विराटनगर, असोज १८
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धुलो दूध (दूध पाउडर)को रुपमा व्यवस्थापन गर्ने बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको आज उद्घाटन गर्दै उनले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताएका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका मुख्यमन्त्री राइले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरीद गरी धूलोे दूध उत्पादनमा स्तरोन्नति कार्य गर्ने जानकारी दिए । उनले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रुपमा विकास गरी रोजगार प्रदान गर्न सरकारले विज्ञसँग परामर्श र छलफल गरिरहेको बताए ।
मुख्यमन्त्री राईले प्रदेशमा बङ्गुरपालनको प्रचुर सम्भावना रहेको र यसको मासु निर्यातका लागि बजारका रुपमा छिमेकी देश भारतको सिक्किम, अरुणाचल प्रदेश, दार्जिलिङ र भूटानमा रहेकाले कृषकलाई आवश्यक प्राविधिक ज्ञान प्रदेश सरकारले प्रदान गर्ने बताए ।