अब गरिबीका कारण पढ्नबाट बञ्चित हुनुनपर्ने

0

जेठ १४, काठमाडौँ, ‘शैक्षिक अभियान’ राष्ट्रिय पाक्षिकले मुलुकको विकास र समृद्धिमा पत्रकारिताको क्षेत्रबाट उल्लेखनीय योगदान गरेका रिपोर्टर्स क्लबका अध्यक्ष पत्रकार ऋषि धमलालाई हिजो सम्मान गरेको छ ।

यहाँ हिजो आयोजित कार्यक्रममा न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले देशमा सूचना तथा सञ्चारको क्षेत्रमा पत्रकार धमलाको क्रियाशीलताको सराहना गर्दै शिक्षा प्राप्त गर्ने नागरिकको मौलिक हक भएको हुँदा आधारभूत तहमा निःशुल्क गुणस्तरीय शिक्षाको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

अब गरिबीका कारण नागरिकले पढ्नबाट वञ्चित हुन नपर्ने बताउँदै उनले भने, “सरकारले अब अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गर्छ ।” अन्तर्राष्ट्रिय मापदण्डका पाठ्यक्रमको विकास गरी उच्च शिक्षाको अध्ययन तथा अध्यापन गराउन सकेमा विदेशीलाई समेत शैक्षिक क्षेत्रमा आकर्षित गर्न सकिने उनको भनाइ थियो ।

मन्त्री तामाङले विविधताले भरिएको प्राकृतिकरुपमा सुन्दर नेपालको आर्थिक विकास र समृद्धिका लागि आवश्यक पर्ने शिक्षाको संरचना गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

सम्मानित पत्रकार धमलाले पत्रकारिता क्षेत्रले समाजलाई सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाहका साथै व्यवसायिकतामा जोड दिनुपर्ने विचार व्यक्त गरे । पाक्षिकका प्रकाशक मीन अधिकारीले देश विकास तथा समृद्धिका लागि गुणस्तरीय शिक्षाका साथै प्राविधिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए ।

रासस

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW