विराट क्याम्पसमा आए नयाँ अध्यक्ष र क्याम्पस प्रमुख

0

कोशी अनलाइन
चैत २९, मोरङ, गुणात्मक शिक्षा दिने हेतुले वि.स.२०४८ सालमा स्थापना भएको विराट क्याम्पसले विशेष कार्यक्रमसहित साधारणसभा सम्पन्न गरेको छ । नेपालको पूर्व क्षेत्रकै शैक्षिक धरोहरको रुपमा रहेको यस क्याम्पसले २५ वर्ष पूरा गरेको अवसरमा शिक्षा क्षेत्रमा अनवरत रूपले लागिरहेका १३ जना प्राध्यापक तथा शिक्षासेवीलाई नयाँ सदस्यको रुपमा प्रवेश गराएको छ ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षाप्रति प्रतिबद्ध यो क्याम्पस गुठीको रुपमा सन्चालन हुँदै आएकोमा शैक्षिक सत्र २०५९/०६० देखि मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई सन्चालित छ । विराट क्याम्पसअन्तर्गत हाल स्कुल अफ म्यानेजमेन्ट स्टडिजद्वारा स्नातक तहका बीबीएस र बीएड एवम् स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत फिजिक्स, केमेस्ट्री, वोटनी, जुलोजी, गणित र वातावरण विज्ञानका कार्यक्रमहरु सन्चालित छन् ।

त्यसैगरी, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय सन्चालनमा छ भने सी.टी.ई.भी.टी. अन्तर्गतका डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्ग र डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ्गको सम्भाव्यता अध्ययन पूरा गरी रसम्बन्धनको प्रकृयामा छ । रजत जयन्तीको अवसरमा यस कम्पनीको साधारणसभाले विराट क्याम्पसको संरक्षण, संवर्द्धन तथा शैक्षिक विकासका लागि प्रा.डा.देवेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा क्रमशःप्रा.डा. खगेन्द्र आचार्य, प्रा.डा.प्रदीपराज प्रधान, प्रा.डा.दामोदर थापा, प्रा.डा. नागेन्द्रप्रसाद साह, डा.राजुराम थापा, डा.रामप्रसाद कोइराला, भुराज राई, महेन्द्र सिटौला, देवेश प्रधान र आर.सी.कोइरालासमेत एघार सदस्य रहेका छन् । क्याम्पसको क्याम्पस प्रमुखमा आर.सी. कोइरालालाई साधारणसभाले चयन गरेको छ । कार्यक्रममा स्थापनाकाल देखिको इतिहास स्मरण गर्दै यो संस्था प्रदेश नम्बर १ को शैक्षिक गहना भएको संस्थापक सदस्यप्रा.डा. खगेन्द्र आचार्यले उल्लेख गरे ।

हाल यस क्याम्पसको नाममा १६ कठ्ठा जमिन, २ तलाको ३२ कोठाको पक्की भवन, यथेस्ट उपकरण सहितको सुविधासम्पन्न विज्ञान प्रयोगशाला तथा पुस्तकालय रहेका छन् । निजी क्षेत्रबाट सन्चालित सम्पूर्ण पूर्वाधारयुक्त विराट क्याम्पसकोे शैक्षिक उत्थानका लागि अबको संघीय संरचनामा आफ्नो विशेष भूमिका रहने अध्यक्ष प्रा.डा. अधिकारीले बताए । वर्तमान आधुनिक विश्वमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न अन्य थप शैक्षिक कार्यक्रमहरुसमेत क्याम्पसमा सन्चालन गरी क्याम्पसलाई नेपालको पूर्व क्षेत्रकोे नमूना शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजना रहेको क्याम्पस प्रमुख कोइरालाले बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW