एसिया कप छनौट : तेस्रो खेलमा आयोजक मलेसियामाथि नेपालको १९ रनको जित

काठमाडौं, भदौ १६
एसिया कप छनौट क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । यसअघि लगातार दुई खेल हारेर जित्नैपर्ने दबाबमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा मलेसियालाई १९ रनले पन्छाएको हो ।

वर्षाले प्रभावित खेल छोट्याएर ३० आभेरमा झारिएको थियो । जहाँ नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । त्यसमा नेपालले ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थिो ।

१ सय ८९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको मलेसियाले पूरा ३० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्रै १सय ६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भयो ।

नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट आफ्नो नाममा लेखाउँदा मलेसियाको ब्याटिङ धरापमा परेको थियो ।
पराजित मलेसियाका लागि सायेद मुबारक र अनवरी अरुदिनले सर्वाधिक ३४ रन जोड्दा अहमद फैज मोहमद नुरले २२ तथा जगजित सिंहले २१ रन जोडे ।

त्यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले नेपालको स्कोर उकास्न शतकीय साझेदारी गरेका थिए । उनीहरूकै उत्कृष्ट ब्याटिङको मदतमा नेपालले १ सय ८९ रनको चुनौती दिएको थियो ।

६० रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालको सुरुआत खराब थियो । त्यसैबेला ऐरी र शेखले मात्र ८८ बलको सामना गर्दै १ सय १ रनको साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको थियो ।

सयजरुल एजात इद्रुसको बलमा आउट हुनुअघि नेपालका लागि ऐरीले ५१ बलमा ६ चौका र १ छक्का हान्दै ५४ रन बनाएका थिए ।

त्यस्तै, आरिफले नटआउट रहँदै मात्र ४८ बलको सामना गर्दै सर्वाधिक धेरै ६४ रन बनाए । उनले २ छक्का र ५ चौका हाने ।
त्यस्तै, नेपालका ओपनर अनिलकुमार साह १६, पारस खड्का १३ तथा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए ।

यता बलिङतर्फ मलेसियाका लागि इद्रुसले ३ तथा शारविन मुनियान्डीले ३ विकेट लिए ।

अब नेपालले सिंगापुरसँग भदौ १७ र हङकङसँग १९ गते खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Loading...