अरुण नदीले खोसेको खुशी

0

बाबुराम बास्तोला
कोशी अनलाइन
जेठ १, सङखुवासभा, सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी अरुण हो । यो ३३ हजार ५ सय किलोमिटर लामो छ । यो नदी चीनको स्वशासित भू–भाग तिब्बतबाट नेपाल हुँदै बगेको छ । चीनसँग सीमाना जोडिएको संखुवासभा जिल्लाको किमाथांकाबाट नेपाल प्रवेश गरेको अरुण नदीले संघीय संरचना अनुसार संखुवासभाको भोटखोला, मकालु, शिलिचोङ र चिचिला गरी चार गाउँपालिका र खाँदबारी, चैनपुर र धर्मदेवी सहित ३ ओटा नगरपालिकालाई छोएर बगेको छ । यो नदीले संखुवासभाको पश्चिममा भोजपुर जिल्लालाई सिमाना लगाएको छ भने दक्षिणमा धनकुटा जिल्लालाई सिमाना लगाएको छ ।

भोटखोला स्थित माक्पालुङ डाँडाबाट दक्षिणतर्फ हेर्दा देखिएको अरुण नदीको दृष्य ।

प्रतिसेकेण्ड २ हजार १ सय ६६ क्युविकको बहावमा बगेको यो नदीबाट थुप्रै सम्भावनाहरु संखुवासभा भित्रिएको छ । तर ती सम्भावना समयमा निर्माण नहुँदा यहाँका स्थानीयहरुले सास्ती खेपीरहनु परेको छ । अरुण पारीका गाबिसहरु भनेर चिनिने साबिकका किमाथांका, हटिया, चेपुवा, मकालु, पाथिभरा, याफू, ताम्कु, बाला र सिसुवाखोलाका स्थानीयहरु यसका मूख्य सिकार हुन् । अहिलेपनि अरुण नदीका विभिन्न स्थानहरुमा पक्की पुल नबन्दा यस क्षेत्रका बासिन्दाहरुको जीवनशैली कत्ति पनि फेरिएको छैन ।भोटखोलाबासीहरु चीनको स्वसाशित क्षेत्रका चाँगा र देन्दाङ बजारको भरमा छन् । किमाथांका नाका केही दिनलाई मात्र बन्द हुने हो भने भोटखोलाका बासिन्दाहरुको अर्को विकल्प छैन ।

 

हाम्रो दैनिक उपभोग्य वस्तुहरु चीन (चाँगा÷देन्दाङ बजार) बाट आउँछ, नेपालबाट के आउँछ थाहा छैन, किमाथांकाका तेन्छेवी शेर्पाले भने । अन्नबाली खासै उब्जनी नहुँने किमाथांकामा धानको खेती गर्नु चन्द्रमाको तापमा बिस्कुन सुकाउनु जस्तै हो । यहाँका स्थानियहरु नेपालमा उत्पादित धान, चामल देख्न पाउँदैनन् । अब भने जोगवनी–किमाथांका कोशी राजमार्ग सञ्चालनमा आउनेमा उनीहरु ढुक्क छन् । यदी कोशी राजमार्ग अन्तर्गतको सदरमुकाम खाँदबारीबाट किमाथांका सडकखण्डको ४८ किलोमिटर सडकको ट्रयाक ओपन समयमा नै सक्ने हो भने किमाथांका बासीहरुले नेपालमा उत्पादन भएका वस्तुहरुको उपभोग गर्न पाउने थिए ।

गोला बजारबाट देखिएको अरुण नदीको दृष्य

यता भोजपुरका उत्तरी क्षेत्रका स्थानीयहरु सदरमुकाम खाँदबारीकै भरमा छन् । तर अरुण नदीमा पक्की पुल नहुँदा डुंगाको भरमा अरुण नदी तर्नु पर्ने बाध्यताले उनीहरुलाई कहिल्यै छाडेन । खाँदबारी नगरपालिका ९ स्थित लङ्सुवाघाटको पक्की पुल निर्माण सुरु भएको झन्डै आधा दशक बिति सकेको छ । तर निर्माण कार्यले गतिलिन नसक्दा संखुवासभा र भोजपुरका सर्वसाधरणले कहिलेसम्म डुंगाको भर पर्नुपर्ने हो थाहा छैन । त्यसोत संखुवासभा सिमाना भित्र अरुण नदीमा २१ वटा निर्मित झोलुंगे पुल र ३ वटा निर्माणाधिन अवस्थामा रहेको जिल्ला प्राविधिक कार्यालयको तथ्यांक छ । जसमा ५ वटा झोलुंगे पुलले संखुवासभा र भोजपुर जिल्लालाई जोडेको छ । यी ५ वटा पुल मध्ये १ स्थानमा मात्र पक्की पुल निर्माण भइरहेको छ । तर ५ वर्ष अघिदेखि निर्माण सुरु गरिएको यो पुलको निर्माण कार्य कहिले सम्पन्न हुने भन्ने टुंगो भने अझै छैन ।

वर्षायामका बेला नदीमा बाढी आउँदा डुंगा पनि चल्दैन, गाडीले लम्सुवाघाट आइपुगेका संखुवासभा र भोजपुरका यात्रुको बिचल्ली हुन्छ, बीरबहादुर लिम्बूले भने । यता मनकामना रत्न अम्बिका मावि तुम्लिङटारमा पढ्न आउने विद्यार्थीहरुको झनै ठूलो समस्या छ । विद्यालयका ८ सय ५३ विद्यार्थी मध्ये २ सय ३७ जना विद्यार्थी भोजपुरको षडानन्द नगरपालिकाबाट डुंगा तरेर विद्यालय आउँछन् । उनीहरुले दैनिक ५ रुपैंयाका दरले डुंगामा सवार गरे बापत तिर्छन् । केहीका अविभावकले दैनिक ५ रुपैंयाका दरले वार्षिक एकमुष्ट १८ सय २५ रुपैंया बुझाउँछन् । वर्षायामका बेला नदीमा भेल आउँदा विद्यार्थीहरुको बिचल्ली हुने गरेको विद्यालयका प्रधानाध्यापक कुवेरप्रसाद भेटुवालले बताए ।

फ्याक्सिन्दा दोभानमा भएको अरुण नदीको एक मात्र पक्की पुल

यता खाँदबारी नगरपालिका ११ हेलुवाबेशी र भोजपुरको साल्पाशिलिछो गाउँपालिका १ को बिचमा पर्ने अरुण नदीमा झोलंगे पुल मात्रै छ । पुलको वारी र पारि सडक सञ्जालले जोडीए पनि पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोगिरहेका छन् । झोलंगे पुलबाट दुखका साथ मोटरसाइकल बाहेक अन्य सवारी साधन तार्न सकिदैन । मोटरसाइकल पनि पुलका खुड्कीलाहरुमा बोकेर उकाल्नु पर्छ । खाँदबारी देखि शिलिचोङ गाउँपालिका र भोजपुर लाने र त्यस तर्फबाट खाँदबारी पु¥याउनु पर्ने सामान गाडी र ट्याक्टरले खोला वारीको वारी नै राखिदिन्छ भने पारिबाट आएको सामान पारी नै रहने गर्छ । कुनै पनि सामान ल्याउँदा पुल तार्नलाई भरियाको सहयोग लिनु पर्ने साल्पाशिलिछो गाउँपालिका १ की तारा थापाले बताइन् ।

पुल तार्दा मात्रै खाँदबारीदेखि यहाँसम्म ल्याएको भाडाको दोब्बर भाडा तिर्नु परेको उनी बताउँछन् । पक्की पुल निर्माण हुने हो भने खाँदबारीबाट सामान हालेर ल्याएको गाडीले नै घरसम्म ल्याइपु¥याउने थियो उनले भनिन् । बिचमा झन्झट र पुल तार्दा भरियालाई महँगो शुल्क तिर्नु नपर्ने उनी बताउँछिन् ।

शिलिचोङ गाउँपालिका वडा नं. २ घर भएका रोषन दीप राई खाँदबारी बस्छन् । गाडीमा यात्रा गर्दा तीन घण्टामा उनको घर पुगिन्छ । तर घर जाँदा एकै दिनमा घर पुगिन्छ भन्ने टुंगो नभएको उनको भनाई छ । उनी खाँदबारी देखि हेलुवाबेशीसम्म तीन सय रुपैंयाको टिकट काटेर जान्छन् । पारी बुम्लिङटारमा गाडी भेटे  दुई सय रुपैंयाले घर पुगिने उनले भने । तर कहिले काहीँ हेलुवाबेशी पुगे पनि पारिपट्टी गाडी नहुँदा बास बस्नु परेको उनी भन्छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW