पर्मासँगको खेलमा युभेन्ट्सको जित, रोनाल्डो डेब्यु गोल गर्न असफल

एजेन्सी, भदौ १७, इटालियन सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले जित हासिल गरेको छ । पर्मालाई २–१ ले हराउँदा युभेन्टसका मारियो मान्डुज्की र ब्लैज माटुइडीले गोल गरे भने पर्माका लागि जर्भिन्होले एक गोल फर्काए ।

शनिबार रातिको खेलमा युभेन्ट्सले पर्मालाई उसैको घरेलु मैदानमा जित निकाल्यो । पहिलो हाफको दोस्रो मिनेटमै मान्डुज्कीको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा पर्माका जर्भिन्हो गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याए । तर, खेलको ५८ औं मिनेटमा माटुइडीले गोल गर्दै युभेन्ट्सलाई २ – १ को जित दिलाए ।

युभेन्ट्सको यो लगातार तेस्रो जित हो । तर, युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले भने अझै गोल गर्न सकेका छैनन् । स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन क्लब आएका रोनाल्डोको डेब्यु गोल अझै कुर्नु पर्ने भएको छ ।

यो जितसंगै युभेन्ट्सले ३ खेलबाट ९ अंक जोडेको छ । र, युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । दुई खेल गुमाएको पर्माको एक अंक छ ।

प्रतिक्रिया

Loading...