एजेन्सी, असोज १६
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस बार्सिलोना भोलि (बुधबार) आफ्नो दोस्रो खेल इंग्लिस क्लब टोटनह्यामविरुद्ध अवे मैदानमा खेल्दैछ । अघिललो खेल जितेको बार्सिलोना र अघिल्लो खेल हारेको टोटनह्यामको यो खेललाई निकै प्रतीक्षा गरिएको छ ।
उक्त खेलको पूर्वसन्ध्यामा बार्सिलोना तथा टोटनह्यामका पूर्वलिजेन्ड ग्यारी लिंकरले बार्सिलोनाका कप्तान लिओनल मेस्सीको प्रशंसा गरेका छन् । यसअघि बार्सिलोना र टोटनह्याम दुवैबाट व्यावसायिक फुटबल खेलिसकेका उनले मेस्सीको खुलेर प्रशंसा गरेका छन् ।
‘मेस्सी सधैंका उत्कृष्ट खेलाडी हुन्, यो भनिरहनै पर्दैन,’ ‘बार्सा टिभी’सँगको अन्तर्वार्तामा लिंकरले भने, ‘उनी मैदानमा सधैं जादु गर्छन् । म त भन्छु फुटबलको दुनियाँमा उनी मानव होइनन् ।’
लिंकरले बार्सिलोना र टोटनह्यामको खेल निकै रोमाञ्चक हुने पनि बताए । ‘मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने यो खेल निकै रमाइलो हुनेछ । खेलको नतिजा यसै अनुमान गर्न सकिँदैन ।’