पर्वत, असोज १८
१६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको अभियोगमा नेवी संघ सभापतिलाई १० वर्ष जेल कैदको फैसला सुनाइएको छ । कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको हो ।
नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीसहित अन्य युवालाई विसं. २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी किशोरीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो । उनीसँगै दुई बालक पनि पक्राउ परेका थिए ।
कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भएका क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार जेल सजाय सुनाएको हो । क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको छ । यसैगरी क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पाँच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ ।
यस्तै अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ ।