काठमाडौं, असोज १८
एभरेस्ट प्रिमियर लिग (इपिएल) को तेस्रो संस्करण आगामी मंसिरबाट हुने भएको छ । आज काठमाडौंमा प्रतियोगिताको आयोजक एभरेस्ट प्रिमियर लिगले पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो ।
घोषित मितिअनुसार १५ दिनसम्म चल्ने प्रतियोगिता आगामी मंसिर २२ देखि पुस ७ गतेसम्म हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले तेस्रो संस्करणलाई आयोजकले विशेष बनाउन लागेको पनि बताए । त्यसका लागि आयोजकले भौतिक व्यवस्थापनदेखि लिएर अन्य कुरामा पनि तयारी थालेको बताए ।
‘तेस्रो संस्करणलाई व्यवस्थित र भव्य बनाउन हामीले विदेशी खेलाडीदेखि उत्कृष्ट विदेशी प्रशिक्षकसमेत ल्याउने तयारी गरेका छौं,’ निर्देशक अख्तरले भने ।
प्रतियोगिता अवधिभर दैनिक एक खेल हुने आयोजकले जनाएको छ । यस संस्करणमा विराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स–११ ले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघिको संस्करणको उपाधि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी गरेको विराटनगर वारियर्सले जितेको थियो ।