दुई अवार्ड जितेका रोनाल्डो युरोपियन अवार्डमा किन गएनन् ?

एजेन्सी, भदौ १५
गत राति सम्पन्न युरोपियन फुटबलको अवार्ड वितरण समारोहमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उपस्थित भएनन् । भलै, उनले दुई अवार्ड जिते ।

तर, रोनाल्डोलाई पनि यसपटक पुरुष फुटबलतर्फको सर्वोत्कृष्ट वर्ष खलाडीको अवार्डका लागि दाबेदार मानिएको थियो । यसअर्थमा उनी पनि समारोहमा उपस्थित हुने अपेक्षा धेरैको थियो । तर, उनी सभामा भाग लिन पुगेनन् ।

रोनाल्डो उपस्थित नहुँदा सभामा धेरैले खल्लो महसुस गरेका थिए भने उनको पूर्वक्लब रियल मड्रिडका खेलाडीले पनि खल्लो महसुस गरेका थिए । यो कुरा उनीहरूले कार्यक्रमपछि पनि बताएका थिए ।

रोनाल्डो कार्यक्रमा नगए पनि उनका लागि कार्यक्रममा भने सिट पहिल्यै बुक भएको थियो ।तर, उनी उपस्थित नहुँदा उनको सिटी अग्रभागमा खाली नै राखिएको थियो ।

रोनाल्डो सभामा नगए पनि उनका फोटोग्राफर भने सभामा थिए । रोनाल्डोले चौथोपटक युरोपियन सर्वाेत्कृष्ट खेलाडीको अवार्ड थापेको तस्बिर खिच्न गएका उनी निराश बने ।

कारण, पहिलो कुरा रोनाल्डो उक्त सभामामा गएनन् भने रोनाल्डोले पाउने अनुमान गरिएको सर्वोत्कृष्ट खेलाडीको अवार्ड उनकै पूर्वटिममेट लुका मोड्रिकले पाए ।

तर, रोनाल्डोले वर्षको उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलकर्ताको अवार्ड भने जितेका थिए । उनी कार्यक्रममा नपुगेपछि उनको अवार्ड कसैलाई वितरण गरिएन ।

कतिपयले भने रोनाल्डोले आफूले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नपाउने बुझेर कार्यक्रममा नगएको अनुमान गरेका छन् । कतिपयले भने उक्त कार्यक्रममा रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टो पेरेजसमेत उपस्थित हुने भएकाले रोनाल्डोले जान नचाहेको बुझेका छन् ।

यता, रोनाल्डो नआउनुको खास कारण भने कार्यक्रममा खुलाइएन । सभापछि युभेन्टसका महानिर्देशक गिउसेप्पे मरोट्टाले भनेका छन्, ‘यो रोनाल्डोको व्यक्तिगत निर्णय हो, यसमा क्लबले केही गर्दैन ।’

उक्त कार्यक्रममा बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी पनि थिएनन् । मेस्सी र रोनाल्डोबिनाको उक्त कार्यक्रममा लिजेन्ड डेभिड बेकह्याम, मोहमद सलाह, फ्रान्सिस्को टोट्टी, पाभेल भेदभेदलगायत भने कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया

Loading...