ह्यात्रुङ्ग झरना सुकेपछि पर्यटक निराश

वैशाख १६, तेह्रथुम, जिल्लाको फेदाप गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् ।

ह्यातुङ पनि भनिने तीन सय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । झरनाको अस्तित्व नै वर्षेनी पानी सुकेर संकटमा पर्दै गएको छ । हिउँद लागेपछि झरनामा पानी सुकेको फेदाप गाउँपालिका–४ का वडाध्यक्ष नवीन चोङ्वाङले बताए । झरना आसपासमा रहेको अलैँची बगानमा सिँचाइका लागि स्थानीयवासीले पानी लगेपछि झरना पानीविहीन बनेको हो । झरनामा पानी ल्याएर लगाउने विषयमा छलफल भइरहेको वडाध्यक्ष चोङ्वाङले बताए ।

‘ झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त होइन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको छैन ‘, उनले भने । दक्षिण एसियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । झरनाको अवलोकन र भ्रमणका लागि झरनामा पुग्दा पानी पूर्ण रुपमा सुकेको देखेपछि आफू चकित परेको फेदाप गाउँपालिका–२, ओयाक्जुङका दीपक थाम्देनले बताए ।

उनले भने, ‘ काठमाडौंबाट साथीहरु आएका थिए, घुमाउन झरनासम्म लिएर पुगेँ, तर पानी नै थिएन । ‘ झरनाको संरक्षणमा लाग्नुपर्ने स्थानीयवासीले नै अलिअलि भएको पानी पनि कुलोमार्फत् सिँचाइका लागि लगेपछि झरना पानीविहीन बनेको उनले बताए । झरनाको संरक्षण गरेर प्रचारप्रसार गर्न सके यहाँसम्म पर्यटकको ओहोरदोहोर बढ्न सक्ने सम्भावना उच्च छ । तर, त्यसतर्फ कसैले पनि ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन् । ‘ अहिलेलाई झरनाबाट आम्दानी केही छैन, त्यसले पनि स्थानीयवासीले झरनाको संरचनामा चासो देखाएका छैनन् ‘, वडाध्यक्ष चोङ्वाङले भने ।

उनले झरना संरक्षणका लागि स्थानीयवासीमा चेतनाको अभाव रहेको बताए । झरना आसपास रहेको बस्तीमा होमस्टे सन्चालनको सम्भावना उच्च छ । त्यसका लागि आवश्यक तालिम, छलफल र होमस्टे सन्चालनका लागि आवश्यक पूर्व तयारीमा लाग्न छलफल सुरु भएको छ । तर, झरनाको संरक्षण हुन नसक्दा हिउँद लागेसँगै क्रमशः झरनामा पानीको मात्रा पूर्ण रुपमा सुकेको वडाध्यक्ष चोङ्वाङले बताए । अधिकार सम्पन्न भनिएको स्थानीय सरकार गठन भएको यतिका महिना बिते पनि फेदाप गाउँपालिकाले झरनाको संरक्षणका लागि ठोस कदम चाल्न सकेको छैन ।

झरनाको विकासका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु.३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हरि चोङ्वाङले बताए । उनले भने, ‘ गाउँपालिकाले पर्यटनतर्फको ठूलो बजेट झरनाका लागि छुट्याएको छ, झरनामा पानी लगाएर भए पनि खसाल्ने र पर्यटक आकर्षित गर्ने योजना छ ‘, उनले भने । स्थानीयवासीमा चेतना अभावका कारण झरनाको रेखदेख र संरक्षणमा ध्यान नपुगेको भन्दै गाउँपालिका अध्यक्ष चोङ्वाङले त्यसका लागि गाउँपालिकाले पहल गर्ने बताए ।

गाउँपालिकाले झरनाको विकासका लागि छुट्याएको बजेट खर्च भएको छैन । तर, झरना भने पानीविहीन भएको छ । उपभोक्ता समिति गठन गरेर काम गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । झरनामा पानी खसालेर आवश्यक पूर्वाधार निर्माण गर्नेतर्फ योजना बनिरहेको अध्यक्ष चोङ्वाङले बताए । (रासस)

प्रतिक्रिया

Loading...