सुगम जिल्लाको दुर्गमा गाउँमा अतिथिलाई अबिर र फूल 

उत्तम पोख्रेल
कोशी अनलाइन
वैशाख १६, मोरङ, प्रदेश नम्बर १का पर्यटकीय स्थानहरु धेरै रहेका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुमा पर्यटकलाई भव्य स्वागत गर्ने गरिन्छ । दुर्गम क्षेत्रमा चेतनाको अभाव हुन्छ भन्ने विश्वास गरिन्छ । तर, मोरङको एक दुर्गम पर्यटकीय क्षेत्रमा पुग्ने पाहुनाको भव्य स्वागत गर्ने गरिन्छ ।

मोरङको सिंहदेवीमा रहेको जेफालेमा पुग्ने पर्यटकलाई स्वागत गर्ने गरिएको छ । मोरङको सिंहदेवीमा रहेको जेफाले नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको छ । उत्तरी मोरङको विकट क्षेत्र मानिने जेफालेको अर्को विशेषता भनेको छिन-छिनमै हुने मौसम परिवर्तन भएकै कारण दुर्गमको पीडा बोक्दै जेफाले जानेको संख्या बढ्ने गरेको छ । मोरङ र धनकुटाको सिमानामा पर्ने जेफाले डाँडामा ७२ लाखको लागतमा ४२ फिट अग्लो चार तले भ्यू टावर निर्माण भएपछि जेफाले क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ ।

एक हजार नौ सय ७० मिटर उचाइमा रहेका भ्यू टावरबाट पूर्वका १६ जिल्लाका साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ ।जेफाले पर्यटन विकास समितिका सचिव भीम ठकुरीका अनुसार भ्यू टावरबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगा देख्न सकिन्छ । साविकको सिंहदेवी-५ रहेको जेफाले अहिले केराबारी गाउँपालिका-२ अन्तर्गत पर्दछ ।

सिंहदेवीको बिहीबारे बजारबाट तीन सय मिटर उत्तर पुगेर एक हजार वटा सिढी चढेपछि भ्यू टावर पुगिन्छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिन-छिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ ।भ्यू टावरको दक्षिण-पश्चिममा पाथिभरा देवीको मन्दिर छ, जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने गरेको छ ।

पर्यटक लोभ्याउन होमस्टे
जेफाले क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान-बस्नको सुविधा प्रदान गर्ने उद्देश्यले सिंहदेवीस्थित बिहीबारेमा होमस्टे सन्चालनमा ल्याइएको छ । जेफाले डाँडा घुम्न पुग्ने पर्यटकलाई लक्षित गरी बिहीबारेका पाँच घरमा होमस्टे सन्चालन गरिएको छ । ३५ घर परिवार रहेको बिहीबारेमा जेफाले सामुदायिक होमस्टे सेवा प्रदान गरिँदै आएको हो । जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीका अनुसार ठकुरीसहित युवराज खड्का, मायाश्वरी शर्मा, ललितबहादुर लिम्बू र गंगाप्रसाद लिम्बूको घरमा होमस्टे सेवा छ ।

‘ पर्यटक नै हाम्रा लागि देउता हुन्, ‘ सामुदायिक होमस्टेका सचिव ठकुरीले भने ‘होमस्टे सन्चालकको को ध्यान सँधै जेफाले आउने पाहुनालाई सत्कार, सदभावको महसुस गराउनेमा केन्द्रित हुनेछ । ‘ होमस्टेबाट बिदाइ गरिँदा अबिर माला तथा नमस्कार गरेर बिदाइ गर्ने गरीन्छ । र जेफालेमा सन्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाध्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्ज प्रदान गर्ने गरिएको छ ।

पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी, मकै-भटमास, मुलाको अचार र भुइं स्याउ विशेष परिकार हुन्छ । त्यसमा पाहुनको अर्डरअनुसार खानाको व्यवस्थान गरिने सचिब ठकुरीले बताए । बेलुकीको बासमा मगर जातिको हुर्रा नाच र लिम्बू जातिको धान नाचबाट सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ ।

आय-आर्जन नै पर्यटक
सन्चार, शिक्षा, सडकलगायतका विकासको पूर्वाधारबाट पछि परेको जेफाले क्षेत्रमा होमस्टे सेवा सुरु भएपछि स्थानीयको गतिलो आम्दानीको स्रोत बन्न पुगेको छ । जेफालेमा घुम्न आन्तरिक एवम् वाह्य पर्यटकको चहलपहल बढ्न थालेपनि यस क्षेत्रका मानिसको आय-आर्जनको गतिलो माध्यम अहिले पर्यटक नै हुने गरेको छ ।

जेफाले जाने पर्यटकहरुले खरिद गर्ने स्थानीय वस्तु एवम् खानेकुरा बिक्रीवाट त्यस क्षेत्रका मानिसले मनग्य आम्दानी गर्न थालेका छन् । सामुदायिक रुपमा होमस्टे सन्चालनमा रहेका घरहरुमा सिजनमा पाहुना भरि-भराउ हुने गरेका छन् । विशेषगरी फागुनदेखि असारसम्म घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

भौगोलिक विकटता कायमै
मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ ।

सडक, सन्चार र सुरक्षाको व्यवस्था नभएपनि आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको उत्तरी मोरङको सिंहदेवी–५ स्थित जेफालेमा सामुदायिक होमस्टे भने सन्चालनमा छन् । यहाँका स्थानीयमा चेतनाको कुनै कमी छैन । तर, राज्यले लगानी भने अझै गर्न सकेको छैन । राज्यको लागनी कम हुँदा बालबालिका तथा बुढापकामा भने सो क्षेत्रमा पुग्न सक्दैनन् ।

प्रतिक्रिया

Loading...