रोनाल्डोले युभेन्टसमा पनि ७ नम्बरको जर्सी लगाउने, भन्छन्, ‘उच्च प्रदर्शन गर्छु’

कोशी अनलाइन
साउन १, मोरङ, रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स गएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टसमा सार्वजनिक भएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले सोमबार राति पत्रकार सम्मेलनबाट युभेन्ट्सको खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

युभेन्टसले रोनाल्डोलाई यसै साता १ सय मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिडबाट क्लबमा भित्राएको थियो ।
उनले अझै माथिल्लो स्तरको प्रदर्शनका लागि आफू युभेन्ट्स आएको बताएका छन् । उनले चार वर्षको लागि सम्झौता गरेका छन् । ‘मलाई रियल छोड्दा कुनै दुःख लागेको छैन । म यहाँ चुनौतिका लागि आएको हु,’ उनले भने, ‘मेरो उमेरका खेलाडी चीन वा अन्य जान्छ । तर, युभेन्ट्सले मलाई यो मौका दिएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’

उनले आफू स्तरीय खेलाडी भएको देखाउन प्रयास गर्ने पनि बताए । ‘म कडा मेहनत गर्छु । मेरो तथ्याङ्क तपाईहरुलाई थाहा छ । म महत्वकांक्षी छु । मलाई सहज क्षेत्र चाहिएको छैन,’ उनले थपे, ‘म्यानचेस्टर युनाइटेड र रियल पछि युभेन्ट्समा इतिहास बनाउन आएको छु । युनाइटेड र रियमा हुँदा जस्तो बालोन डी ओर जित्न कठिन होला । तर म स्तरीय हुन चाहन्छु । के थाहा सबै चिज सहि भयो भने म फेरि पनि जित्न सक्छु ।’

रियलसँगको ९ वर्ष लामो सुखद यात्राको अन्त्य गर्दै रोनाल्डो इटाली पुगेका हुन् । २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल पुगेका रोनाल्डो त्यहाँ सर्वाधिक गोलकर्ताका रुपमा क्लबबाट बाहिरिएका छन् । उनले रियलका लागि ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डो सम्मिलित रियलले ४ च्याम्पियन्स लिगसहित १६ उपाधि जितेको थियो ।

प्रतिक्रिया

Loading...