रियल मड्रिडको लगातार शानदार जित, सेल्टाले एथ्लेटिको मड्रिडलाई हरायो

विराटनगर, भदौ १७
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले तेस्रो खेलमा शानदार जित दर्ता गरेको छ । गत राति घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले लेगानेसलाई ४–१ को हार चखायो । फरवार्डद्वय ग्यारेथ बेल र करिम बेन्जिमाको लय कायमै रहँदा रियलले लिगमा प्रभावशाली सुरुआत गरेको छ ।

रियलले खेलको १७औं मिनेटमा बेलको गोलबाट अग्रता लिएको थियो । सिजन सुरु भएयता बेलले तीनवटै खेलमा गोल गरेका छन् । उनले रियलका लागि खेलेका पछिल्ला सात खेलमा लगातार गोल गरेका छन् ।

त्यसपछि खेलको २४औं मिनेटमा गुइडो कारिलोले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी बनाएपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

तर, दोस्रो हाफमा रियलले ३ गोल हान्यो । करिम बेन्जिमाले खेलको ४८औं ६१औं मिनेटमा गोल गरेर रियललाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि रियलले ६६औं मिनेटमा पेनाल्टी पायो । जहाँ रियलका कप्तान सर्जियो रामोसले पेनाल्टीबाट गोल गर्दै टोलीलाई ४–१ को फराकिलो जित दिलाए ।

शनिबारको खेलमा नयाँ गोलकिपर थियावाउट कोर्टुवाले रियलका लागि डेब्यु गरे । खेलमा उनले पेनाल्टीबाट १ गोल खाए । उनले खेलभरिमा जम्मा ३ वटा प्रहारको मात्रा सामना गरे ।

अर्को खेलमा एथ्लेटिको म्याड्रिड भने सेल्टा भिगोसँग २–० ले स्तब्ध भएको छ । सेल्टाका लागि म्याक्सी गोमेज र इगायो आसपासले गोल गरे । अर्को १ गोल भने भिआरबाट रद्द गरिएको थियो ।

एथ्लेटिकोका स्टेफान साभिचले २ पहेंलो कार्ड पाएर मैदान छाडेपछि १० खेलाडीमा सीमित भएर खेलेको थियो । यो सिजनमा उपाधि दाबेदार मानिएको एथ्लेटिकोले लिगमा खराब सुरुआत गरेको छ ।

३ खेलपछि रियल ९ अंकसहित लिगको सिरानमा छ । ऊसँग ८ गोलअन्तर छ । दोस्रो स्थानमा सेल्टा भिगो छ । उसको ७ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ६ अंकसहित तेस्रो स्थानमा छ । यता, एथ्लेटिकोको ३ खेलबाट मात्र ४ अंक भएको छ । ऊ १०औं स्थानमा छ ।

 

प्रतिक्रिया

Loading...