एक नम्बर प्रदेशका मन्त्री तथा सांसदहरुको एक वर्ष र जनप्रतिनिधिहरुको दुई वर्ष बितिसक्दा पनि बुझाएनन् सम्पत्ति विवरण !


विराटनगर, पुस ३०
एक नम्बर प्रदेशमा सांसद, मन्त्री र जनप्रतिनिधिहरु कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । भ्रष्टाचार निवारण ऐनअनुसार कुनै पनि सार्वजनिक पदाधिकारी वा कर्मचारीहरुले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्ना र परिवारको सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने र अटेर गरेमा कारवाही भोग्नुपर्ने बाध्यकारी नियम छ ।

तर, एक प्रदेश सरकारका मन्त्री र सांसदहरुको एक वर्ष र जनप्रतिनिधिहरुको दुई बर्ष पुगिसक्दा पनि अझै सम्पत्ती विवरण सार्वजनिक भएको छैन ।

एक नम्बर प्रदेश सभामा रहेका ९३ जना सांसदहरुले कसैले पनि प्रदेश सभा सचिवालयमा सम्पत्ति विवरण बुझाएका छैनन् । यसैगरी एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्की, अर्थमामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आंङबो, समाजिक विकासमन्त्री जीवन घिमिरे र वन वातावरण, उद्योगमन्त्री जगदीश कुसैत कसैले पनि अझैसम्म सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

प्रदेशमा रहेका १ सय ३७ स्थानीय तहका जनप्रतिनिधिहरु कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । राष्ट्रिय सर्तकता केन्द्रका अनुसार प्रदेशका सबै स्थानीय तहका जनप्रनिधि, मन्त्री र कार्यालयका कर्मचारीहरुले प्रदेश सरकारको मुख्यमन्त्रीको कार्यालयमा र सांसदहरुले सांसद सचिवालयमा आफू आफना नातागोताको सम्पत्ति विवरण बुझाउनुपर्छ ।

एक नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्थानीय निकाय हेर्ने अधिकारी दामोदर दाहालका अनुसार पटक–पटक ताकेता गर्दा भर्खर सम्पत्ति विवरण ल्याएर बुझाउन थालेपनि सबैले बुझाइसकेका छैनन् । तर, स्थानिय तहका जनप्रतिनिनिधि, सांसद र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले चाँडै सम्पत्ति विवरण सार्वजनिक गर्नेछौं भन्ने प्रविद्धता भने जनाउन छाडेका छैनन् ।

प्रदेश एक सरकारका मुख्यमन्त्री शेरधन राईले सम्पत्ति विवरण सार्वजनिक गर्नेबारे प्रायः एउटै जवाफ दिने गरेका छन् । उनी भन्छन्, ‘कानून निर्माण र अन्य विभिन्न कारणले यसतर्फ सरकारको ध्यान जान सकेको छैन तर छिटो भन्दा छिटो सबैको सम्पत्तिको विवरण सार्वजनिक गर्नेछ । किनभने एक नम्बर प्रदेश सरकारको मूल ध्येय अनियमितता र भ्रस्टाचारबारेको शुन्य हनसिलता हो ।’

विराटनगर महानगरपालिका प्रमुख र उपप्रमुख भीम पराजुलीले पटक–पटक आफ्नो र जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्ने प्रतिबद्धता गरेपनि अझैसम्म सार्वजनिक गरेका छैनन् । उनले हरेक पटक सम्पत्ति विवरण किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा रेडिमेड जवाफ दिने गरेका छन, ‘हामी चाँडै सबैको विवरण वेवसाइटमार्फत् सार्वजनिक गर्नेछौं ।’

भ्रष्टाचारविरुद्धको अभियानका लागि सक्रीय एन्टिकरप्सन मुभमेन्टका अध्यक्ष पारुल क्षेत्री सरकारका मन्त्री र जनप्रतिनिधिहरुले सबैभन्दा पहिले गर्नुपर्ने काम नै सम्पत्ति विवरण सार्वजनिक गर्नु हो भन्छन् । जसले आफ्नो र परिवारको सम्पत्ती सार्वजनिक गर्न सक्दैन त्यो लोभी चरित्रको हो र उसबाट भ्रष्टाचारविरुद्धको शुन्य सहनशिलता हासिल हुन नसक्ने उनको भनाई छ ।

अध्यक्ष क्षेत्री भन्छन्, ‘सम्पत्ति विवरण सार्वजनिक नगर्ने सांसद, मन्त्री र जनप्रतिनिधिहरुले क्षमा याचनासहित कानूनको सजाय स्वीकार गर्नुपर्छ ।’ यसैगरी उपभोक्त्ता हितमा सक्रीय पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुंगेल पनि सम्पत्ति विवरण नै सार्वजनिक गर्न नचाहने सरकार, सांसद र जनप्रतिनिधिबाट सुशासनको अनुभूति हुन नसक्ने बताउँछन् । उनि पनि भन्छन्, ‘सम्पत्ति विवरण नबुझाउने जोकोहीलाई नियमनकारी निकायले अनुसन्धान गरेर कानूनी कारवाही चलाउनुपर्छ ।’

यस्तो छ कानूनमा व्यवस्था
भ्रष्टचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र यो दफा प्रारम्भ हुँदाका बखत सार्वजनिक पदमा बहाल रहेका व्यक्त्तिले यो ऐन प्रारम्भ भएको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने छ ।

(२) उपदफा (१) बमोजिमको म्यादभित्र सम्पत्तिको विवरण पेश गर्न नसक्ने सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो विवरण पेश गर्न नसक्नाको कारणसहित उल्लेख गरी म्याद थपको लागि अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा तीस दिनसम्मको म्याद थप दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम थप गरेको म्यादभित्र पनि सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिबाना गरी निज र निजको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्नेछ ।

Loading...