‘नेपाल आइडल’का सेकेण्ड रनरअप कृष्ण खवासले ल्याए हिन्दी–नेपाली मासअप (भिडियोसहित)


विराटनगर, मंसिर १३
वि.सं २०७० सालमा एनटिभी प्लसबाट प्रशारित कार्यक्रम ‘नेपाल आइडल’का सेकेन्ड रनरअप कृष्ण खवासले हिन्दी र नेपाली गीतहरुलाई सम्मिश्रण गरी मासअप बनाएका छन् । लामो समयदेखि संगीत क्षेत्रमा संघर्षरत कृष्णले चर्चित नेपाली, हिन्दी र पञ्जावी गीतको मासअप बिहीबार सार्वजनिक गरेका छन् ।

कृष्णको आवाजमा समेटिएको उक्त मासअपमा गायक दीपक बज्राचार्यको ‘मायाको डोरीले’ र ‘मन मगन’का साथमा हिन्दी चर्चित गीतहरु ‘बन्जा तु मेरी रानी’, ‘नशे से चढगई’ लगायत दर्जन गीतहरु रहेका छन् ।

सन्दीप सरदारको संगीत संयोजन रहेको उक्त मासअपको भिडियोमा गायक खवास आफैं देखिएका छन् । अभिषेक देवानको सिनेमाटोग्राफीमा बनेको सो भिडियोलाई सन्दीपले नै सम्पादन गरेका हुन् ।

गायक खवास विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी आदर्श क्याम्पसबाट बीएससी गर्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । उनले भारतीय टेलिभिजनबाट प्रशारण हुने चर्चित रियालिटी शो ‘सा रे गा मा पा’मा पनि अनुभव बटुलेका छन् ।

सानैदेखि गायनमा रुचि राख्ने कृष्ण खवास मोरङको सुन्दरहरैंचा–२, पथरघट्टामा जन्मिएका हुन् । उनले ‘ओ माई लभ’ भन्ने पहिलो एल्बम निकालेका थिए जुन म्युजिक भिडियोमा समेत उनी आफैंले मोडलिङ् समेत गरेका छन् ।

सन् २०१७ मा दुबई बस्दा उनी क्याम्पका च्याम्पमा तेस्रो स्थानसमेत भएका थिए । इन्डियन आइडलमा समेत छनौट भएका उनी रासन कार्ड नभएको कारण सहभागी हुन पाएनन् । बाल्यकाल अवस्थादेखि संघर्ष गर्दै आएका उनी गाउँघरमा हुने किर्तन भजनबाट प्रभावित हुँदै बुवाआमाको प्रेरणाबाट आज यो उचाइमा पुगेको बताउँछन् ।

शिक्षामा अबल रहेका उनी सुन्दरहरैंचा–२ मृगौलियामा रहेको लभ्ली एन्जलबाट अध्यन गर्दै महेन्द्र मोरंग बहुमुखी क्याम्पसबाट बीएससी गर्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Loading...