birat ribon

भूकम्प र सुनामीले थलियो इन्डोनेसिया : अन्तर्राष्ट्रिय समुदायसामु सहयोगका लागि आह्वान

Neuro
भूकम्प र सुनामीले थलियो इन्डोनेसिया : अन्तर्राष्ट्रिय समुदायसामु सहयोगका लागि आह्वान
इन्डोनेसियाको पालु नगरमा मट्टीतेल लिन लाइन लागेका पीडित । तस्बिर : एपी/रासस

एजेन्सी, असोज १६
इन्डोनेसियाको सुलावेसी टापुमा गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या सोमबार एक हजारभन्दा बढी पुगेको छ ।

cura insider

भूकम्पछि अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझै बढ्ने जनाइएको छ । उद्धारकर्मीहरूले भूकम्पबाट भत्किएका घरहरूको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् । यद्यपि सरकारी तथ्यांकअनुसार भने यो संख्या ८३२ पुगेको बताइएको छ । भूकम्प गएको चार दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन ।

घरका भग्नावशेषबाट जीवितै व्यक्ति उद्धारका लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ । इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकको बढ्नसक्ने जनाइएको हो । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् । मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीय बासिन्दा रहेका र सयौँ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाइ छ ।

सुलावेसीमा एक हजारभन्दा बढी व्यक्तिको अन्त्येष्टिका लागि सामूहिक चिहान खनिएको छ । पालुको पहाडी क्षेत्र पोबोयामा शव गाड्न १ सय मिटर लामो सामूहिक चिहान खनिएका छन् । घाइतेको उपचार गर्न औषधि अभाव भएको छ । अस्पतालका भवनमा पनि क्षति भएकाले खुला ठाउँमा त्रिपाल टाँगेर घाइतेको उपचार भइरहेको छ । लासका कारण रोग महामारी फैलन नदिने प्रयास भइरहेको अधिकारीले बताएका छन् ।

भग्नावशेषमा पुरिएका व्यक्ति र शव निकाल्न पर्याप्त उपकरण नभएको उद्धारकर्ताले बताएका छन् । सरकारले यहाँ १४ दिनको संकटकाल लागू गरेको छ । पालुका एक स्थानीयले भने, ‘केही सहायता मिलेको छैन, हामी भोकै छौं । खान नपाएपछि हामीसँग पसलमा लुटपाट गर्नुको विकल्प छैन ।’

इन्डोनेसियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ । प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कैयौँ मानिस हराइरहेको अनुमान छ ।

भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ । अधिकारीले अझै पनि शक्तिशाली परकम्प आउनेक्रम जारी रहेको बताएका छन् ।

भूकम्प र सुनामीबाट प्रभावितमध्ये १ लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल आवश्यक परेको अनुमान गरेको हो । राष्ट्रसंघीय अधिकारीहरूले मानवीय सहायताका लागि विश्वभरबाट समन्वयकारी काम भइरहेको जानकारी दिएका छन् । प्रभावितमध्ये ४६ हजारजना बालबालिका रहेका छन् भने १४ हजार वृद्धवृद्धा रहेका छन् । उनीहरूले इन्डोनेसियाका ग्रामीण क्षेत्रमा पनि उद्धार तथा राहतका लागि सरकारलाई सहयोग गर्न पनि आह्वान गरेका छन् ।

रासस/ एपी

jackson ribon