birat ribon

माल्कोमको सट्टामा हामीलाई मेस्सी चाहिन्छ– रोमा अध्यक्ष

Neuro
माल्कोमको सट्टामा हामीलाई मेस्सी चाहिन्छ– रोमा अध्यक्ष

कोशी अनलाइन
साउन ११, मोरङ, इटालियन क्लब एएस रोमाका लागि तयार रहेका ब्राजिलियन युवा खेलाडीलाई बार्सिलोनाले ‘हाइज्याक’ शैलीमा भित्र्यायो । रोमाले ३२ मिलियन युरोमा भित्र्याउन नजिक पुगेका बेला बार्सिलोनाले २१ वर्षीय युवा खेलाडी माल्कोमलाई फ्रेन्च क्लब बोर्डेक्सबाट ४२ मिलियन युरोमा भित्र्याएको हो ।

cura insider

तर, रोमाबाट माल्कोमलाई नाटकीय शैलीमा बार्सिलोनाले लगेपछि रोमाका अध्यक्ष जेम्स पालोत्ताले निकै चित्त दुखाएका छन् । ‘अनैतिक’ तवरमा माल्कोमलाई लगेको अपराधमा आफूहरूलाई लियोनेल मेस्सी दिएमा मात्र बार्सिलोनालाई माफी दिने उनको भनाइ छ ।

यता माल्कोमले भने बार्सिलोनामा अनुबन्ध भएपछि खुशी व्यक्त गरेका छन् । उनले बार्सिलोनाको जर्सी लगाउने बच्चादेखिको सपना पूरा भएको र आफू नयाँ बाटोमा उभिएको बताएका थिए । तर, यता अध्यक्ष पालोत्ताले भने बार्सिलोनाका कारण माल्कोमले विचार फेरेको बताए । उनले आफ्नो क्लबले सम्झौता गरिसकेको र माल्कोम क्लब आउन आतुर पनि रहेको दाबी गरे । केही घन्टाको फरकमा माल्कोमले कुरा फेरेको उनी बताउँछन् ।

अमेरिकी व्यापारी पालोत्ताले बार्सिलोना र बोर्डो दुवैलाई निन्दा गर्दै कानूनी कारवाही चलाउने योजनालाई पुष्टि गरे । उनले भने, ‘बार्सिलोनाको कुरा गर्दा विगत केही वर्षयता उनीहरू यस्तै बदमासी गर्दै आएका छन् । यत्तिको नाम कमाइसकेको क्लबले यस्तो गतिविधि गर्नु हुँदैनथियो ।’

‘हुन त उनीहरूले आफ्नो क्रियाकलापका लागि माफी पनि मागिसकेका छन् । तर म माफी स्वीकार गर्दिनँ । दुईवटा शर्त पूरा गर्ने भए मात्र म माफी स्वीकार्छु ः पहिलो, उनीहरूले हामीलाई माल्कोम फर्काऊन् । अब त्यो त के गर्लान् र दोस्रो, सद्भावका रूपमा उनीहरूले हामीलाई मेस्सी पठाऊन् न त ।’ उनले बताए ।

पालोत्ताको भनाइ छ, ‘अनि बोर्डोले पनि त्यसो गर्नु हुँदैनथियो । कानूनी कुरा त पछि आउँदै गर्छ तर यो काम अनैतिक पनि छ ।’

बार्सा र रोमाबीचको बढ्दो द्वन्द्वको यो अर्को कडी हो । इटालेली क्लबले अघिल्लो सीजनको च्याम्पियन्स लीगको क्वार्टरफाइनलमा बार्सिलोनालाई हराएपछि उनीहरूबीचको तुष कायमै छ ।

jackson ribon