरी हत्तेहालेर बस्नुपर्ने कारण के रहेछ अर्कोपटक उहाँको अन्र्तबार्ता लिइदिनुहोला ।

गोपले श्रम कार्यालयमा रहँदा भ्रष्टचार गरे, मुद्दामा फिक्सिंग गर्थे, अनुगमनमा मिलेमतो गर्थे र श्रमस्वीकृति चालु भएपछि अझै कमाउन चाहन्थे र त्यसैका लागि निमित्त भएर टिकिरहन मलाई सरुवा गराउन लागिरे भनेरपनि आरोप लगाउनुभयो, यो कसरी पृष्टि हुन्छ ?

बिल्कुलै श्रमिककै आजको अवस्था हेर्ने हो भने र उनीहरुले पाउनुपर्ने तलबमा लागू भएको छैन त्यो छर्लङ्ग छ । र उनीहरुले गरेका उजुरीहरुमा कस्तो फैसला र कारवाही भएको छ केलाएर भनेर हेर्ने हो भने त्यो पनि जगजाहेर नै छ । मजदुरलाई पनि थाहा छ र अरुलाई पनि थाहा छ । मजदुरहरुले हामीलाई मालिक, युनियन र श्रमका कर्मचारीहरुले मिलेर ठगेका छन् भनेर मलाई उजुरी गरेका छन् र सबैलाई भनेका पनि छ । यदि उनीहरुलाई नसताइएको नठगिएको र न्याय दिलाइएको भए आज उनीहरुको अवस्था त्यस्तो हुने नै थिएन । म ठोकुवाकासाथ भन्छु अन्याय भएकै छ । यदि साँच्चै गहन अझै बुझ्ने हो भने त उनीहरुको पनि अन्तवार्ता लिनुपर्छ ।

तपाईंले एउटै कार्यालयमा दुई जना प्रमुख रहन मिल्दैन भनेर मन्त्रालय र मुख्य सचिवलाई पत्र नै लेख्नुभयो, गोप त तपाईंभन्दा जुनियर थिए, किन यस्तो पत्र लेख्नुभएको ?

मैले हाजिर भएको तीन दिनमै प्रमुख भएर हाजिर भएपछि निमित्त भएर बसेको व्यक्ति त्यो ठाउँमा राख्न नीतिगत र व्यवहारिक रुपमा पनि मिल्दैन । भनेपछि उनी त वर्षौँ कार्यालयमा आफै अनइन अल हाकिम थिए । उनीभन्दा माथिको हाकिम आएपछि उनि रहन मिल्दैन । उदाहरणका लागि झापामा लामो समय निमित्त प्रमुख भएका कारखान निरीक्षक शालिग्राम कोइरालालाई सरुवा गरेर मोरङ ल्याइएको थियो । त्यसकारणले हाकिम भैसकेका मान्छे बसिरहन मिल्दैन तपाईं आफैँ जानोस् भनेर मैले बोलाएर भनेको थिएँ । खुला रुपमा भनौँ उनको कार्यलयमा अनुगमनमा, गाडीमा, निरीक्षणमा कति खर्च भयो भनेर खोजबिन पनि भैरहको छ, नागरिकले सूचना पनि मागिसकेका छन् ।

तपाईँ इमान्दार राष्ट्रसेवक कर्मचारी, आफ्नो काम गर्ने कि अरुको आरिस गरेर गोपनियता खोल्दै मानमर्दन गर्दै हिँड्ने, यो ठिक हो त ?

एकदमै ठीक प्रश्न हो । कसैले पनि ठीक काम गरेको भने उसको पछि लाग्नु अपराध हो । तर जसले सेवाग्राहीलाई सताएको छ । जसको विरुद्ध उजुरी र गुनासो छ । जसको विरुद्ध जनताले सूचना मागिरहेका छन् भने त्यस्ता व्यक्ति, संस्थाबारे के भएको रहेछ भनेर मैले खोजिनिधि गर्नु म प्रमुख मात्र नभएर सचेत नागरिक पनि भएकोले दायित्व र परम कर्तव्य पनि हो । कर्तव्य पनि हो । त्यो कार्यालयका अरु दश जना कसै कर्मचारीविरुद्ध कुनै प्रश्न उठेको थिएन र मैले चासो पनि राखेको थिइन ।

लौ सचिवले तपाईंको अनियमित सरुवा गरेर अरे, तर अन्याय भएको भए मन्त्रीसँग पनि त अनुरोध गर्न सक्नुहुन्थ्यो नि, किन उत्तेजित भएर प्रेसमा अराजक बनेर प्रस्तुत हुनुभएको ?

मैले चाकडी गरेको दिन अन्तिम दिन होस् र हरामको खाएको चिज नरक होस् भनेर कसम खाएर म चालिस वबर्ष पहिले निजामती सेवामा आएको हुँ । मैले आजसम्म मैले कहिँ पनि कोही राजनीतिज्ञलाई मेरोबारे मिलाइदिनु पर्यो, यसो उसो गर्नुपर्यो सुख सुबिधा मिलाइदिनु पर्यो भनेर मैले भनकै छैन । र, अर्को कुरा मेरो सरुवा मन्त्रीस्तरीयबाट हैन सचिव स्तरीयबाट भएकोले एप्रोच नगरको हुँ । मेरो प्रम र मन्त्रीसँगको कन्सर्न कहाँसँग मात्र हो, हो भने सुखी नेपाली संमृद्ध नेपाल भनेर भन्ने सरकारको नेतृत्वले म इमान्दारपुर्वक काम गरिहेको जस्तो घुस नखाउँ, खान दिन्न भनेर अफिसमै पोष्टर टाँसेर बसिरहेको मान्छेलाई दुई वर्षको ठाउँमा ७० दिन अघिनै गरिदिँदा प्रक्रिया, पद्धती र भ्रष्टचार निवारणमा बाधा पार्यो भनेर मात्र मैले प्रम र मन्त्रीको नाम लिएको हुँ र उहाँहरुकहाँ अनुरोध गर्न पनि नगएको हुँ ।

सरुवा भएपछि तपाईंको रबना बनिसकेको रहेछ र पनि तपाईँ कार्यालयमा प्रमुख बनेर पुग्नु भएछ किन ?

मेलै सरुवाबारे जानकारी पाएपछि विराटनगरस्थित पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन गरें । किनभने मेरा लागि त्यो नै विकल्प थियो । पत्रकार सम्मेलन सकेर म सोझै आफ्नो कार्यालयमा पुगेँ किनभने मैले रवाना बुझेको थिइन र मैले आफ्नो व्यवस्थापन गर्न बाँकी थियो । ल्यापटप, लगायतका सामग्री पनि लिनुपर्ने थियो । तर, आफूलाई निमित्त भनाउने मेरा जुनियर मणिनाथ गोपले माथिल्लो तलामा रहेको मेरो कार्यकक्षबाट कुर्सी टेबल समेत बाहिर निकालिदिइसकेका रहेछन् । मेरो उनीसँग भनाभन नै चल्यो । किनभने एउटा कार्यालय प्रमुखको कार्यकक्षको कुर्सी टेबल बाहिर निकाल्ने अधिकार उनलाई छैन । म उनलाई त्यसो नगर्न चेतावनी दिएर फर्केँ । पछि उनले कुर्सी टेबल भित्र हाल्न लगाएछन् । यो कुरो समाचारमा आइसकेपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ती निकालेर ढाकछोप गर्नुपरेछ । लामो समय कार्यालय प्रमुख रहेका गोपले भाडाको घरको तल्लो साँधुरो तलामा कार्यालय अटाएर माथिल्लो तलाको पाँचवटै कोठा आफ्नो क्वार्टर बनाएर प्रयोग गर्दै आएका थिए । म प्रमुख भएर गएपछि माथिल्लो तला सबैलाई कार्यालयमा बिस्तार गरेको थिएँ ।

तपाईंले सरुवा बदर गर्न माग गर्दै दोस्रो पटक तोकता गरिसक्नु भएको छ, कारवाही भएन भने के गर्ने योजना छ ?

वडो सान्र्दभिक कुरो । मैले नेटबाट, हुलाक सेवाको द्रुत डाकबाट पनि पत्र पठाएको छु । ती उजुरीहरुबाट पनि मैले न्याय पाइँन भने, त्यसमा म मेक्सिमम १५ दिन पर्खन्छु । र, पनि न्याय पाइँन भने क्षेत्राधिकार भित्रको न्यायपालिकामा न्याय माग्न जान्छु ।

तपाईंले कहिले र कँहाबाट जागिर सुरू गर्नुभएको थियो ?

मैले २०२८ साल सेती अञ्चल अदातल दीपालय सिलगडीमा खुलेको अस्थायी सहायक स्तरको ननगजेटेड पदबाट लिखित मौखिक परीक्षा दिएर सर्वोत्कृष्ट भएर जागिर सुरू गरेको हुँ । र मैले त्यहाँ एक सवा वर्ष काम गर्दा बझाङ, बाझुरा र डोटी, अछाम कैलालीको २८ दिन पैदल यात्रा गरेर काम गरेको छु । सबै अदालतको भ्रमण गरेर न्यायाधिश र अञ्चलाधिश समेतलाई जानकारी गराएर के कस्तो अवस्था छ भनेर प्रक्रिया सुधार गर्न पनि मैले सहयोग गरेको थिँए ।

ए, जागिर सकिने भएकोले यही मौका भनेर चर्चामा आउनु भएको त हैन ?

होइन, मलाई मेरा बाबु डिल्लिराम सञ्जेलले २०३८ साल कार्तिक २८ गते अगाडि आफू घुस्याहा कर्मचारी र प्रशासनबाट प्रताडित भएको कारणले घरमै आज उप्रान्त जेल ज्यान जागिरमाथ हिडनेछु र भ्रष्टचारविरुद्ध बात, भात र लातको अभियान चलाउनेछु त्यसका विरुद्ध मैले मर्नु परेमा जेल ज्यान र जागिरमाथि हिँडने छु भनेर सपथग्रहण गराउनु भएको र त्यसका निमित्त मैले मर्नुपरेमा तँ मरिस् भनेर म चिन्ता गर्दिन । हामी तीन भाई छोरा थियौ तर म चार भाइमध्ये एउटा मरेको भनेर म गर्व गर्छु गुनासो गर्दिन, तँ यो भ्रष्टचार विरुद्ध लड्नु भनेर भन्नुभएको यसैले मैले चर्चा बटुल्न यसो गरको होइन । र, म सरुवा भएर आउँदा अदालतबाट त्यहाँका सेवाग्राहीहरु रोएका थिए भने त्यो त्यसैबेलाका सेवाग्राही पनि अहिले जिवितै छन् यसैले मैले चर्चा बटुल्नु पर्ने आवश्कता नै छैन ।

तपाईं सन्की, तलका कर्मचारीलाई मनपरी गालीगलौज गर्ने, मुठी, हठी, हाकिमको रुपमा तपाईंलाई चिन्दारहेछन्, आफू मात्रै ठालू हुने तर कसैलाई गन्दैनगन्ने ? यो त ज्यादती हैन ? यस्तो व्यवहार ठीक हो त ?

के हुन्छ भने हाम्रो देशमा अस्तिको तारिख पर्सिदिएर के हुन्छ भने पाँच रुपैयाँ खाने कर्मचारी छन् । म जापानमा पढेर आएको मेरो दिमागमा, कार्य प्रवृत्ति अनि शरीरमा जापानी सेवा सवार छ । मलाई सेवाग्राही आउनेबित्तिकै ऊ किन आएको हो र उसको काम किन हुन सक्दैन भनेर नहुने भनेर तुरुन्तै भन्दिनुपर्छ । नहुने भए तपाईंको काम यस कारणले हुनसक्दैन कसैलाई चिया नास्ता घुस खुवाएर नबस्नोस् बीस वर्ष धाएपनि हुँदैन, कानूनले मिल्दैन भनेर प्रष्ट भनिदिनुपर्छ ।

अस्तिको तारेख पर्सि दिएर घुस खान बानी परेकाले नहुने काम हुन्छ गर्दिनु वा ढिलो भयो चाँडो गर्दिनु भनेपछि त आश गरेपछि त पाँच रुपैयाँ घुस खान बानी परेका घुस्याहा कर्मचारीलाई आकाश खसे जस्तै हुन्छ । मान्छेले झोल्याएर न घुस खाने हो । त्यसकारणले यो काम गर गलत गर्न पाउँदैन भनेर भन्दिने हो र मानेन भने गाली नगरे के गर्ने त । अनि त्यस्तो अवस्थामा घुस्याहा कर्मचारीलाई यो काम गर भनेर मैले दबाब नदिएर कसलाई दिने । पाँच मिनेटको कामलाई घण्टौं लगाएपछि किन भएन भनेर सोध्न पाउँने कि नपाउँने । मलाई त कमप्युर, प्रिन्टर, गाडी, साइकल, कलम चलाउनदेखि दर्ता चलानी गर्न सबै चलाउन आउँछ यसैले कसैलाई पर्खिन्छ आफैँ गरिदिन्छु ।

पाँच मिनेटको कामलाई पैँतिस मिनेट लगाएपछि सहने कुरो आउँदैन । यसैले त्यस्ता कर्मचारीहरुले मलाई हठी, सन्काहा, अभद्र व्यवहार गर्ने भनेका हुन् । म रोगी, मुडी, सन्कि जस्तो काम नलाग्ने भएको भए नेपाल सरकारले चालिस वर्ष किन जागिर दिने, पहिले नै खारेज गरिदिएको भए हुन्थयो । म त्यस्तै काम नलाग्ने भए मलाई सरकारले चौबीस घण्टामा निकालिदियोस् । यो मेरो विनम्र अनुरोध छ ।

तपाईँ कहाँ जन्मनु भएको र पारिवारिक अवस्था कस्तो थियो ?

म भोजपुर जिल्लाको अरुण गाउँपालिका कार्की छापामा जन्मेको हुँ । हाम्रा बाजेरहरू धनी थिए रे । तर, म निरक्षर र सबै जग्गा जमिन गुमाइसकेको खान पनि नपुग्ने गरिब परिवारमा जन्मेको हुँ । हाम्रो आमाले दश जना सन्तान जन्माउनु भएकोमा पाँच जना कुपोषणले मरेछन् । र, हामी पाँच जना दाजुभाई बाचेका रहेछौँ । बाबुले धेरै कठिनले हामीलाई पढाउनु भएको हो । किनभने आफू निरक्षर भएर पाएको पीडा उहाँले थाहा पाउनु भएको रहेछ । र, उहाँले गाउँमा कसैले गर्न नसक्ने कठिन काम गरेर भएपनि हामीलाई पढेर जागिर खालान् र जीवन सपार्लान् भनेर पढाउनु भएको हो । बाबुले त्यसरी पसिना काढेर पढाएकोले मैले चर्चा पाउनका लागि हैन साँच्चै जनताको दिलमा बस्न यो भ्रष्टचार विरोधी काम गरेको हुँ ।

तपाईँको काठमाडौँ र विराटनगरमा घर छ अरे, तर साइकलसमेत छैन भनेर फलाकिरहनुभएको छ, इमान्दार कर्मचारीले यत्रो सम्पत्तिको स्रोत के हो ?

जापानमा एक घण्टाको पचास हजार कमाउने मान्छे म, अझै महिनाको ३० हजारको छु । मेरो काठमाडौँ घर छैन । विराटनगर ५ मा एउटा बिनापिलरको एक तले घर छ । त्यो पनि हामी श्रीमान्–श्रीमती र मेरा छोराछोरीको कमाई जोडेर बनाएका हौँ । कसैले खोजेर थप पत्ता लगाए म धन्य हुने थिएँ । मेरी श्रीमती मभन्दा पनि पहिलेको जागिरे हुन् । उनी अहिले जनस्वास्थ्य कार्यालया अधिकृत छिन् । श्रीमतीको चालिस र मेरो चालिस जोड्दा पनि हामी बुढाबुढीले असी वर्ष जागिर खाइसकेका छौँ । हाम्रा बच्चाहरु पनि जागिरे थिए । एक छोरा गंगालाल अस्पतालमा र अर्को नोबेलमा अनि एक जना नर्समा काम गर्थे तर अहिले तीनै जना पढ्न गएको अवस्था छ । हामीले कमाएको सम्पत्ति त्यही बिनापिलरको घर हो । हाम्रो जीवन खुल्ला किताब जस्तै छ । अरुले आएर अध्यन गरिदिए म कृतज्ञ हुने थिएँ ।

सञ्जेलले पहिले नै अकुत कमाइसक्यो, अनि अहिले सेलिबब्रेटी बन्न खोजिरहेको छ भन्ने प्रतिक्रिया पनि आएका छन् नि, के भन्नुहुन्छ ?

जुनसुकै कुराको पनि राम्रा नराम्रा पक्ष हुन्छन् । र, यो नराम्रो पक्षका मेरा विरोधीहरुले चलाएको हल्ला हो । मलाई २०३८ साल कार्तिक २८ गते जाँच लिएर सरकारी सेवामा पहिलो नियुक्ति दिने न्यायाधिश अहिले पनि काठमाडौँ घटेकुलोमा बस्नुहुन्छ, उहाँलाई गएर सोधे पनि भैहाल्यो । मेरा बाउआमा त मरेर गैहाले उनीहरुले त्यस्तो गर्न सक्ने कुरा पनि भएन । मेरो जागिरको दौरान एक लाख ६ सय ३२ जना कर्मचारीसँग म बसिसके अहिले ती कर्मचारीहरु कसैले प्रेम सञ्जेल यो विषयमा यो अड्डामा काम गर्दा यसरी घुस खायो भनेर भनिदिए हुनेथियो । मैले एउटै अड्डामा सात वर्ष काम गरेँ । अर्बौ बजेट भएको शान्ति मन्त्रालयमा प्रवक्ता भएर बस्दा लाखौँ कमाउन सक्थेँ होला तर सरुवा बढुवामा घुसको विषयमा सचिवलाई नै भकुरेको थिएँ । कसैले भनेमा म सजाय भोग्न त्यही ठाउँमा आउन तैयार छु । मलाई फेन्टा, फ्रुटी, पेप्सीकोला जसले खुवाउला त्यसका बाउको र बाउ नभए आमाको रगत होला । बाबुआमा दुवै नभए खुवाउनेकै रगत होला भनेर सेवा प्रवेश गरेको मान्छे, मैले त्यो भन्दा सस्तो चिज त के खाएँ होला र त्यो नै म खान्न भने घुस खाने त प्रश्नै आउँदैन । कसैको आजसम्म एक पैसा खाएको छैन ।

तपाईँलाईँ ‘खुस्केट’ कर्मचारी पनि भनिँदोरहेछ नि, के तपाईं रोगी हो ?

अहिले मात्र प्रचारमा आएको हो यो त मलाई पहिले ने भन्थे । खुस्केट मात्र हैन पागल भन्थे । म जुनबेलामा तेह्रथुममा शिक्षा कार्यालयमा कामगर्दा खेरी पाँच सय एक्काईस शिक्षकको जागिर खुलेको थियो । त्यो बेला फोटोकपी थिएन र मैले आफ्नै हातले मसी खाने पेनले एक्लैले प्रश्नपत्र लेखेको थिएँ । त्यो बेला मेरो आफ्नै कान्छो सालो फेल भएको थियो र आजसम्म बोलेको छैन । उसले मलाई भिनाजुले ट्युसन पढाइदिएको भए हुन्थ्यो भन्ने चाहेको थियो तर मैले भ्याइन । त्यही बेला मलाई पाँच लाख घुस खान भनेका थिए मैले मानिन । र, मलाई त्यही बेला पागल भन्थे खुस्केट त अलि ईज्जतिलो शब्द भयो । मलाई कुने दुःख पनि छैन ।

तपाईँ आफै सरकारी कर्मचारी हो अनि अरु कर्मचारीलाई नै घुस्याहा भनेर गाली गर्नुहुन्छ, के देश बिगार्ने अरु कर्मचारी मात्रै हुन् त यो देशमा तपाईँ बाहेक अरु देश सर्पोने इमान्दार कर्मचारी छैनन् त ?

कस्तो राम्रो–राम्रो कुरा गर्नुभयो । यस्तो राम्रो कुरा गर्नुभयो भने म रुनबेर लगाउँदिन । राम्रा पनि छ । यही कर्मचारीभित्र म पनि छु । र, राम्रा कर्मचारीहरु बाहिर नआइदिएकोमा मेरो गुनासो छ । मैले उनीहरुलाई खासै गाली गरेको पनि छैन । मेरो बोली नै अलि तितो र छुच्चो छ । सत्य तितो र कडा हुने भएकोले उहाँहरुलाई त्यस्तो लागेको होला । तर, उहाँहरु बाहिर नआएकोमा मेरो ठूलो गुनासो छ । यसैगरी बाहिर आएर पर्दाफास गरिदिनु भएको भए हाम्रो देश सप्रिने थियो । अर्को कुरा सबै कुरा गर्ने भनेको कर्मचारीले नै हो । किनभने विदेशमा सन्धी गर्नुपर्यो भने त्यो सन्धीको अक्षरदेखि कमासम्मको मस्यौदा लेख्ने भनेकै हामीले कर्मचारीले नै हो । सन्धीमा यसो भयो उसो भयो भनेर राजनीतिज्ञको बदख्वाई त हामी गर्छौं तर खेस्रा गर्दा यहाँनेर नराम्रो छ राष्ट्रहितमा छैन भनेर हामीले किन नभन्ने ? कर्मचारी ठीक भएको भए नेता र नेता ठीक भएको भए कर्मचारी तलमाथि सर्न सक्ने थिएनन् । सबै नेता कर्मचारी खराब छन् भनेर भन्दिँन तर हाम्रो दुर्भाग्य सबै नेता घुस र कर्मचारीहरु कमिसन खाने भए । सत्य तितो लागेकोमा क्षमाप्रार्थी छु । मेरो उहाँहरुलाई गाली गर्ने कुनै मकसद होइन ।

पहिले तँपाई गुमनाम हुनुहुन्थ्यो तर एकाएकल भ्रष्टचार विरोधी सेलिब्रेटी कर्मचारी बनेर चर्चामा आउनुभयो, कस्तो लागिरहेको छ ?

राम्रो लागिरहेको छ । जागिरमा हुँदा यस्तो मान सम्मान गर्दैन थिए । मान्छेले यत्रो मर्यादा नै गर्दैन थिए । हुम्ला, जुम्ला, ताप्लेजुङमा जनताले राम्रो काम गर्नुभयो धन्यबाद भन्दा म गाली गर्थे तर भित्री चाँही जनताले राम्रो भन्दारहेछन् भनेर खुसी त हुन्थेँ तर खुल्न सक्दिँन थिएँ । तर, अहिले त मलाई आदरसाथ कार्यक्रममा बोलाउँछन् । मसँग सेल्फी खिच्न रुचाउँछन् । मलाई भ्याई–नभ्याई छ । म त मास्क लगाएर झोलामा बिस्कुट बोकेर हिँड्न थालेको छु । किनभने मास्क खोले भने उ प्रेमसञ्जेल भनेर घेरी हाल्छन् । बहुत गज्जब लागको छ । मेरो जागिर स्थापित भएन भने पनि म यसैगरी लाग्छु भ्रष्टचारविरुद्धमा अभियन्ता बनेर ।
सबै कर्मचारी आ–आफनो संगठनमा छन्, तपाईँ कुनै संगठनमा हुनुहुन्न, के तपाईँ कहिल्यै कुनै संगठनमा आवद्ध हुनुभएन, तपाईँ मण्डले चरित्रको कर्मचारी हो ?

मेरो बाजेले भन्थे रे, भैँसी गोठालाको हित गर्ने हो भने, लैनो, थारे, लाहुरे, गुजराती, कण्ठे भैँसी जे भएपनि एउटैले हुन्छ । यसैले कर्मचारीहरुको हित गर्न पनि एउटै संगठनले हुन्छ । जुनबेला निजामती कर्मचारी संगठन मात्र भएको बेला म उच्च नेतृत्वमा थिएँ । राष्ट्रिय पार्षद पनि बने । त्यो बेला संगठन दुई पार्टी भएर फुट्यो । मलाई कार्यकाल पूरा गर्न सकस भयो । तर, पनि पूरा गरे । त्यसपछि म कार्यालय प्रमुख भैसकेकोले कुनै दलका पेशागत संगठनमा लाग्नबाट जोगिएँ । मण्डले भनेको चाँही पञ्चायतलाई गाली गर्ने शैली हो । र, मण्डलेको विरुद्ध बोल्दा ७ सय रुपैयाँ धरौटी राखिदिने मान्छे नहुँदा म जेलमा सडिएको छु । एक जना दोकानदारले त त्यो प्रजातन्त्रको कुरा गर्ने भाइको म बिना तमसुक पैसा तिरिदिन्छु भनेर पनि भनेछन् तर पैसा जेलसम्म ल्याइदिने पनि भएन छन् । २०३६ साल अगाडि मण्डले विरुद्ध लाग्दा खानु सास्ती पाइकै हो । अहिले आएर तीनै हिमायतीहरुले मलाई मण्डले भन्छन् भने मैले कसैलाई केही भन्नु पनि छैन । म मण्डले हैन राष्ट्रलाई सेवा दिने सेवक हुँ ।

भावि कार्ययोजना के छ, रिटायर्ड जीवन कसरी बिताउनुहुन्ँछ योजना के छ ?

म लगत्तै रिटायर्ड हुन्न । तीन वर्ष जागिर बाँकी छ । देशको अवस्थाले अझै दुई वर्ष थपिने अवस्था छ । यसैले पाँच वर्ष अझै जागिर खानसक्नेछु । कर्मचारी जाति भएको भए दुई वर्ष थप्नुपर्ने थिएन । मैले समायोजनामा पनि फारम भरेको छु । अठार खेपमा बल्ल अनलाईनबाट फारम ओके गर्न सफल भएँ । हन त्यो समायोजनको  अनलाईन फारम क्रियेट गर्ने साथीहरुले पनि घुस खाएका रहेछन कि क्या हो ? मलाई अठार खेप लाग्यो भने अरुको के हालत भयो होला । मेरो भावि कार्य योजना भनेको भ्रष्टचारविरुद्ध आजिवन लड्ने हो । मलाई आइज भ्रष्टचारविरुद्धको एक्सपर्ट बन भनेर विदेशीहरुले बोलाइरहेका पनि छन् । तर, जागिर भएसम्म चाँही जनताको सेवा गर्ने हो अरु केही नगर्ने हो ।

तपाईँलाई अख्तियार प्रमुख बनायो भने, कसरी भ्रष्टाचार निवारण गर्नुहुन्छ ?

मैले त भ्रष्टाचार निवारणका लागि ६ पजेको कार्यपत्र नै बुझाएको छु । र, प्रमुख आयुक्तका लागि २०७९ मा दरखास्त पनि दिएको थिँए । किनभने अख्तियार प्रमुख हुने योग्यता क्षमता मसँग छ । म स्नातोकोत्तर छु । चालिस वर्ष सेवा गरिसकेको छु । भ्रष्टचार गरेको छुइन । ४५ वर्ष उमेर पुगिसको छु । प्रष्ट दृश्टिकोण छ । र, मेरो जस्तो भ्रष्टाचार निवारण गर्ने गराउने कार्यपत्र सायदै कसैको होला । म प्रमुख आयुक्तबाहेक अरुमा नियुक्त खान्न र त्यो बेला पनि प्रमुख बाहेक माइलो, साइलो आयुक्त खान्न भनेर दरखास्त हालेको थिएँ । तर, त्यो बेला बिडम्बना नै भन्नुपर्छ संसद नै बिघठन भयो । मेरो दुर्भाग्य पनि होला । मेरो कार्यपत्र मैले पढ्न पाको भए म सायदै फेल हुन्थे होला । म भ्रष्टाचारविरुद्ध रोकथामको काम गर्छु । भ्रष्टाचारीहरुलाई अनद स्पट कारवाही गर्छु । गाडी चल्ने ठाउँमा साइरन बजाएर जाने समय र पहाडमा पुलिस–आर्मीको स्पिडमा स्पटमा पुगेर भ्रष्टाचार उधिन्ने र कारवाही गर्ने काम गर्छु । पाँच वर्षको कार्ययोजना बनाएर पहिलो वर्षमै पचास प्रतिशत लक्ष्य हासिल गर्छु । सकिने भने एकै वर्षमा दुई वर्षमा साठी प्रतिशत सकिँन भने दुई वर्षमै र तेस्रो वर्षमा र पाँचौसम्म सयमा सय लक्ष्य हाँसिल गरिन भने पाँचौ वर्षमै हटाइदिए हुन्छ । प्रेमसञ्जेल अख्तियारको प्रमुख भयो भन्ने समाचार आयो भने मात्रै पनि दश प्रतिशत भ्रष्टाचारीले कि देश कि भ्रष्टचार छाड्छन् ।

तपाईँका अनुसार भ्रष्टाचारी कस्ता हुन्छन् र कसरी चिन्ने ?

घुस्याहा बोलीमा एकदम राम्रा, म जस्तो तीतो बोल्दै नबोल्ने, व्वाँसाले पहिले भेडालाई काखामा राखेर कन्याउँछ । भेडो व्वाँसोले मलाई माया गर्यो भनेर मख्ख परेर सुतिदिन्छ । तर, यही मौका छोपेर व्वाँसोले उसको मलद्धारबाट हात हालेर आन्द्राभुँडी एकै तालमा निकालिदिन्छ र ठहरै मारिन्छि । त्यस्तै मिठो बोल्ने, मृदृभाषी घुस खाइसकेपछि कर छल्न पनि सिकाइदिनेहरु नै भ्रष्टाचारीहरु हुन चिनिहाल्नोस् । भ्रष्टहरुको ६ वटा नाम हुन्छ । घुस्याहा, छुल्याहा, रक्स्याहा, कप्ट्याहा, भुस्याहा र जँड्याहा । सावधान हुनुहोस् यिनले काखमा राखेर सेर्छन् ।

कोशी अनलाइनमार्फत् भन्ने कुरा केही छन् तपाईंका ?

म कोशी अनलाइनमार्फत् के भन्छु भने हाम्रो देशमा पञ्चायतकालदेखि आजसम्म जति मिडियाले काम गरेको छ, त्यत्ति अरु कसैले गरेको छैन । राजनीति र कर्मचारी कसैले पनि गरेका छैनन् । र, मिडिया नहुँदो हो त हाम्रो देश सोमालिया हुनेथियो । अर्को कुरा कर्मचारीहरुलाई मिडियाले रोलमोडलमा अझै ल्याइदिनुपर्छ ।

Koshi Online

FREE
VIEW