सभापोखरीको भेटि संकलन भएन, पोखरीको वरिपरी फोहोर बढ्दै

0

बाबुराम बास्तोला
कोशी अनलाइन
साउन १९, संखुवासभा, संखुवासभाको सभापोखरी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीको भेटि संकलन नभएको पाइएको छ । विभिन्न समयमा त्यस पोखरीमा पुग्ने भक्तजनहरुले चढाएको भेटि संकलन हुन नसकेको हो ।


भेटि तथा चढाएका पैसा संकलन नहुदाँ लाखौं रकम त्यसै खेर गईरहेको पाइएको छ । पोखरीका पुजारी बाबुराम अधिकारीका अनुसार त्यस पोखरीको दर्शन गर्न वर्षमा करिब ४ हजार आन्तरिक तथा वाह्रय भक्तजन तथा पर्यटकहरु पुग्ने गरेका छन् ।

ति भक्तजन तथा तिर्थयात्रीहरुले चढाएको पैसा कुनै पनि निकायले संकलन गर्ने गरेका छैनन् । करिब २०१५ सालदेखि सो पोखरीमा पुजारीका रुपमा रहेका अधिकारीका अनुसार दैनिक आउने भक्तनजहरुले चढाएको पैसा संकलन गर्न हालसम्म कुनै पनि समिति बनेको छैन, एकपटक बनेको समितिले पनि भेटि संकलन नगरी त्यसै छाडेको छ । उनले भने “हालसम्म पोखरीको संरक्षणको लागि न त समिति नै बनेको छ नत कुनै निकाय र राज्यले नै संरक्षणको लागि पहल गरेको छ ।”


पर्यटकीय क्षेत्रका रूपमासमेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने चार दिनको पैदल हिडेर सभापोखरी तिर्थयात्राका लागि पुगेका खाँदबारीका खेम गुरागाईं बताउँछन् । उनी भन्छन्, “पोखरीमा अव्यस्थित रुपमा खेर गई रहेका भेटिहरुको संरक्षण तथा संकलन गरेर पोखरीको संरक्षण र प्रचारको लागि खर्च गर्न सके राम्रो हुने थियो” । त्यस्तै धारणा छ, खाँदबारीबाट दर्शनार्थीको रूपमा सभापोखरी पुगेका केदार चापागाईंको पनि । उनि भन्छन् “ म जुन दुःख कष्टले यहाँ आइपुगे तर यहाँ आउँदा मलाई लाग्यो राज्य पनि शहर केन्द्रित भएको रहेछ, किनकि शहरका मन्दिर तथा धार्मिक स्थलको भेटि संकलन गर्ने समिति बनाउन पनि सायद चुनावै हुने गर्छ, । यहाँको भेटि संकलन गरेर संकलित पैसाले यही पोखरीको संरक्षणको लागि गर्न सके पर्यटक भित्र्याउन सकिने थियो । पोखरीमा लाखौँ रुपैयाँमा पैसा, विभिन्न धातुका सामाग्रीहरु पनि खेर गईरहेका छन् ।


पोखरीको भेटि संकलन नभएर मात्र नभई पोखरीको आसपासमा फोहोरको थुप्रोसमेत लाग्न थालेको छ । दैनिक पुग्ने भक्तजनहरुले प्रयोग गरेका प्लाष्टिकहरु जताततै छरपष्ट रुपमा रहेका छन् । प्लाष्टिक मात्रै नभई व्यक्तिले लगाएका लुगा कपडा पनि त्यहाँ फाल्ने गरेका छन् । जिल्लामा दर्जनौंको संख्यामा गैरसरकारी संघसंस्थाहरु कार्यरत भएपनि सभापोखरी क्षेत्रमा एउटा डस्बिनसम्म राख्न कसैको ध्यान पुग्न सकेको छैन । दर्शनार्थी तथा पर्यटकरुले फालेको फोहोरको कारण पोखरीको वरिपरी दुर्गन्ध फैलन थालेको छ । सभापाखरी पहिलोपटक भ्रमणमा पुगेका खाँदबारीका लेखनाथ बुढाथोकी भन्छन् “पोखरीको फोहोर व्यवस्थापन गर्न जिल्लाका सरकारी कार्यालय, सरोकारवाला निकायको त ध्यान पुगेन नै जिल्लामा भित्रिएका गैरसरकारी संस्थाहरु पनि सदरमुकाम केन्द्रित भएका छन् ”। उनी थप्छन् “यो खेर गईरहेको भेटि कुनै समिति बनाएर संकलन गरेर त्यो समितिले एउटा मात्रै भए पनि डस्बिन राखिदिए राम्रो हुने थियो ।” उनले यस क्षेत्रका बारेमा कमैलाई मात्र जानकारी भएको भन्दै सबैले मिलेर धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गरे ।


सभापोखरी चारपटक पुगेका माधव सापकोटाका भन्छन्, “म चारपटक यो पोखरीको दर्शन गर्न आएँ पहिले भन्दा फोहोर झन् झन् बढ्दै गएको छ” । पोखरीको आसपासमा दर्शनार्थी बस्नको लागि दुई वटा पाटी बनिसकेका छन् भने एउटा पाटी निमार्णधिन अवस्थामा रहेको छ । दर्शनार्थीहरु आफैं पुगेर पाटी बनाएको भएपनि ट्वाइलेट बनाउनतर्फ भने तिनिहरुको ध्यान जान सकेको छैन । पोखरी क्षेत्रमा ट्वाइलेट नहुदाँ त्यहाँ पुग्ने भक्तजनहरु पोखरीको वरिपरी खुल्ला ठाउँमा दिसा पिसाब गर्न बाध्य छन् ।

यहां सन्तान नहुनेहरुले पुजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालुहरु पूजा गर्न पुग्ने गरेका छन् । यस पोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले निकै महत्वपुर्ण रहेको भए पनि यसको संरक्षणमा हालसम्म कसैले चासो नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् । बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले विशेष ध्यान दिन आवश्यक भएको स्थानीयवासीको जोड छ ।


सभापोखरी सदमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । पूर्वी नेपालको संखुवासभा जिल्लास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान हो । त्यस पोखरीमा जनै पूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरु पुग्ने गरेका छन् । किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरुले गर्ने विनास रोक्न देउताहरुले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । ‘वेद व्यासले सम्पूर्ण देवी–देवताहरुलाई भेला गराएर पुराण भनेका थिए’ । संखुवासभा जिल्लामा पर्ने यो तालको लम्बाई २ सय मिटर र चौडाइ करिब १ सय मिटर छ । यो समुद्र सतहदेखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ । यही पोखरीको नाममा नै गाउँपालिकाको नाम पनि सभापोखरी गाउँपालिका बनेको र यही पोखरीको नाममा सभाखोलाको पनि नाम रहन गएको हो ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW