birat ribon

च्याम्पियन्स लिगमा रियल मड्रिड आज चार ‘प्रमुख हतियार’ बिनै उत्रिँदै !

Neuro
च्याम्पियन्स लिगमा रियल मड्रिड आज चार ‘प्रमुख हतियार’ बिनै उत्रिँदै !

cura insider

विराटनगर, असोज १६
युरोपियन च्याम्पियन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड आज समूह चरणको दोस्रो खेल खेल्दैछ । ऊ दोस्रो खेल खेल्न रसियन क्लब सिएसकेए मस्कोको घरेलु मैदानमा उत्रिँदैछ ।

रियलले यसअघि खेलेको पहिलो खेलमा इटालियन रोमालाई ३–० ले हराएको थियो । तसर्थ, रियल अहिले लिगमा लयमै देखिन्छ । तर, ऊ घरेलु लिगा ला लिगामा अझै पनि लयमा छैन ।

त्यसमा पनि आज अवे मैदानमा उत्रिँदा रियलको टोलीमा मुख्य ४ जना सदस्य हुनेछैनन् । केही खेलाडी चोट र बिरामी छन् भने केही खेलाडीलाई यस खेलमा विश्राम दिइएको छ ।

मोस्कोविरुद्ध खेल्ने रियलको टोलीमा स्टार वेल्स फरवार्ड ग्यारेथ बेल चोटका कारण टोलीमा छैनन् । भलै, पछिल्ला दिन क्लबले चेकजाँचपछि बेल घाइते नभएको पुष्टि गरिसकेको छ । तर, उनी रसिया टुरमा सामेल छैनन् ।

त्यसैगरी, अर्का खेलाडी इस्को पनि बिरामी परेर शल्यक्रियापछि आराम गरिरहेका छन् । उनी पनि यस खेलमा हुनेछैनन् ।

त्यसैगरी, रियलका अर्का मुख्य हतियार मार्सेलो पनि टोलीमा हुनेछैनन् । उनी पिडौंलाको मांशपेसीमा समस्या देखिएकाले उपचारक्रममा छन् । उनी पछिल्लोपटक एथ्लेटिको मड्रिडविरुद्धको खेलक्रममा घाइते भएर मैदान छाडेका थिए ।

त्यसैगरी, आज रियलको टोलीमा कप्तान सर्जियो रामोस पनि हुने छैनन् । प्रशिक्षक जुलेन लोपेटेगुइले रामोसलाई यस खेलमा आराम दिएका छन् ।

यस्तो अवस्थामा आज आफ्ना मुख्य खेलाडीबिनै अवे मैदानमा उत्रिँदा रियलमाथि दबाब हुनेछ । त्यत्ति मात्रै हैन, ला लिगामा पछिल्लोपटक सेभिल्लासँग ३–० को अप्रत्यासित हार भुलाउन पनि रियलका लागि यो खेलको नतिजा महत्त्वपूर्ण हुनेछ ।

खेल आज राति नेपाली समयअनुसार १२ः४५ बजेबाट सुरु हुनेछ ।

 

jackson ribon