तीन पटक अनुगमन गरेसँगै बजेट निकासा 

0

उत्तम पोख्रेल
कोशी अनलाइन
वैशाख ३, मोरङ, बेलबारी नगरपालिकाले अनुगमनमा कडाइ गरेको छ । विकास निर्माणका लागि छुट्याइएको बजेट दुरुपयोग हुनबाट रोक्नका लागि नगरपालिकाले कडाइ गरेको हो । एउटै योजनाको तीन पटकसम्म अनुगमान गरेपछि मात्र नगरपालिकाले बजेट निकासा गर्ने गरेको अनुगमन समितिकी संयोजक तथा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुलीले बताइन् ।

‘ जनप्रतिनिधि आएसँगै बेलबारीमा विकास निर्माणले गति लिएको छ, ‘उपप्रमुख पराजुलीले भनिन्, नगरले गरेका योजनामा कुनै त्रुटी देखिनु हुँदैन । ‘ सडक,विध्युत,पर्यटन,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा नगरपालिकाले गरेका लगानीमा अनुगमनलाई तीव्रता दिइएको छ । योजना सम्झौता भएसँगै नगरपालिकाले कडाइ गर्न थालेको हो । नगरपालिकाले लगानी गरेका योजनाको सुरुवातमा पहिलो पटक, बीचमा दोस्रो पटक र सम्पन्न भएपश्चात तेस्रो पटक अनुगमन गर्ने गरेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए ।

नगरले सन्चालन गरेको योजनाको अनुगमनलाई तीव्र बनाएसँगै विकास निर्माणमा प्रगतिसमेत देखिन थालेको छ । कल्भट निर्माणदेखि पर्यटन प्रवर्द्धन सम्मका योजनामा नगरपालिकाले लगानी गरेको छ । बेलबारी-४ मा दुई लाखको लागतमा कल्भट निर्माण गरिएको छ । त्यस्तै, नगरपालिकाले धनपालगढी जाने बाटोमा समेत कल्भट निर्माण गरेको छ । तीन लाखको लागतमा सो कल्भट बनेको हो ।

यस्तै, नगरपालिकाले सडक निर्माणलाई तीव्रता दिएको छ । वडा नम्बर ५ मा २५ लाखको लागतमा लक्ष्मीनारायण मार्गको बाटो ४० फिटको बनाइएको छ । एक हजार सात सय मिटर लामो सडकको स्तरोन्नति गरिएको हो । ड्रेनसहित सडकको स्तरोन्नति गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष विश्वबन्धु बस्नेतले बताए । सडक मर्मतसँगै धुपी, अशोक लगायतका बिरुवासमेत नगरपालिकाले रोप्न थालेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...