ललितपुर, असोज १९
बलात्कार आरोपमा समातिएका व्यक्ति प्रहरीकै बीचबाट भागेको २४ घन्टा नबित्दै फेरि पक्राउ परेका छन् । ललितपुर महाँकाल गाउँपालिकाकी १३ वर्षीया किशोरीमाथि बलात्कार प्रयास गरेका भारतीय नागरिक बब्लुकुमार माझी बिहीबार प्रहरीको घेराबाट भागेका थिए ।
त्यसपछि प्रहरीले आरोपी भगाएको भन्दै स्थानीयले विरोध गरेपछि प्रहरीले तत्कालै खोजी थालेको थियो । दिउँसो करिब २ बजेतिर भागेका उनलाई प्रहरीले आज (शुक्रबार) बिहान करिब ४ बजे पक्रेको हो । उनलाई ललितपुरकै माथिल्लो गोटीखेलबाट पक्रेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए ।
२० वर्षीय आरोपी माझी भारत घर भई हाल ललितपुरको महाँकालमा बसेर एक ग्रील उद्योगमा काम गर्दै आएका थिए । भारतको देदीयाका उनलाई प्रहरीले बुधबार राति १० बजेतिर सुतिरहेकी छिमेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पक्रेको थियो ।