चिनीमा युरिया मलको मिसावट

0

वैशाख ३, खोटाङ्ग, दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारबाही सुरु गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सन्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारबाही थालिएको हो ।

उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए-नभएको अनुसन्धान गर्न गत शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो । पसल तथा गोदाम सिलबन्दीपछि प्रशासनले गत आइतबार पाण्डेलाई प्रशासनमा झिकाएर बयान लिएको छ । तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने अनुसन्धानपछि मात्र पुष्टी हुने निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए । उनले भने, ‘ यदि मिसावट नै भएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ । ‘

एक ग्राहकले चिनीको प्याकेटमा युरिया मिसिएको पाएको गुनासो गरेपछि गोदाम तथा पसल सिलबन्दी गर्नुका साथै सन्चालक पाण्डेलाई नियन्त्रणमा लिएर तारिखमा छाडेको थियो । मिसावट भेटिएको भनिएको चिनीको बोरा दुई हप्ताअघि मात्र उदयपुरको कटारीबाट ल्याइएको सन्चालक पाण्डेले बताएका छन् । दिक्तेलस्थित सल्लेरी टोलमा सन्चालित पाण्डे भेराइटिजको गोदाम र पसलबाट यसअघि पनि उपभोक्ता ठगिएको गुनासो आउने गरेको थियो ।

पछिल्लो समय उपभोक्ताले प्रशासनलाई दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्नुअघि नै मिल्काउन पठाउन लागिएको तीन बोरा चिनी र ना.५ ख. ७१३० नम्बर को ट्रक रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ । जिल्लाका सरकारी कार्यालयले सबैभन्दा बढी समान खरिद गर्ने पाण्डे भेराइटिजको पसलबाट गतवर्ष एक उपभोक्तालाई ठगी गरेको भन्दै प्रशासनमा उजुरी परेको थियो ।

त्यससबेला प्रशासनले पाण्डेलाई सामान्य जरिमाना लिएर छुटकारा दिएको स्रोतले जनाएको छ । पाण्डेले कमसल जस्तापातामा गुणस्तरीय चिन्ह लगाएर, कमसल काँटीलाई गुणस्तरीय मूल्य लिएर बिक्री गर्नुका साथै विभिन्न समान खरिद गरेको भ्याट तथा पान बील उपलब्ध गराएर करोडौँ ठगी गर्ने गरेको गुनासो छ । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...