९० कन्टेनर चिनी विराटनगर भित्रियो 

0

 कोशी अनलाइन
वैशाख १७, मोरङ, भन्सार महसुलमा ३० प्रतिशत वृद्धिको विरोध गरेका सुनसरी–मोरङ औध्योगिक करिडोर क्षेत्रका उध्योगीहरूले भन्सारको गोदाममा चिनी थन्क्याएर घुर्की लगाएका छन् ।

उध्योगी-व्यवसायीको नेतृत्वदायी संस्था मोरङ व्यापार संघले सरकारले वृद्धि गरेको महसुलमा चिनी आयात गर्न नसक्ने अवस्था भएकोले भन्सारकै गोदाममा थन्क्याउन थालिएको अग्रिम जनाउ गरिसकेको थियो । तर, व्यापार संघको उक्त धम्की पनि दुई दिन टिक्न नपाउँदै आयातकर्ता चिनी व्यापारीले ठूलो परिमाणमा चिनी विराटनगर भित्र्याएका हुन् । विराटनगर भन्सार नाका भएर गत बिहीबार ४५ कन्टेनर र शुक्रबार ४५ कन्टेनर गरी ९० कन्टेनर चिनी विराटनगर भित्रिएको छ ।

भन्सारका अनुसार अहिलेसम्ममा विराटनगरमा चिनीको अधिकतम आयात गर्नेमा विजयकुमार अग्रवालको नाममा रहेको विजयदीप इन्टरनेसनलबाट भ्याट दर्ता ३०००९९३५७ रहेको ट्रेडिङ्ग कम्पनी र विनय अग्रवालको नाममा रहेको एस.बी. एण्ड सन्सबाट भ्याट दर्ता ३००२१४७७२ रहेको ट्रेडिङ्ग फर्म अग्रपंक्तिमा रहेको दाबी स्रोतले गरेको छ । अन्य ट्रेडिङ्ग फर्मबाट आयात गरिएको चिनीले विराटनगर भन्सारका गोदामहरु भरिएका छन् । भन्सारमा आयात भएर बसेको चिनी सबै पास हुन एक हप्तादेखि १० दिनसम्म लाग्नसक्ने भन्सारले बताएको छ ।विराटनगर भन्सार कार्यालय रानीका प्रमुख भन्सार अधिकृत मिमांशु अधिकारीका अनुसार भन्सारबाट अहिलेसम्म ४० हजार मेट्रिक टन चिनी पैठारी भइसकेको छ ।

यो परिमाण अघिल्ला वर्षभन्दा धेरै छ । पाकिस्तानमा सस्तिएको चिनी आयातमा व्यापारीको होडबाजी चलेपछि बजारमा चिनीको मागमा समस्या देखिएको छैन । हरेक आयातकर्ता व्यापारीको आफ्नो गोदामसमेत भरिएको बताइन्छ । गोदाममा चिनी भरेर बसेका आयातकर्ता व्यापारीले भने भन्सारकै गोदाममा चिनी थन्क्याउने धम्की दिनु कति उचित हुने भन्ने चर्चा अहिले व्यापारीकै बीचमा चल्न थालेको छ । किसानले उत्पादन गर्ने उखु र त्यसबाट उत्पादन हुने चिनीको उध्योगको संरक्षण गर्न सरकारले साविकको १५ प्रतिशत भन्सार महसुललाई दोब्बर बनाउने निर्णय गरेपछि पनि चिनी आयात भइरहेको थियो ।

तर, आयातकर्ता व्यापारीले धेरै चिनी आयात गर्दा भरिएका गोदाम खाली नहुँदासम्म भन्सारको गोदाममा अनलोड गर्ने निर्णय गरेर सरकारसँग बार्गेनिङ थालेपछि सरकार पनि अझ कठोर बन्दै गएका कारण बाध्य भई आयातकर्ता व्यापारीले चिनी जाँचपास गराएको रहस्य खुल्न पुगेको हो । सरकारको निर्णयसँगै चिनीको भन्सार दर ३० प्रतिशत कायम भएपछि आयातकर्ताले बिजक मूल्यलाई आधार बनाएर भन्सार महसुल असुल गर्न माग गर्दै आएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...