महासंघको राष्ट्रिय भेलाका लागि झिना तर संवेदनशिल विषयहरु


गणेश लम्साल
व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने मूल नारासहित नेपाल पत्रकार महासंघको अध्यक्षहरुको राष्ट्रिय भेला आज आरम्भ भइरहेको छ । एक नम्बर प्रदेशको राजधानीसमेत रहेको ऐतिहासिक नगरी विराटनगरमा आयोजना भइरहेको यो भेला निक्कै अर्थले महत्त्वपूर्ण र सान्र्दभिक पनि छ ।

नेपाल पत्रकार महासंघ संघीय संरचनामा गएपछि पहिलो–पटक अधिकार कार्यान्वयन पनि यो भेलाबाट हुँदैछ । देशमै पहिलो एक नम्बर प्रदेश समितिको आयोजना र मोरङ, सुनसरी र झापा शाखाको आतिथ्यतामा भइरहेको यो भेलाले आफ्ना लागि मात्र होइन आम सक्रीय श्रमजिवी पत्रकारहरु र नेपाली पत्रकारिताको विकासमा नयाँ ठोस निर्णयहरु गर्ने आम अपेक्षा छ । यसैले यो ७७ जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएटका अध्यक्षहरु, सातवटै प्रदेश समितिका अध्यक्ष र महासचिवहरु अनि केन्द्रीय समितिका पदाधिकारी र कार्यसमिति सदस्यदेखि पत्रकारिता क्षेत्रका विज्ञ र अगुवाहरु समेतको सहभागिता भएको यो भेलाले नेपाल पत्रकार महासंघमा आइपर्ने झिना तर ंसंवेदनशिल विषयहरुलाई चासो दिन आवश्यक छ ।

पूर्ण व्यवसायिक पत्रकारितामा जोड
नेपाली पत्रकारिता जति–जति अगाडि बढ्दैछ उतिनै समस्यामा पनि फस्दै गइरहेको छ । किनभने, हिजोको जस्तो पत्रकारितामा कोरा मिशन मात्र छैन आम पत्रकारहरुको जिजिविषासँग जोडिएको व्यवसायिकता पनि छ । तर, जति–जति नेपाली पत्रकारिता अगाडि बढ्दैछ उति नै चरण व्यापारिकरण पनि हुँदैछ । चरम व्यापारिकरणले पत्रकारितालाई पूर्ण व्यवसायिक बनाउन सक्दैन । बरु पत्रकारिताको आचारसंहिता र मर्महरुलाई प्रहार गर्छ र नैतिक बल कमजोर बनाएर शाख सखाप बनाउँछ । यसैले पूर्ण व्यवसायिक पत्रकारिताका लागि चरम व्यापारिकहरुलाई नियन्त्रण गर्न आवश्यक छ । यसका लागि संचारकर्मी र पत्रकार अनि संचारकर्म र पत्रकारिताको फरक छुट्याउनुपर्छ ।

पत्रकारिताको योगदान र व्यवसायको मर्यादाको दायरा तोक्नुपर्दछ । पत्रकारिता केवल व्यापार मात्र हो वा सामाजिक उत्तरदायित्वसहितको जिम्मेवारी पनि हो यसबारे सञ्चार संस्थाहरुका लागि समेत प्रष्ट नीति हुनुपर्दछ ।

सक्रिय श्रमजिवी पत्रकारलाई उचित पारिश्रमिक
एकातिर पत्रकारिता क्षेत्र चरम व्यापारिकण त भइरहेको तर काम गर्ने सक्रिय श्रमजिवी पत्रकारहरु चरम शोषणमा पर्न बाध्य भइरहेका छन् । अझै पनि उनीहरुले न्युनतम ज्याला पाउने गरेका छैनन् । पाएपनि ढिलो गरी थोकमा हैन खुद्रामा पाउने गरेका छन् ।

जोखिम मोलेर फिल्डमा खटिने सक्रिय पत्रकारहरुको आर्थिक, भौतिक र भविष्यको सुरक्षा अवस्था अझै चिन्ताजनक छ । केही व्यापार क्षेत्रमा जोडिएका, राजनीतिमा लागेका र अन्य वैकल्पिक पेशा अँगालेका पत्रकारहरुलाई ‘पत्रकार हुँ’ भन्न ठीकै होला । तर, पत्रकारितालाई नै मूल पेशा बनाइरहेका पूर्णकालिन आदर्शवान पत्रकारहरु चाँही अझै कन्त बिजोकै अवस्थामा छन् । अझै पनि आज के खाउँ भरे के लाउँको अवस्था छ । आत्मसम्मानलाई धितो राखेर मागेर गुजारा चलाउनुपर्ने अवस्था छ ।

दुःख बिमार पर्दा सहयोगी र संस्थाहरुको सहयोगले दयाका लागि चन्दा माग्नुपर्ने अवस्था छ । एकातिर मालिक पत्रकाहरुहरु झन् सुकिला–मुकिला हुँदै गइरहेका छन् र सक्रिय श्रमजिवी पत्रकारहरु झन् झन् जीर्ण भइरहेका छन् । सरकारले निजी क्षेत्रमा काम गर्ने मजदूर कर्मचारीका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गराइसकेको छ । तर, पत्रकारिता क्षेत्रमा अझै यो सुरुआत भएको छैन । अझै पनि दुर्घटना बीमासमेत सरकारले गरिदिनुपर्ने, समाचर संकलन गर्दा घाइते भएका पत्रकारलाई महासंघले चन्दा खोजेर उपचार गरिदिनुपर्ने जस्ता अनेक समस्याहरु ज्यूका त्हूँ छन् । यसैले जबसम्म आम श्रमजिवी पत्रकारहरुको सामाजिक सुरक्षाको पूर्ण ग्यारेन्टी हुँदैन तबसम्म पूर्ण व्यवसायिक पत्रकारिता पनि हुँदैन ।

यसैले महासंंघको भेलाले तय गरेको ‘व्यवसायिक पत्रकारिताको आधार प्रेश स्वतन्त्रता र श्रम अधिकार’ नारालाई सार्थक बनाउन सबै लागिपर्नुपर्छ ।
बिचौलिया प्रवृत्तिको अन्त्य र सिमान्तकृतहरुको सहभागिता

नेपाल पत्रकार महासंघ एउटा शक्त्तिशाली संगठन हो । यसले विगतमा खेलको भूमिकाहरुले यो प्रष्ट भइरहेको छ । तर, बिचौलिया प्रवृत्तिले गर्दा महासंघ आजका दाह्रा र नंग्रा नभएको बाध जस्तो भइरहेको छ ।

यसैले यसलाई विदेशी, राजनैतिक दल, व्यापारिक घराना, माफियाहरु र सत्ताधारी सरकारले नाडी छामेर उपयोग गर्न थालेका छन् । यसैले महासंघ के हो, उद्देश्य के हो, झरेका दाह्रा र नाग्रा कसरी बढाउँन, फलाउन सकिन्छ र महासंघलाई पहिलकै जस्तो बलियो बनाउँन सकिन्छ । यसबारे यो भेलाले गहन छलफल गर्र्नैपर्छ ।

महासंघ संचालकहरुको हो की, महासंघ श्रमजिवीहरुको हो की, महासंघ एनजीओ आइएनजीओ हो की, सरकारको प्रवक्ता हो की वा कथित नागरिक समाज भन्ने केही अगुवाहरुको गोटी हो, प्रष्ट हुनुपर्छ । नत्र पत्रकार महासंघ भोलिका दिनमा झन् कमजोर र शाखा गुमेको संस्था बन्न पुग्नेछ । यसैले आफ्नो अधिकार, कार्यक्षेत्र र जिम्मेवारीबारे छलफल तीब्र हुनुपर्छ । नत्र दोहोरो तेहोरो भूमिका खेल्नेहरुले महासंघलाई ’ताक परे तालमा नचाउँने र नपरे थकाउँने ’ गरिरहन्छन् ।

महासंघले चासो दिनुपर्ने अर्को महत्त्वपूर्ण कुरा सिमान्तकृत समुदायको समान सहभागितामा जोड पनि हो । यसकागि राज्यको मूल प्रवाहबाट पछाडि पारिएका महिला र दलित आदिवासी र अल्पसख्यक समुदायलाई कसरी पत्रकारिताको मूलप्रवाहमा जोड सकिन्छ भन्ने नीति आवश्यक पर्दछ ।

उठेर पनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको यो मुद्दालाई महासंघले चासो दिएमा अगाडि बढ्न तातो लाग्नेछ ।

अधिकार बाँडफाँड र हैसियतमा प्रष्टता

महासंघ विधान अनुसार नै संघीय संरचनामा गइसकेको छ । प्रदेश समितिहरु अस्तित्वमा आइसकेका छन् । तर, अझै अधिकार बाँडफाँडको सवालमा नीतिहरु बाझिएका छन् । शाखा, प्रदेश र केन्द्रको भूमिकाबारे बिवाद हुन थालेका छन् । यसैले काम कारवाहीमा एकरुपता ल्याउँदै, सांगठनिक एकतालाई बलियो बनाउन अधिकारको बाँडफाड नीति निर्देशिका बनाएर प्रस्ट गरिनुपर्दछ । नत्र, भोलि महासंघका तहहरुमै बिवाद सिर्जना हुन थालेमा संगठनको ‘चेनअफ कमाण्ड’ खुकुलो भएर सिंगो महासंघ नै कमजोर बन्न जानेछ । आम नागरिकहरुबीच आफनो इतिहास र अस्तित्वलाई गुमाउनुपर्ने जोखिम निम्तिन सक्छ ।

अर्कोतिर पत्रकार महासंघ संघीय संरचनामा गइसकेपछि अब आफ्नो आन्तरिक हैसियतबारे पनि नीति बनाउन आवश्यक छ । कुन तहको कुन पदाधिकारी, कार्यसमितिको हैसियत कस्तो हुने उसले मातहतको निर्देशन के कति कसरी मान्नुपर्ने र संघका पूर्वजहरुको हैसियत के हुने भन्नेबारे प्रस्ट हुनुपर्छ । नत्र महासंघ संगठनिक पद्धतीमा अराजक बनेर जाने पक्का छ र मागी, ठगी, डुली खानेहरुले महासंघको हैसियतवाला बनेर दिग्भ्रमित बनाउने छन् ।

प्रष्ट कानून र स्थानीय विज्ञापन नीति निर्माण

जारी फौजदारी र देवानी संहिताले गर्दा नेपाली पत्रकारिता झन् जोखिममा परेको छ । संबिधानको प्रस्तावना र मौलिक अधिकारमा सुनिश्चित भएपनि घुमाउरो पारामा दुःख दिने नियतले अनेक कानूनहरु निर्माण भइरहेका छन् । अझ प्रदेश सरकार र स्थानीय तहहरुले पनि मनमौजी संचार कानूनहरु निर्माण गरिरहेका छन् ।

कतिसम्म भने उनीहरुले संचार संस्थाहरुलाई दण्ड जरीवाना आफैले गर्ने तजबिजी कानूनहरु बनाइरहेका छन् । यस्तै अवस्था रह्रो भने भोलि पत्रकारिताको विकास र स्वतन्त्रताको अवस्था के होला ?

अर्कोतिर मुलुक संघीय संरचनामा गएपनि विज्ञापन नीति केन्द्रीय प्रकारकै छ । अझै पनि स्थानीय तह र प्रदेश सरकारमार्फत् प्राप्त हुने विज्ञापनहरु समानुपातिक रुपमा स्थानीय सञ्चार माध्यमहरुले पाइरहेका छैनन् । सँगसँगै संघीय संरचनामा प्रेस काउन्सिल, सूचना विभाग र अन्य संचार सम्बद्ध संघसंस्थाहरुको के र कसरी स्थापना हुने र अधिकारहरु के के हुने भन्नेबारे पनि प्रस्ट नीति बनाउन आवश्यक छ । अर्को पत्रपत्रिकाहरुको वर्गीकरण गर्दा स्थानीय सामग्रीको प्रकाशन प्रशारणलाई पनि ख्याल गर्न आवश्यक छ । यसका लािग प्रदेश प्रदेशमा चाँडो मिडिया आयोग वा प्राधिकरण गठन गराउनुपर्दछ ।

प्रविधि , अभिलेखीकरण र आन्तरिक शुसासनमा जोड

पत्रकार महासंघ जति ठूलो र शसक्त्त संगठन छ उति नै पारदर्शी र शुसासनयुक्त्त र प्रविधि मैत्री हुनसकेको छैन । अझै सडकमा ओर्लिएर हल्ला गर्ने अनि अराजक बनेर आफ्नो उपस्थिती देखाउनमै हामीले शक्ति ठानिरहेका छौं । तर, सधैभरी यसरी चल्दैन ।

समाज जतिजति शिक्षित बन्दैछ उति नै हामीले पनि आफूलाई दक्ष र धैर्यशाली बनाउन आवश्यक छ । यसैले महासंघले एउटै प्रकारको सबै शाखाहरुमा बेवसाईट संचालनमा ल्याउनुपर्दछ । जसले सबैतिरका गतिविधि थाहा पाउन सहयोग पुग्दछ । अर्को पत्रकार महासंघको आन्तरिक शुसासन प्रभावकारी छैन ।

एउटा घाइते पत्रकारका लागि पठाएको फाइलमा निर्णय हुन पनि हप्तौ लाग्ने गरेको छ । अभिलेखिकरणहरु पनि व्यवस्थित छैनन । यसैले हरेक शाखाहरुहरुले पत्रकारको विगत र वर्तमान अनि पत्रकारहरुको क्षमता, दक्षता झल्कने गरी अभिलेखीकरणमा जोड दिन आवश्यक छ । किनभने, बोलेका कुराहरु मासिन्छन तर अभिलेखिकरण भयो भने त्यो इतिहासका लागि सुरक्षित हुन्छ । महासंघले आन्तरिक शुसासनका लागि संस्थागत तालिमहरु पनि आयोजना गर्नु आवश्यक छ ।

शुद्धिकरण र पारदर्शीता अनि आचारसंहिताको पालनामा कठोर

महासंघले कठोर भएर गर्नेपर्ने मुख्य कुराहरु आन्तरिक शुद्धिकरण, पारदर्शीता र आचारसंहिताको पालनामा जोड हो । यसमा हुनुपर्ने जति कठोर हुन नसक्दा पत्रकार र पत्रकारिता पटक पटक बिवादमा आउने गरेको छ ।

कतै पत्रकारहरुका असमाजिक गतिविधि, कतै अपराधसँग साँठगाँठ अनि कतै समाचारीय तत्वबिनै समाचार लेखन कार्यहरुले समस्या ल्याउने गरेको छ । आचारसंहिता र अनुशासन पालना गर्न नपर्ने जे गरेपनि हुने अरुको जीवन, मान प्रतिष्ठालाई पनि ख्याल गर्ने अनि, आपत आइलागेपछि महासंघको शरणमा पर्ने र महासंघले सबै कुरा ढाकछोप गरेर आफनो ईज्जतप्रतिष्ठाका लागि संरक्षण गर्ने प्रचलन अब अन्त गर्नुपर्छ । अनुशासन र आचारसंहिता पालना नगर्ने पत्रकार र संचार माध्यमहरुलाई संरक्षण गर्न छोडनुपर्छ ।

अनि सबैलाई थाहा छ पूर्ण व्यवसायिक पत्रकारितामा जोड दिइरहँदा हामी कस्ता कस्ता व्यक्त्ति पेशामा सक्रिय भइरहेका छौं । मान र नामका लागि मात्र पत्रकारितासँग जोडिनेहरुलाई हैन जिम्मेवार पत्रकारितामा जीवन रोज्नेहरुलाई महासंघले संरक्षण गर्नुपर्छ । अदक्ष र असक्षमहरुको भीँड खडा गरेर भोट राजनीतिको अखडाबाट महासंघलाई मुक्त्त गराउन सबै लागिपर्नुपर्छ । त्यसका लागि महासंघका सबै शाखा र सक्रिय पत्रकारहरु निर्मम बन्न आवश्यक छ । अब मेरो वा हाम्रो संगठनको भनेर सधैँभरी असक्षम र अदक्षहरुलाई काखी च्यापिरह्यो भने चम्चाले ढुंग्राको सबै घ्यू निकालेर रित्याए जस्तै हामीलाई पनि रित्याउने पक्का छ ।

अन्तमा महासंघले ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरा पारदर्शीता । किनभने नेपाल पत्रकार महासंघ आफ्नो ठोस आम्दानी नभएको संस्था हो । यसैले यसले दाताहरुको सहयोगमा निर्भर हुनुपर्ने बाध्याता छ । र, प्रचलन अनुसार महासंघका सबै शाखा र केन्द्र यसैगरी सञ्चालन हुँदै आएको छ । तर, कतिपयले महासंघलाई मौकाको फाइदा उठाउँदै कमाइखाने भाँडो बनाएका छन् ।

जसले गर्दा महासंघको नेतृत्व लिन हजारौं लाखौं खर्चेर होडबाजी गर्ने प्रचलन समेत बढिरहेको छ । यसैले महासंघलाई मितव्ययी र पारदर्शी बनाउन, सबखाले आम्दानी र खर्चहरु प्रकाशन गर्न लगाउनुपर्दछ । हुनतः महासंघले लेखा प्रणाली संचालन गरेपनि धेरै व्यवस्थित पनि भएको छ तर यति मात्र पर्याप्त छैन । चन्दा र सहयोग संकलन गर्दा रसिद र बैकिंग प्रणाली पनि लागू गराउनुपर्दछ । ख्याल गरौं,— सूचनाको हक हामीले पनि मान्नुपर्छ । कुनै नागरिकले हाम्रंो गतिबिधि र हामीसँग भएको तथ्यांक र खर्च विवरणबारे सूचना मागे हामीले दिनुपर्छ की पदैन ?

यसैले चासो दिनुपर्छ झिना तर शंवेदनशिल विषयहरुमा नागरिक अधिकार, मानव अधिकारको पालना अनि प्रेस तथा अभियव्यक्त्ति स्वतन्त्रताको रक्षा र कार्यरत श्रमजिवी पत्रकारहरुको हकहितकालागि निरन्तर अभिभावक बनेर लागिपर्नु नेपाल पत्रकार महासंघको मुख्य उद्देश्य हो । र, यसकालागि विगत र बर्तमानमा पत्रकार महासंघले आफनो भूमिकालाई निभाउँदै आएको पनि छ ।

यसैले पनि होला नेपाल पत्रकार महासंघ नै आम नेपाली पत्रकारहरुको हकहितका लागि आशा र भरोसाको केन्द्र पनि बनिरहेको छ । निरंकुश पञ्चायती व्यवस्थालाई ढाल्नका लागि सुरू भएको मिसन पत्रकारिता आज पूर्ण व्यवसायिकरणतर्फ उन्मुख हुँदै गइरहेको छ । प्रष्ट छ नेपाली पत्रकारिता र पत्रकारहरुले धेरै आरोहअवरोह झेलिसकेका छन् । यसैले भन्नुपर्ने हुन्छ, ‘नेपाल पत्रकार महासंघले अब आफ्नो भूमिका बिगतमा गरेका काम कारवाही, आफ्नो सामथ्र्य, सेवा प्रवाह र नागरिक अधिकारका लागि खेल्नु पर्ने थप भूमिका र सक्रिय श्रमजिवी पत्रकार र नेपाली पत्रकारिताको श्रीबृद्धिका लागि लिनुपर्ने जिम्मेवारीबारे सिंहवालोकन आवश्यक छ ।

तर, दुई दिने भेलामा यति धेरै विषयमा सिंहवालोकन गर्न सम्भव नभएपनि निर्मम समीक्षा गरेर केही झिना तर संवेदनशिल कुराहरुलाई आत्मसात गर्न जरुरी छ । यो भेलामा सहभागी भएका सबैले यसलाई वेवास्ता नगरी आवाजक मुखरित गर्नेछन भन्ने विश्वास पनि आम पत्रकारहरुको छ । किनकी, यो भेला शक्त्तिशाली मात्र नभएर आगामी नीति र रणनीति निर्माणका लागि निर्णायक पनि हो ।

लेखकः नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य तथा पूर्वाञ्चल सह–संयोजक हुन् ।

Loading...