मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता !

–फणिराज नेपाल

पुरुषलाई रक्सी नखाउ भनेर सिकाउन कुनै संस्था आउदैनन् ? जति संस्था आए पनि हामी महिलालाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ? आफूहरू जतिसुकै परिवर्तन भए पनि पुरुषहरु रक्सीको लतमा फस्दा घरघरमा अशान्ति र हिंसा कायम रहेकोतर्पm पत्रकारको टोलीलाई महिला समुहले पोखेको पीडा ।

रक्सीको लत नलागेको भए उनी यतिखेर काखमा सन्तान खेलाइरहेका हुन्थे अर्थात् श्रीमतीसंग सपरिवार रमाएर बस्दथे । रक्सीका कारण पिउँदा पिउँदै रेष्टुरामै लडेको र अत्यधिक रक्सीले वेहोश भएर शौचालयमै ढलेका कारण श्रीमतिले थाहा पाएर हत्तरपत्तर उठाई अस्पताल पुर्याएको घटनाहरु प्रायः समाचारमा पढी, बुझी आएको कुरा हो (नागरिक २०७५।८।१–७) ।

माथिका संक्षिप्त उदाहरणले नेपालमा सामाजिक र पारिवारिक अवस्था कस्तो छ ? भन्ने बुझाउँछ । सरकारका गलत नीतिका कारण मदिरा व्यवसायहरू छरपस्ट भएर खुलेका छन् । राजस्व संकलनका नाममा मदिरा व्यवसाय संचालनको अनुमति दिने निकाय नै चार–पाँच वटा छन् । देशमा चलानी रक्सी उद्योग खोल्न स्वीकृती पाएका संख्या ८३ मध्ये ५२ वटा संचालनमा छन् । प्रकृया पुर्याउँदै रक्सी उद्योगहरू खोल्ने क्रम बढेर गएको छ । वर्तमानमा गृहमन्त्रालय शान्ति तथा सुरक्षामा खलल पुरयाउने रक्सी नै सबै फसादको जड हो भनेर नियमन गर्ने ध्याउन्नमा छ भने उद्योग मन्त्रालय चाहिँ दर्ता भएर प्रकृयामा आएकालाई स्वीकृति दिनु पर्ने कुरामा जोड दिई आएकाले यी दुईबीच जुहारी छ ।

उद्योग दर्ताको लाइसेन्स लिन नै करोडौंको चालखेल रहने गरेको कुरो सुनिन्छ । यी दुई मन्त्रालयको बीचको जुहारीमा खासमा अग्रसर गनुपर्ने निकाय अर्थमन्त्रालय भने मौन छ, कारण मदिरा ऐन र नियमावली बनाउने अर्थमन्त्रालय नै हो । अर्थ मन्त्रालयको संयोजकत्वमा गृह, स्वास्थ, उद्योग तथा वाणिज्य मन्त्रालयहरूको बीच समन्वय भई नीति नियम बनाई कार्यान्वयन गर्दा सहज हुने देखिन्छ ।

नागरिकको स्वास्थ तथा सुरक्षाका हिसाबले मदिरा व्यवस्थापन, नियमन तथा नियन्त्रणका लागि मदिरा व्यवस्थापन अभियानले २०६९ सालदेखि विभिन्न कार्यक्रम संचालन गरी दवाब दिँदै आएको छ । साँच्चै भन्ने हो भने मदिरा व्यवस्थापनका लागि नियमन नै छैन । मदिरा ऐन २०३१ र नियमावली २०३३ ले मदिरा उत्पादन, बिक्री वितरण, इजाजत, गुणस्तर, आयात र उद्योग खोल्दा अपनाउनु पर्ने सावधानी, सीमाबारे व्यवस्था गरिएको छ ।

मदिरा नियमावली २०३३ ले मदिरा व्यवसाय संचालन गर्दा देवस्थल र पाठशालाको २०० गजभित्र पसल संचालन गर्न पाइने छैन भन्ने व्यवस्था रहेको थियो । तर, २०६५ को शंसोधनले उपरोक्त व्यवस्था पूरै खारेज गरिदियो । तर, सरकारको ध्याउन्न भने राजस्व बढीभन्दा बढी उठाउनका लागि बिहान १० बजेदेखि राति १० बजेसम्म खोल्न पाउने व्यवस्था कायम रहेकाले यसबाट मदिरा पान गर्ने बिहानैदेखि राति अवेरसम्म खान पाउन दिएको छुटले माथिको नियत प्रष्ट हुन्छ ।

विगतमा आदिवासी, जनजातिले पान गर्दै आएको मदिरा साँस्कृतिक रूपमा मान्य हुनुका साथै खानपान अनुशासित हुनाले त्यसबाट हुने कमजोरीको खासै चर्चा हुँदैन थियो । सीमित जातको मदिरापान पछिल्लो समयको परिवर्तन र खुला व्यवहारले प्रयोग बढ्दै गएको कुरालाई नकार्न सकिन्न । गाउँघरमा सीमित खानपानले विगतदेखि नै व्यवसायीक रूप लिई सहर, बजार, गल्ली, जहिँतहिँ, यत्रतत्र पाइन थालेको छ ।

सरसरती अनुगमन गर्ने हो भने शहर, बजारका प्रत्येक चार, पाँच घरपछि एउटा मदिरा पसल देख्न सकिन्छ । विहे भोज, वर्तबन्ध र खुसीयालीको निहुँमा मदिरा बिनाको कार्यक्रम खल्लो मान्न थालिइएको छ । आजभोलि त चोटपटक, बेदना विर्सन, मन बहलाउन, रमाइलो गर्ने बाहानामा, ठेक्कापट्टा पार्न, फुर्तीफार्थी देखाउन, भ्रस्टाचारको कारकको रूपमा पनि प्रसासनदेखि राजनीतिक क्षेत्रसम्म यसको प्रयोग बढ्दो रूपमा छ । भारतीय माझँ एउटा उखान प्रचलित छ – सुर्य अस्त नेपाल मस्त अर्थात् नेपाल मदिरामय हुँदै गइरहेको भान दिन्छ ।

तर, मदिरापानको बढ्दो संस्कारले मनोमालिन्य बढी रिसिइबी साँध्ने, महिला हिंसा हुने, बलात्कारका घटना बढ्दै जाने, कमाएको ठूलो अंश मदिरापानमा खर्च हुने, घर संचालन गर्ने नारी वर्गलाई अपहेलित गर्ने, केटाकेटीको पढाईको वातावरण बिग्रने, घटना, दुर्घटना भइ मृत्युसम्म हुने खबरहरू बराबर आइरहेका छन् ।

सन् २००८ मा स्वास्थ मंत्रालयले गरेको अध्ययनमा मदिरा सेवन गर्नेमध्ये ८५ प्रतिशत घरेलु मदिरा र १५ प्रतिशत चलानी मदिरा प्रयोग हुने गरेको देखिएको छ । बिना गुणस्तर मापनको यसखाले रक्सीका कारण कति रोगी, विकलांग, अंगभंग र कतिले मृत्यु वरण गरे होलान भगवानले नै जान्लान् ।

हिजो पहाड र तराईको सीमान्त क्षेत्रमा बन्ने घरेलु मदिरा अहिले आएर गाउँघर र शहरबजारका छेउछाउका क्षेत्रमा बन्ने गरेकाले नागरिकको स्वास्थ अवस्था कुनरुपमा रहेको होला विचारणीय छ ।

विश्व स्वास्थ संघले १२ वर्षअघि गरेको सर्वेक्षणमा १४ देखि ६० वर्ष उमेरका ३० प्रतिशतले मदिरा पान गर्ने गरेको उल्लेख छ । साथै स्वास्थ अध्ययन परिषद्को सन २०१३को तथ्यांकले १५ वर्षमाथिका ५० प्रतिशतभन्दा बढीले मदिरा पान गर्ने गरेको पाइएको छ । सात वर्षको भन्दा कम अवधिमा २० प्रतिशत भन्दा बढीले मदिरा पान गर्नेहरु बढ्दै जानु निको होइन । मानव स्वास्थप्रति सम्बद्ध तथा जिम्मेवार निकायहरु यसवारे मौन रहनु अझ दुखदायी कुरो हो ।

मदिरा पानले मानव स्वास्थमा के, कस्तो नोक्सान पुर्याउँछ भन्ने कुरा सन् २०१६ मा गरिएको एक अध्ययनले देखाउँछ । अमेरिकी इन्स्टीच्युट फर म्याट्र्ीक्स एण्ड इभ्यालुशनले नेपालसहित १ सय ९५ देशमा गरेको अध्ययनमा मदिरा सेवनका कारण नसर्ने रोगको जोखीम बढने, शारीरिक अशक्तता हुने र ज्यानै जाने खतरा रहेको उल्लेख छ ।

अध्ययनमा मदिरा सेवनका कारण सुगर, प्रेसर, आमाशयमा जलन, अशसक्ता, कलेजोको क्यान्सर, किडनीमा असर,अपच, र आन्द्राको क्यान्सर हुने उल्लेख छ । नेपालमा मदिरा सेवन गर्नेहरु २१ प्रतिशत पुरुष र १ं.५ प्रतिशत महिला पर्दछन् । विश्वमा मदिराका कारण वर्षेनी २८ लाख मानिसको मृत्यु भएको र नेपालमा पनि लगभग चारहजार व्यक्तिको भएको कुरा प्रकाशमा आएको छ ।

मदिरा व्यवस्थापन अभियानले २०६९ सालदेखि नागरिकको स्वास्थ तथा सुरक्षाको ख्याल गर्दै नारा, जुलुस, हस्ताक्षर संकलन, पर्चा वितरण, भित्ते लेखन, सार्वजनिक सुनुवाई तथा मिडियासंगको छलफल कार्यक्रममा सरकारलाई कानून बनाउन तथा व्यवसाय व्यवस्थापन गर्न जोड दिँदै आएको छ । तर, सरकारको मदिरावारे सोच केही भए पनि पर्याप्त भने देखिँदैन ।

२०७४ सालको आम निर्वाचनको बेला नेकपाको घोषणा पत्रमा मदिरा नियन्त्रण तथा नियमन गर्ने कुरा परेको हो । साथै आ. व. २०७४।७५ को बजेट भाषणमा मदिरा व्यवस्थापन तथा नियमन गर्ने कुरा उल्लेख भै आएको हो । अभियानको निरन्तर दबाब तथा पत्राचारको फलस्वरुप गृह मंत्रालय तात्तिन थालेको संकेत देखिएको छ ।

गएको महिनामा मदिरा उत्पादन, बिक्री वितरणको नियमन तथा नियन्त्रण आदेश ठाडोरुपमा ल्याउन गृह मंत्रालयले मन्त्री परिषद्मा पेश भएको कुरा विभिन्न पत्रपत्रिकामा आएपछि मदिरा उद्योगी तथा व्यवसायीहरुको विरोध र प्रतिक्रीया देखीन थालेको छ ।

विगतदेखिनै समाजमा बढ्दै गएको महिला हिंसा, बलात्कार र हत्याका घटनामा मदिरा मुख्य कारक रहेको र गाउँदेखी शहरबजारका गल्लीगल्लीमा जहीँतहीँ छ्यासछ्स्ती खुलेका मदिरा व्यवसायका कारण घरपरिवारमा कलह, अशान्ति, असुरक्षा, घटना, दुर्घटना, चोरीचकारी, तस्करी र त्यसकै आडमा भ्रष्टाचार पनि मौलाइरहेको अनुभव गरी गृह मंत्रालयको जोडमा मदिरा नियन्त्रण तथा नियमनका लागि कार्यकारी आदेशको रुपमा जारी गर्न तयार रहेको कुरा संचार माध्यममा आएपछि उद्योगी, व्यवसायीको विरोध देखिएको हो ।

उद्योगी, व्यवसायीले सरकारको कदमलाई मानिसको सामान्य जीवनयापन माथि नियन्त्रण गर्न खोजेको रुपमा लिएका छन् । आधुनिकीकरणसंगै मदिरा सेवनमा आम मानिसको पहुँच बढेको र देशमा पर्यटन क्षेत्रको विस्तार भैरहेको सन्दर्भमा मदिरा उनीहरुको मनोरन्जनको साधन हो, तसर्थ यस्तो कदमवाट पर्यटन आगमनमा असर पर्छ भन्ने भनाई रहेको छ । मदिरा विक्रीवाट अधिकांश रेष्टुरांको व्यापार, व्यवसाय चल्नुका साथै यस्तो कडीकडाउ आदेशले उत्पादन र विक्री वितरण गर्नेको आमदानीमा असर गर्छ, व्यापार, व्यवसाय चौपट हुन्छ भन्ने भनाइ रहेको पाइएको छ ।

उत्पादन तथा व्यवसाय गर्नु एउटा पाटो हो । तर, मानिसको स्वास्थ विग्रीनु, कुपभाव पर्नु, अशक्त हुनु, घटना, दुर्घटना हुनु, हत्या, हिंसा निम्तीनु, भ्रष्टाचार मौलाउनु निको कुरा होइन । मदिराले मानव स्वास्थमा नकारात्मक असर गर्छ भन्ने कुरा माथिनै उल्लेख गरियो । समाजलाई अक्रान्त पार्ने, मानिसलाई रोगी बनाउनेमात्र नभई यसका कारण विभिन्न नसर्ने रोग लागि बढदै जाँदा त्यसको निदानका लागि सरकारले ठूला अस्पताल, श्रोत साधन र जनशक्तिको व्यवस्थापनमा ठूलो लगानी हुने कुरालाई बिर्सन मिल्दैन ।

अभियानले मदिरा व्यवस्थापन विषयमा उठाउँदै आएको कुरा– मन्दिर, मस्जिद, विद्यालय, अस्पताल तथा सार्वजनिक चोकको एक किलोमिटर बाहिर संचालन गर्ने व्यवस्था लगायतको माग गरी आएको छ । भारतको बिहार राज्यमा शराब बन्द हुँदा हामी चाहीँ मदिरा पर्यटनलाई बढावा दिने हिसाबले सीमामै मदिरा व्यवसाय संचालन गर्न दिनु स्थानीय तह, निकाय तथा सम्बद्ध मंत्रालयको ठूलो कमजोरी हो र नागरिकको स्वास्थप्रति जिम्मेवार पनि नहुनु हो । जनतावाट चुनिएर आएका प्रतिनिधीले नागरिकको स्वास्थ तथा सुरक्षाप्रति चिन्तीत रहनु जरूरी छ ।

उद्योगी, व्यवसायीहरुले पनि के कुरामा ध्यान दिन जरुरी छ भने एक त विषाक्त पदार्थ बेच्नु, पान गर्नु, गराउनु, कुनै हिसाबले पनि ठीक हाइन । जथाभावी खोलिएका व्यवसायका कारण शहरबजारको सौन्दर्य बिग्रेको छ, मानव समाज विक्षीप्त हुँदोछ । उमेर पुगेका जनशक्ति रोगी हुँदा राष्ट््र कसरी निरोगी वन्न सक्छ र देश समृद्ध बन्दछ। सवै पक्षले गम्भीर भएर सोचौंँ र मदिरा व्यवसायलाई व्यवस्थापन तथा नियमन गरी कार्यान्वयनतर्फ लागौं ।

लेखक,म दिरा व्यवस्थापन अभियान विराटनगरका संयोजक हुन् ।

Loading...