नेपाली क्रिकेटमा सन्दीप लामिछानेले एकैपटक बनाए दुई रेकर्ड !

विराटनगर, भदै १४
नेपाली क्रिकेट टोलीका युवा बलर सन्दीप लामिछानेले आफ्नो करिअरमा दुई नयाँ रेकर्ड रचेका छन् । १८ वर्षीय सन्दीपले नेपालबाट वान डे इन्टरनेसनल (ओडीआई) मान्यताप्राप्त खेलमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको रेकर्ड बनाएका हुन् ।

हालसालै आइपिएल र क्यारेबिन लिग तथा ग्लोबल टी–२० समेत खेलिसकेका सन्दीपका लागि यो महत्त्वपूर्ण रेकर्ड बनेको छ ।

मलेसियामा जारी एसिया कप छनौट खेलमा आज युएईविरुद्ध खेल्नेक्रममा सन्दीपले एकै खेलमा ४ विकेट लिँदै यस्तो रेकर्ड बनाएका हुन् । सन्दीपले यसअघि नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो सिरिजका दुईटा खेलमा पनि आफ्नो नाममा ४ विकेट लेखाएका थिए ।

अब उनले यी दुवै सिरिजबाट लिएको विकेटको संख्या ८ पुगेको छ, जुन नेपालमा एकै खेलाडीका नाममा रहेको सबैभन्दा धेरै विकेट संख्या हो ।

आज भएको युएईविरुद्धको खेलमा सन्दीपले शानदार प्रदर्शन गरेका थिए । उनले युएईविरुद्ध आफ्नो पूरा १० ओभर बलिङ गर्दै २ मेडन राखेर मात्रै २४ रन खर्चिंदा ४ विकेट लिएका थिए । भलै, यो खेल नेपालले ७८ रनले हारेको छ ।

आजकै खेलबाट सन्दीपले अर्को पनि रेकर्ड रचेका छन् । सन्दीप मात्रै २४ अन्तर्राष्ट्रिय खेलबाट ५० विकेट लिने पहिलो नेपाली खलाडी पनि बनेका छन् । सन् २०१६ मा पहिलोपटक विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको खेलबाट डेब्यु गरेका उनले लिस्ट ‘ए’ खेलमा छोटै अवधिमा आफ्नो विकेट संख्या ५० बनाए ।

यसअघि लिस्ट ‘ए’ मा नेपालबाट सबैभन्दा पहिले ५० विकेट सोमपाल कामीले पूरा गरेका थिए । सोमपालले हालसम्म ४० खेलबाट ५८ विकेट लिइसकेका छन् । उनीपछि ५० विकेट पूरा गर्ने खेलाडी सन्दीप बनेका छन् । तर, सन्दीपले सोमपालको भन्दा कम खेलबाट ५० विकेट पूरा गरेका हुन् ।

प्रतिक्रिया

Loading...