fbpx

जनयुद्धकी शारदा शान्तिकालमा सरस्वती !

विराटनगर, पुस १२

पश्चिम प्यूठानको तात्कालिन ओखरपुरकोट गाप ७ चुँदारामा २०३२ मा जन्मिएकी हुन् उनी । मध्यमवर्गीय परिवारमा हुर्केकी उनी ३ दाजु र एक बहिनी र बाबु आमासहितका परिवारमा रमाउँथिन् । गाउँकै बालशिक्षा माविबाट २०४९ मा एसएलसी पास गरिन् । उच्च शिक्षा पढ्न काठमाडौँ पुगिन् । अग्रेजी र समाजशास्त्रमा एमए उत्तिर्ण गरिन् । तत्कालिन मालेको विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा सक्रिय भएकी उनी २०५८ मा विद्रोह गरेर माओवादी भूमिगत जनआन्दोलनमा सक्रिय भएर लागिन् ।

माओबादीमा फुट आएपछि उनी मोहन वैद्य (किरण) को पार्टीमा लागिन् । तर, माओवादी पार्टीमा आएको व्यक्ति महत्वाकांक्षा र टुटफुटले दिक्क भएर पछि फेरि फर्केर मूलधारमै आइन् । सशस्त्र भूमिगत आन्दोलनमा शारदा नामले चिनिने उनी आजलक एक नम्बर प्रदेश सभाको उपसभामुख छिन् ।

र, आजकल उनी शारदा हैन असली सरस्वती पोखरेल नामले चिनिन्छन् । विद्यार्थीदेखि पार्टी संगठनमा खुल्ला र भूमिगत राजनीति अनि नीति निर्माण गर्ने ठाउँको नेतृत्व अनुभव सँगाल्ने अवसर पाएकी उपसभामुख पोखरेलले आफ्नो आरोह–अवरोह कोशी अनलाइनलाई यसरी सुनाइन् । ……………………………..
माले अखिलबाट माओबादीमा बिद्रोह
स्कूलमा पढ्दै खेरी उनी मोटो मसालमा आवद्ध विद्यार्थी सगठनको सदस्य बनेकी थिइन् । विद्यालयमा हुने रेयुकाई नामको संस्थामा लड्दा मोटो मसालकै विद्यार्थी भएर जितेकी थिइन् । एसएलसी पास गरेपछि काठमाडौं आएर पाटन क्याम्पसमा पढ्न थालिन् । त्यहीँबाट उनले मेजर अंग्रेजी र समाजशास्त्रमा डिप्लोमा सकिन् । माले अखिलबाट उनी २०५४।०५५ तिर दाजु गणेश पोखरेलसँगै स्ववियूमा उम्मेदारी दिइन् । दाजु गणेश सभापतिमा उठ्दा उनी सदस्यमा उठेकी थिइन् ।

दुवैले पराजय भोगे । ०५६ मा त्रिवीमा एमए पढ्न थालिन् । त्यहाँपछि माले अखिलबाट स्ववियूमा उठिन् तर परिणाम पराजय नै आयो । कम्युनिष्ट सिद्धान्तलाई आत्मसात गरेकी पश्चिम दुर्गम पहाडमा बसेर अन्याय उत्पीडन र विभेदको व्यवहारलाई नजिकबाट भोगे–बुझेकी उनले अन्ततः आमूल क्रान्तिकारी परिवर्तनका लागि भन्दै कृष्ण केसी, शिवकुमार डाँगी, हिमाल शर्मासहितको टोलीमा सहभागी भएर माले अखिलबाट विद्रोह गरेर माओवादीमा प्रवेश गरिन् ।

आठ महिना बेपत्ता

माले अखिलबाट अखिल क्रान्तिकारीमा प्रवेश गरेपछि उनले काठमाडौं भ्यालीमा संगठनको जिम्मेवारी पाइन् । साथीहरुसँगै संगठन बिस्तार गर्ने क्रममा ०५८ मा उनी पक्राउ परिन् । ८ महिनासम्म शिवकुमार डाँगी र उनी लगायतका विद्यार्थी नेताहरुलाई तात्कालिन राज्य सत्ताले बेपत्ता बनायो । कहिले त्यो हिरासत कहिले उ हिरासत गर्दै अडासार गरेर राख्ने गर्दथ्यो । त्यो बेला चरम यातना सहनुर्पयो । २०६० मा सर्वोच्चमा रिट हालेर बल्ल उनीहरु रिहा भए । त्यो बेला पार्टी शान्ति प्रक्रियामा थियो ।

जेलभित्र झाँगिएको प्र्रेम विवाहमा बदलियो

शिवकुमार डाँगी हाल उनका पति हुन् । दुई सन्तानका धनी भैसकेका छन उनीहरु । पहिले विद्यार्थी संगठनमा समान्य चिनजान भएपनि शिवकुमारसँग उनको घनिष्ठता चाँही पक्राउ परेपछि भएको थियो । आठ महिनाको जेल यात्राबाट छुटेपछि धुमधामसँग क्रान्तिकारी विवाह भयो उनीहरुको । काठमाडौं ल क्याम्पसमा अखिल क्रान्तिकारीले विवाह कार्यक्रम आयोजना र्गयो ।

देवेन्द्र पराजुली प्रमुख अतिथी बनेर उनीहरुलाई बधाई दिए । शिवकुमार डाँगी हाल नेकपाको एक नम्बर प्रदेश सदस्य छन् । हाल डाँगी समाजसेवा र सहकारी संस्थामा पनि सक्रिय छन् । सुनसरीको तरहरामा शहीद स्कूल संचालन गराउने र त्यसलाई मलजल गर्ने अनि भर्खरै कृषी कलेज स्थापना गर्नेमा डाँगीको मनग्गै योगदान छ । सरस्वती एक नम्बर प्रदेशको उपसभामुख छिन् ।

विवाहपछि पति–पत्नी दुवै पूर्वी कमाण्डमा

विवाहपछि पति शिवकुमार र उनले पूर्वी कमाण्डमा रहेर पार्टीको सेवा गर्ने जिम्मेवारी पाए । २०६० बाट उनीहरु संखुवासभा जिल्लामा पार्टी संगठनमा काम गर्ने गरी आए । एरिया ईन्र्चाजबाट जिम्मेवारी बहन गर्न थालेकी उनी जिल्ला सेक्रेटरी भइन् । त्यो बेला डाँगी अखिल क्रान्तिकारीको मेचीकोशी व्यूरो ईन्र्चाज थिए ।

पछि उनी जनमुक्त्ति सेनातर्फ बटालिन कमिसार पनि भए । तर, उनी चाँही राजनैतिक क्षेत्रमै खटिरहिन् । छोरा आयुषको जन्मपछि उनीहरु मधेश झरे । र, संचार विभागको जिम्मेवारी लिएर पार्टीले विराटनगरबाट प्रकाशन गरेको जनविद्रोह दैनिकमा आवद्ध भएर काम गर्न थाले । पति डाँगी सम्पादक थिए उनी सहयोगी थिइन् । त्यो बेला बालक छोरालाई माइतीले लगेर स्याहारिदियो । केही महिनापछि उनिहरु सुनसरी सरुवा भएर पार्टीको गतिविधिमा संलग्न भए । शारदा सह–सेक्रेटरी हुँदै सह–ईन्र्चाज भइन् ।

परिवारभन्दा सिद्धान्त प्यारो

शान्ति प्रक्रियापछिको खुल्ला राजनीतिले माओवादी पार्टीमा धेरै उतार चढाव आयो । सिद्धान्तमा नेताहरुबीच मतभेद सुरू भयो । पालुंगटार बैठकदेखि पन्छिएको लाईन संघर्ष अन्ततः २०६८ को चावहिल गुुम्बा भेलापछि विभाजनमा परिणत भयो । गुम्बा भेलाबाट ड्यास माओवादी जन्मिए । नेतृत्व मोहन वैद्य किरणले गरे । विप्लव महासचिव भए । शारदा पनि वैद्य समूहमा गइन् । पति डाँगीले फुटेको पार्टीमा नलाग्न र व्यवहारिक बन्न आग्रह गरे । तर, सिद्धान्त निष्ठ शारदालाई शुद्ध कम्युनिष्ट पार्टी बनाउने ध्याउन्न थियो । उनले परिवारभन्दा कम्युनिष्ट विचारनै प्यारो ठानिन् ।

पाँच वर्षसम्म पति र पत्नीको अलग–अलग बास

पार्टी बिभाजन भएपछि शारदा र शिवको सम्बन्धमा पनि समस्या आयो । ५ वर्षसम्म उनीहरु अलग–अलग बसे । एक वर्ष जति त बोलचाल नै भएन । चुनावका बेला सुनसरीमा प्रचण्ड नेतृत्वको नेताहरु भोट माग्दै हिड्ने तर बैधले नेतृत्व गरेको शारदाको पार्टी उनीहरुमाथि बम प्रहार गर्दै हिँड्थ्यो । शिव सुनसरी २ नम्बर क्षेत्रको चुनावी परिचालन कमिटीका ईन्र्चाज थिए र उनलाई जसरी पनि पार्टीका उम्मेदवारलाई जिताउनु थियो ।

तर, सारदालाई चाँही जसरी पनि पति आवद्ध भएको पार्टीका उम्मेदवारलाई हराउनु थियो । पति शिव चुनावी सभा गर्थे तर शारदा बहिष्कार आन्दोलन चलाउँथिन् । पार्टी वैद्यलाई गलहत्याएर विप्लवले पार्टी फुटाएपछि शारदाले पार्टी बिग्रेको विचारले हैन नेताहरुको स्वार्थले रहेछ भन्ने बुझिन् । उनलाई टुटफुटको राजनीतिले माओवादी आन्दोलन सकिन्छ जस्तो लाग्यो । उनलाई क्रान्तिका कुरा गर्ने अगुवा नेताहरु व्यवहारमा नमिलेको देख्दा निराश बनायो । अनि बादलको नेतृत्वमा पुरानै माओवादीमा फर्केर आइन् ।

त्यसपछि उनी पार्टीको पोलिटव्यूरो भइन् भने पति शिवकुमार केन्द्रिय सदस्य मात्र बने । अहिले उनीहरु सुनसरीको ईटहरी उपमहानगरपालिका–५ मा स्थायी बसोवास गर्छन् ।

प्रदेश सभा चलाउँदा नर्भस हैन उत्साह

माओवादीले २०७४ मा सम्पन्न संविधान सभाको निर्माणमा उनलाई समानुपातिक सूचीमा राखेको थियो । तर, उनि परिनन् । पछि २०७४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फबाट उनी प्रदेश सभाको संसद् बनिन । र, उपसभामुख चयन भइन् । संघीयता कार्यान्वयन गराउनका लागि नीति बनाउने मुख्य थलोमा नेतृत्व गर्न आइपुगेकी उनलाई नयाँ जिम्मेवारी थपिएको मशहुस भयो ।

खुला र भूमिगत राजनीतिको नेतृत्व गरेकोले उनलाई सभा चलाउन कुनै अप्ठेरो परेन । पहिलो पटक सभा संचालन गर्न जाँदा उनलाई के होला कसो होला भन्ने चाँही लागेको थियो । तर, पहिले नै सक्रिय नेतृत्व गरेको अनुभवले उनलाई नर्भस हैन हौसला बढेजस्तो भयो । हालसम्म उनले दुई दिन पूर्ण रुपमा सभा चलाई सकेकी छन् भने कैयौं पटक सभामुखलाई सजिलो बनाउन बैठक संचालन गरेकी छन् ।

महिलाहरुलाई उपेक्षा गर्दा अझै खिन्नता

आफू उपसभामुख भएपनि उनलाई अझै केही चित्त चाँही बुझेको छैन । अझै पित्तृसत्ताको सोच नबदलिएकोले महिलाहरुले अधिकारबाट बंचित हुनुपरिरहेको उनको बुझाई छ । संविधानले महिलाको ३३ प्रतिशत अधिकार किटान गरेपनि व्यवहारमा कार्यान्व्यन नहुँदा दुःख लागेको छ उनलाई । संविधानमा किटान भएको भए महिलाहरुले उपसभामुख हुन नै पाउने थिएनन् । यसैले कानून, नीति, नियम बनाउँदा अर्मूत हैन मूर्त हुनुपर्ने उनी बताउँछिन् । जिम्मेवारी पाएका सबै महिलाहरुले कुशल नेतृत्व गरेर सफल उदाहरण प्रस्तुत गरिसकेकोले महिलाहरुलाई विभेद हैन अवसर दिनुपर्ने उनको सुझाव छ । विद्यादेवी भण्डारी, ओनसरी घर्ती, शुसिला कार्की सबै अव्वल ठहरिए अनि अझै महिलालाई पाखा किन ?

कुनै पनि पद सजाउन हैन गरेर देखाउनका लगि हो भन्ने मान्छिन सरस्वती । यसैले उपसभामुख भएपछि पनि धेरै गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । भूमिका पदले हैन व्यक्ति पनि खोज्नुपर्छ, उनी भन्छिन् । यसैले पनि फुर्सदको समय पनि उनले जनताकै लागि खर्चने गरेकी छन् । संसद सचिवालय र सभामुखसँग उनको सहकार्य अति राम्रो छ । सहकार्य गरेर सदन र सभा चलाउँछन् ।
………………………………..

सम्झदै जिरिंग हुने ती तीन घटनाहरु 

माओवादी भूमिगत जनआन्दोलनमा सक्रिय हुँदा धेरै हण्डर ठक्कर खाएको अनुभव छ उनीसँग । सबै कहदाँ कितावै बन्छ । यसैले केही मुख्य घटना सुनाउँछिन् उनी । २०६२ मा उनलाई सुत्केरी व्यथाले च्याप्यो । पहाडमा सुत्केरी गराउने सुबिधा नभएको र सुरक्षा जोखिम पनि भएकोले मधेश झर्नु पर्ने भयो । मधेश झर्दा इलामको गोदक भन्ने ठाउँमा पहिलो छोरो आयूषको जन्म भयो बाटैमा । यस्तै दुई चोटी त मरेर पनि बाँचेकी थिइन् उनी । संखुवासभामा आएको १५ दिन जति भएको थियो । बासु शाक्यसँग उनी पार्टी गतिविधिमा संलग्न थिइन् । नुनढाकी भन्ने ठाउँमा जनताको घरमा सेल्टर थियो । कार्यक्रमा जाँदै गर्दा सेनासँग जम्का भेट भयो । तर, उनी जंगलभित्र लुकेर जोगिइन् ।

सेनाले कालोकुर्ता लगाउने केटी खै भनेर गाउँ गाउँ खोज्यो तर फेला पारेन । संखुवासभाको मैदानेमा सेल्टर थियो । शारदा जिल्ला सेक्रेटरी थिइन् । जुनियर कार्यकर्ताहरु सेन्टिमा थिए । कस्सेर पड्केको आवाज आयो । सेनाले शक्त्तिशाली गोली हानेको रहेछ । उनीसहित कार्यकर्ता भागेर जंगल पसे । दिनभरी जंगलमै बसे । मध्यराति भएपछि बल्ल जंगलबाट निस्केर गाउँ पसे । सेनाले भेटेको भए स्पट इन्काउन्टर गर्ने थियो ।

संखुवासभाको बतासे भन्ने गाउँमा एउटा कार्यक्रम थियो । सुधा सापकोटाका छोरीहरु कार्यक्रममा सहभागी थिए । सभामा सेनाले गोली चलायो । एक जना छोरीले त्यही शहादत प्राप्त गरिन् । बाबु र दाजु पहिले नै मारिइसकेका थिए । पछि सेल्टरमा फर्केर छोरी मारिएको घटना सुनाउन निक्कै गाह्रो भयो । सुनाएपछि आमा सुधा बेहोस् भइन् । तर, पछि होस् आएपछि आफूलाई सम्हाल्न सफल भइन् । त्यो बेला गंगा श्रेष्ठ (प्रभात) हाल नयाँ शक्त्ति पार्टीमा आवद्ध) ले निक्कै सह्रानीय भूमिका खेलका थिए ।

प्रतिक्रिया

Loading...