इरान कार्गो विमान दुर्घटनामा १५ जनाको ज्यान गयो, एकको उद्धार

0


तेहरान, पुस ३०
इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सोमबार भएको सो दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएको र एक जनालाई सकुसल उद्धार गरिएको इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ ।

इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक उडान इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ । उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिश्केकबाट मासु बोकेर उडेको थियो ।

कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ ।

काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने उक्त विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरान रेड क्रिसेन्ट सोसाइटीका प्रमुख नासिर कार्खसाजलाई उद्धृत गरी आइएसएनएले जनाएको छ ।

दुर्घटनाग्रस्त कार्गो विमानको सञ्चालकबारे चाहिँ थाहा हुन सकेको छैन । इरानको नागरिक उड्डयन निकायका एक प्रवक्ताले विमान किर्गिजस्तानको भएको बताएका छन् । तर किर्गिजस्तानको मानास विमानस्थलले उक्त विमान इरानको पायाम एअरबाट सञ्चालनमा रहेको बताएको छ । सिन्ह्वा

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW