Rumpum

Rumpum Advertisement

जहाँ लाग्छ जोडी बाँधिदिने बिहेको हाटबजार !

जहाँ लाग्छ जोडी बाँधिदिने बिहेको हाटबजार !

एजेन्सी, साउन २२
कपडा, खाद्यान्न वा सवारी सधानको मेला लाग्नु त भएकै कुरा हो । तर, संसारमा बिहेको पनि हाटबजार वा मेला लाग्छ भन्दा तपाईं छक्क पर्नुहुन्छ होला । तर, यो सत्य हो ।

हाम्रो छिमेकी देश चीनमा यस्तै हुने गरेको छ । चिनियाँ मिडियामा प्रकाशित समाचारअनुसार चीनको सांघाईको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको हो ।

तर, अचम्मको कुरा यो छ कि, उक्त मेलामा मानिस अन्य वस्तुका लागि नभई जोडी खोज्न जान्छन् । बताइएअनुसार सन् २००५ देखि यो हाटबजार निरन्तर शनिबारैपिच्छे लाग्ने गर्छ ।

तथापि, अहिलेसम्म बिहेको हाटबजार कसले सुरु गरेको भन्नेबारे यकिन नभए पनि यसको थालनी कसरी भयो भन्नेबारे भने रोचक तथ्य छ । उक्त पार्कमा मानिस दैनिक मर्निङ वाकमा निस्कन्थे । स्थानीय मानिसले मर्निङ वाकमा गर्ने कुराकानीकै क्रममा यस्तो अनौठो हाटबजार सुरु भएको बताइन्छ ।

स्मरणीय कुरा यो छ कि, पिपुल्स पार्कमा बिहान मर्निङ वाक गर्ने मानिसको भीड हुन्थ्यो । त्यस्तो बेला व्यक्तिगत र घरपरिवारको कुरा हुने गथ्र्यो ।

तर, समयक्रमसँगै उक्त ठाउँमा मानिसले बोल्ने विषय नै बदलिए । मानिसले पार्कमा बसेर बिहे र घरबारको कुरा गर्न थाले । बिस्तारै त्यही पार्क बिहेको हाटबजारका रूपमा विकसित भएको छ ।

खबरअनुसार उक्त पार्कमा मानिस बिहे गर्ने केटा–केटीको बारेमा जानकार लेखेको कागज बोकेर बसेका हुन्छन् । त्यसमा केटा तथा केटीको उमेर, आम्दानी, अध्ययन, जन्मदिन सबै उल्लेख गरिएको हुन्छ ।

अन्ततः त्यसैको सहयोगमा केटा–केटीबीच बिहेको कुरा अघि बढ्छ । त्यसपछि इच्छुकले बायोडाटा लिएर जान्छन् । र, मन परे वा चित्त बुझे बिहे गर्छन् । हालसम्म यसरी कति जोडीको बिहे भयो भन्नेबारे यकिन तथ्यांक नभए पनि यो एउटा जोडी बनाउने भरपर्दो माध्यम बनेको बताइन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ