Rumpum

Rumpum Advertisement

प्रदेश–१ मा क्षुद्र ग्रहको खोजी अभियान सुरु, विज्ञानका विद्यार्थी सहभागी हुन पाउने

प्रदेश–१ मा क्षुद्र ग्रहको खोजी अभियान सुरु, विज्ञानका विद्यार्थी सहभागी हुन पाउने

काठमाडौं, भदौ १२
देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले भाग लिनसक्ने छन् ।

सोसाइटीले ३० समूहलाई मात्र सहभागी गराउने भएकाले इच्छुक विद्यार्थीलाई सम्पर्कका लागि अध्यक्ष सुरेश भट्टराईले आह्वान गर्नुभयो । भाग लिन इच्छुकलाई भदौ १९ र २० गते इटहरी इन्टरनेशनल कलेजमा अभिमुखीकरण कार्यक्रम चलाइने छ ।

एक समूहमा पाँच विद्यार्थी एक शिक्षक हुनुपर्नेछ । प्रत्येक समूहलाई आकासीय ग्रहसम्बन्धी फरक÷फरक तस्बिर उपलब्ध गराइने छ । छ वर्षदेखि राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानलाई निरन्तरता दिँदै आएको सोसाइटीले जनाएको छ । यस वर्षको खोज प्रदेश १ बाट शुरु गरिएको हो ।

खोजले भविष्यमा विद्यार्थीमा अझ बढी अनुसन्धानमा लाग्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ । मङ्गल र वृहस्पतिका बीचमा रहेको क्षुद्रग्रह पत्ता लगाउने समूहले आफूले चाहेअनुसार नामाकरण गर्न सक्नेछ । भाग लिन चाहने विद्यालयमा इन्टरनेट सुविधासहित एउटा कम्प्युटर अनिवार्य हुनुपर्नेछ ।
रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ