birat ribon

यस्ता कवि जो डेढ सय चराको आवाज दुरुस्त निकाल्छन्

Neuro
यस्ता कवि जो डेढ सय चराको आवाज दुरुस्त निकाल्छन्
चरा कराउँदै धनकुटे कान्छा । तस्बिर :कोसी अनलाइन

प्रवीण बानियाँ
विराटनगर, असोज १५
घरगाउँ तथा सहरमा चिनिने नाम धनकुटे कान्छा । धेरैजसोलाई उनको नागरिकताको नाम थाहा पनि छैन । त्यसो त उनी सकभर आफ्नो असली नाम खुलाउन पनि चाहँदैनन् । सामाजिक सन्जाल, सभा–सम्मेलनदेखि साथीभाइको जमात्मा पनि उनको यही नाम हिट छ– धनकुटे कान्छा ।

उमेरले ४० टेक्न लागेका शंकर चापागाईंको नाम कसरी धनकुटे कान्छा भयो ? यो पनि भनिहालौं । उनको पुरानो थातथलो धनकुटा । ०३१ सालतिर उनको परिवार बसाइँ सरेर झापाको दमक आइपुग्यो । सुख खोज्न मधेस झरेको उनको परिवारलाई झन् मुस्किल भएपछि फेरि पहाडै चढ्यो । त्यसपछि धनकुटेको पहाड–तराई आउने–जानेक्रम बढ्यो ।

cura insider

उनी कहिले कविता सुनाउन तराई झर्थे भने कहिले निजी काम विशेषले । त्यही सिलसिलामा उनलाई साथीभाइले नाम राखिदिए– धनकुटे कान्छा । समयक्रमसँगै उनको त्यही नाम हिट भयो । अहिलेसम्म धनकुटेले अर्को नाम फेर्नु परेको छैन ।

यसरी भयो चरासँग प्रेम

धनकुटेलाई पनि कहिलेबाट चरा कराउन थालें भन्ने ठ्याक्कै थाहा छैन । तर, करिब ०४३/४४ सालतिरको समय उनलाई याद छ । जतिबेला उनी कक्षा २ मा पढ्थे । त्यसैबेलादेखि उनले चराको आवाज कराउन थाले । गाउँघरमा घाँस–दाउरा, मेलापात गर्दागर्दै धनकुटे चरासँगको गहिरो प्रेममा फसे ।

‘२ कक्षा पढ्दा मैले पहिलोपटक चराको आवाज निकाल्न सिकेको थिएँ,’ उनी सम्झिन्छन्, ‘पछि अरू पनि सिक्दै गएँ, अभ्यासले खार्दै लग्यो ।’

पहिलोपटक भँगेराको आवाज निकाल्न सिकेपछि धनकुटेले गाउँघर–वनजंगलमा सुनिने अन्य चराचुरुंगीको आवाज निकाल्न थाले । ‘साधनाले निखार्दै लग्यो, मैले बिस्तारै थुप्रै चराचुरुंगीको आवाज कराउन थालें,’ उनी भन्छन्, ‘त्यसका लागि मैले ठूलो तपस्या नै गरें ।’

धनकुटे उमेरले अहिले ४० आसपास छन् । उनी चरा मात्रै कराउँदैनन्, एक क्षमतावान् कवि पनि हुन् । उनको कविताको त पुस्तक नै छ । अन्य विधाका पनि उनका पुस्तक प्रकाशित छन् । त्यसो त धनकुटे नाट्यकर्मी पनि हुन् । उनले शरणार्थीको कथामा आधारित फिल्म ‘देश खोज्दै जाँदा’ फिल्ममा त गज्जबको अभिनय नै गरेका छन् ।

वरिष्ठ लोकगायक एलपी जोशीसँग धनकुटे कान्छा । तस्बिर : कोसी अनलाइन

जब चरा कराएर पैसा कमाउन थाले …..

पहिला–पहिला धनकुटे चरा मनोरञ्जनका लागि मात्रै कराउँथे । कतै कविता सुनाउन कार्यक्रममा जाँदा उनी कविता सुनाउँथे, अनि बोनसमा चरा कराएर थप मनोरञ्जन दिन्थे । कविताभन्दा बाहिरका कतिपय कार्यक्रममा पनि उनलाई चरा कराउनकै लागि भनेर बोलाइन्थ्यो । सुरु–सुरुमा उनले त्यस्ता कार्यक्रममा दर्शकको ताली र आयोजकबाट धन्यवादबाहेक केही पाएनन् ।

पहाडबाट तराई झरेर पहाडै फर्किएको धनकुटेको परिवार जब दोस्रोपटक तराई झर्यो, त्यहाँबाट उनको उपस्थिति सहरमा बढ्दै गयो । उनको चरा कराउने कलाको चर्चा हुन थाल्यो । राष्ट्रिय पत्रपत्रिकामा उनी छाउन थाले । त्यसैबेलादेखि उनी चरा कराउनेका कविका रूपमा चिनिन थाले ।

धनकुटेले ०४५/४६ सालतिर राजनीतिक सभा र मञ्चहरूमा खुब कविता पढे । त्योभन्दा बढी चरा कराउँदै हिँडे । तर, उनी त्यत्तिबेला जागरण र मनोरञ्जनका लागि मात्रै चरा कराउँथे ।

गाउँबाट कविता सुनाउन र चरा कराउन उनी थुप्रैटक खल्तीको पैसा खर्चेर तराई झरेका थिए पहिला । ‘०४५/४६ तिर मैले राजनीतिक आन्दोलनमा थुप्रै ठाउँमा कविता सुनाएँ, चरा कराएँ,’ धनकुटे सम्झिन्छन्, ‘त्यसबेला मलाई सबैले प्रयोग गर्थे ।’

तर, अहिले समय फेरिएको छ । धनुकटे अहिले पेसाले शिक्षण काम गर्छन् । त्योबाहेक उनको कविताकर्म त छँदैछ । यससँगै अहिले उनी चरा कराउने कला ‘व्यावसायिक’ बनेको छ । अचेल उनलाई सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमहरूमा कविता सुनाउन र चरा कराउनकै लागि भनेर बोलाइन्छ ।

त्यसरी बोलाइएका ठाउँमा उनी अक्सर हाजिर हुन्छन् । त्यहाँ गएपछि उनी आफ्ना कविता सुनाउँछन्, चराको आवाज निकालेर मनोरञ्जन दिन्छन् भने बोनसमा भ्वाइ क्यारिकेचर पनि गर्न भ्याउँछन् । त्यसबापत उनलाई हजारका केही थान सुकिला नोट हात पर्छन् ।

‘पहिला रहरले चरा कराउँदै हिँडियो । तर, सधैं यसरी भएन । अचेल पैसा लिन थालेको छु,’ उनले सुनाए, ‘बोलाइएको ठाउँमा निश्चित पारिश्रमिक लिएर मात्रै चरा कराउँछु ।’

कुनैबेला धनकुटे डेढ सय वटासम्म चराको आवाज कराउँथे । अहिले भने १ सय २६ वटासम्म चराको आवाज निकाल्न सक्ने उनी बताउँछन् । क्या बात ! एक मानिसले यति धेरै चराको आवाज निकाल्न सानो मेहनत र तपस्याले कहाँ सम्भव हुन्छ र !

नेपालाम करिब ८ सय ८५ प्रजातिका चरा पाइन्छन् । तर, यहाँ सरकार वा अन्य पक्षले चरा पर्यटनको क्षेत्रमा योजनाकै रूपमा काम गर्न नसकेको धनकुटेको गुनासो छ । यदि सरकारले चरा पर्यटनलाई व्यवसायकै रूपमा विकास गरे आफूहरूजस्ता कलाकारको कलाले पनि मोल पाउने उनी बताउँछन् ।

देशमा बेला–बेला चरा महोत्सवलगायत कार्यक्रम हुने भए पनि त्यो नै पर्याप्त नभएको धनकुटेको बुझाइ छ । ‘हामीकहाँ चराको भण्डारण नै छ । देशमा अहिले पर्यटन विकासको ठूलो विषय बनेको छ,’ उनी भन्छन्, ‘यति सरकारका निकायले चरा पर्यटनलाई व्यावसायिक बनाउने हो भने देशमा चरा पर्यटनको ठूलो सम्भावना छ ।’

चरा कराउँदै धनकुटे कान्छा । तस्बिर :कोसी अनलाइन

चरा कराएर घाँटीको समस्या

कुनैबेला चरा कराउन जहाँ पनि पुग्ने धनकुटे अहिले कम मात्रै यस्ता कार्यक्रममा सहभागी हुन्छन् । कारण– उनको घाँटीमा समस्या देखिन थालेको छ । विगत वर्षबाट उनी घाँटीको समस्यासँग जुधिरहेका छन् ।

यही समस्याले पनि उनले कठिनखाले चराको आवाज कराउन छाडेका छन् । घाँटीकै कारण उनी धेरै कार्यक्रममा जान पनि छाडेका छन् । ‘पछिल्लो समय घाँटीको समस्यासँग जुधिरहेको छु, पहिलाजस्तो तन्दुरुस्त तरिकाले चरा कराउन सकिँदैन,’ उनले भने, ‘अहिले पनि म डाक्टरकै निगरानीमा छु ।’

jackson ribon